२०८१ असार, १
||NEWS LUMBINI |

अनिलको अबको बाटो

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले हालै सन्न्यास लिएका छन् । तर, सन्न्यास लिए पनि फुटबलले भने उनलाई पछ्याइरहेको छ । राष्ट्रिय टोलीबाट सन्न्यास लिएपछि उनले आफ्नो क्लब मनाङ मस्र्याङ्दीबाट पहिलो खेल झापाको झिलझिलेमा टुबोर्ग दोस्रो सताक्षी गोल्ड कप २०७४ टुर्नामेन्ट खेले । उनी फुटबलको यस्तै टुक्रे काममा सीमित होलान् कि भोलिको यात्राको कुनै ठोस योजना छ ? यही सर्वत्रको चासोको विषयबारे शैलीसँग खुलेका छन् उनी ।
आफूलाई स्वास्थ्यले साथ दिएसम्म ‘फिट एन्ड फाइन’ रहेसम्म क्लब फुटबललाई नै निरन्तरता दिने उनको सोच छ । अबका दुई महिना जति विभिन्न टुर्नामेन्ट खेल्ने क्रममै आफू पूर्वतिर नै व्यस्त रहने उनले बताए । कुनै पनि कारणवश क्लबाट खेल्न छाडेका दिनबाट कोचिङ गर्ने सोच उनले बनाएका छन् । ‘मैले आजसम्म हासिल गरेको अनुभवलाई कुनै पनि एकेडेमी वा क्लबमा लगाउन सक्छु । हेरौं भाग्यले कति साथ दिन्छ ? ’ उनले भने ।
जति नै राम्रो खेलाडी भए पनि ऊ त्यति नै राम्रो कोच हुन सक्दैन भन्ने उनको धारणा छ । कुनै पनि खेलाडीभन्दा पनि बढी ‘प्रेसर’ कोचमा हुन्छ । त्यसैले, आफूले पनि कोचिङका लागि धेरै नै तालिम लिनु जरुरी ठान्छन् उनी । कुनै स-सानो एकेडेमी वा क्लबमा आफूले कोचिङ गर्न सक्छु भन्नेमा उनी ढुक्क छन् । तर यसको लागि आवश्यक पर्ने लाइसेन्सको लागि आफूलाई तयार पार्ने कुरामा पनि उनी अबका दिनमा लाग्ने भएका छन् । उनले आफ्ना योजना बताए ।
अनिलका गुरु
अनिलले आफ्नो फुटबल करियरमा धेरै कोचसँग सिक्ने मौका पाए । तर यीमध्ये पनि आफूलाई सुरुवाती दिनमा फुटबल सिकाएर यस क्षेत्रमा ल्याउन महत्वपूर्ण भूमिका निभाउने पोखराका डम्मरसिंह गुरुङ गुरुलाई उनी कहिले बिर्सिन सक्दैनन् । पुराना दिन सम्झिँदै अनिलले भने, ‘म सहारा एकेडेमीमा हुँदा उहाँले गर्दा नै मैले फुटबल सिकेँ ।’ अन्तर्राष्ट्रिय प्रशिक्षकको कुरा गर्दा उनी बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्सबाट निकै प्रभावित छन् । सन् २००९ देखि २०११ सम्म रोबर्ट्ससँग फुटबल सिकेका अनिल आफूलाई त्यस प्रशिक्षणले ए डिभिजन लिग पहिलो पटक खेल्दा निकै सहयोग मिलेको सम्झन्छन्।
अनिलको फ्यान फलोइङ निकै राम्रो छ । उनलाई समर्थन गर्ने ग्राउन्डमा मात्रै नभई ग्राउन्ड बाहिर पनि उत्तिकै छन् । यसको मुख्य कारण उनको मिजासिलो व्यवहार पनि हो । उनी जति मेहनती, लगनशील र अनुशासित छन्, त्यति नै आफ्ना फ्यानप्रति बफादार पनि छन् । कुनै पनि प्रशंसकले केही सन्देश पठाए त्यसको उनले प्रतिक्रिया जनाएकै हुन्छन् । उनले फुटबल खेलबाट सन्न्यास लिने सुनेपछि धेरै प्रशंसकले उनलाई किन यसो गर्न लागेको, यति चाँडै नलिनु न प्लिज भन्दै धेरै सन्देशहरू पठाए ।
आफ्ना प्रशंसकले त्यति धेरै माया देखाएको देख्दा उनलाई ‘यसो नगर्ने पो हो कि’ भन्नेसमेत मनमा लाग्यो । तर उमेरका कारणले पनि सन्न्यास लिनैपर्ने बाध्यता उनीसामु थियो । धेरैले ‘दाइ म पनि खेल्न चाहन्छु, तपाईं जस्तै बन्न चाहन्छु’ भनेर बारम्बार सन्देश पठाउने गर्छन् । यी सबैलाई सिकाउन सम्भव नभए पनि भ्याएसम्मलाई उनले कही टिप्सहरू भने दिने गरेका छन् ।
हाल जावलाखेलमा आफ्नै अपार्टमेन्टमा बस्ने गरेका अनिल पहिले नयाँबजारस्थित क्लबको अपार्टमेन्टमा बस्थे । त्यहाँ उनको सफलताका समयमा होस् या जन्मदिनका दिन धेरै प्रशंसकले शुभकामनासहितको कार्ड, फूल, केकलगायतका मायाका चिनो ल्याएर दिन्थे । उनका फ्यानमा बढी महिला छन् । बालकदेखि वृद्धसम्मका मानिसले आफ्नो खेल हेरेर मन पराउने गरेकोमा खुसी हुँदै उनले भने, ‘टीभीमा मेरो गेम हेरेपछि धेरै बूढो बाजेहरूले पनि मलाई तिमीले नेपालको नाम राख्यौ भन्दै खुसी हुनु भएको छ ।’ नेपालमा मात्रै नभई विदेशमा बस्ने नेपालीले पनि आफूलाई धेरै माया गर्ने गरेको उनी सम्झन्छन् ।
अनिलको दिनचर्या
फुटबलको क्षेत्रमा धेरैले आफ्नो आदर्श बनाएका अनिलको दिनचर्या निकै सरल छ । उनी बेलुकी जति नै ढिला सुते पनि बिहान ठीक ७ बजे उठिसक्छन् । यसको दुई घन्टापछि उनी तालिमको लागि जान्छन् । तालिम नभएको दिन जिम जान्छन् । तालिम सकाएर आएपछि घरमा खाना खाई आराम गर्छन् ।
उनकी आमा परिवारका अन्य सदस्यसाथ पोखरामा नै बस्छिन् । त्यसैले खाना बनाउने नआउँदा कहिलेकाहीँ उनी आफैं खाना तयार पार्छन् । खेलकै कारणले अलि व्यस्त हुनु परेको समयमा भने उनले आमालाई नै काठमाडौं बोलाउने गरेका छन् ।
फुटबलबाहेकको फुर्सदमा उनलाई चलचित्र हेर्न रहर लाग्छ । माइन्ड फ्रेस गराउन पनि चलचित्र महत्वपूर्ण मान्ने अनिलले पछिल्लो पटक हेरेको चलचित्र ‘फाटेको जुत्ता’ हो । नेपाली फुटबल क्षेत्रझैं चलचित्र क्षेत्रमा पनि सुधार हुँदै गएकोले निकै राम्रा चलचित्रहरू दर्शकमाझ आउन थालेको उनी बताउँछन् । आफूले हेरेका चलचित्रमध्ये नेपालीमा ६ एकान ६, छक्का पञ्जा १ र २ लगायतका चलचित्र उनलाई निकै मन परेको छ।
पत्रपत्रिका धेरै पढ्ने अनिललाई किताबमा त्यति रुचि छैन । यद्यपि उनी विश्वका चर्चित फुटबल खेलाडी एवं प्रशिक्षकहरूका बारेमा लेखिएका जीवनी भने फुर्सद मिलाएर पढ्ने गरेका छन् । उनी आफूलाई अनुशासित र मेहनतीमात्रै होइन भाग्यमानी पनि ठान्छन् । अरूलाई आदर गर्ने आफ्नो बानीले अरूबाट पनि आदर, माया र सम्मान पाएको उनी सुनाउँछन् । रिसाउने उनको बानी छैन ।
फुटबलमा सफलता पाउन महत्वपूर्ण फमुर्ला पनि यिनै भएको उनको दाबी छ । सानो छँदा अनिललाई डेभिड बेकह्याम असाध्यै मन पर्थ्यो । डेभिडका कारण म्यानचेस्टर युनाइटेड पनि उनलाई असाध्यै राम्रो लाग्न थाल्यो । पछिल्लो समयमा उनले वाइन रोनीका खेलहरू धेरै हेरे । संयोगवश यी अन्तर्राष्ट्रिय खेलाडीले पनि अहिले सन्न्यास लिएका छन् ।
देशका लागि खेल्न पाउनु सबैभन्दा महत्वपूर्ण विषय हो । विदेशी भूमिमा कुनै पनि खेल जितेर नेपाल आउँदा विमानस्थलमा ठूलो जमातले खुसी जनाउँदै आफ्नो टोलीको स्वागत गरेको क्षणलाई उनी सबैभन्दा गर्वको क्षण ठान्छन् । यस्ता कैयौं गर्वका क्षणको अनुभव सँगालेका उनलाई एन्फाले निकै भव्य तरिकाले बिदाइ गर्‍यो । यसले आफूभन्दा जुनियरहरूलाई पनि फुटबल क्षेत्रमा अझै स्तरीय खेल खेल्न प्रेरित गरेको उनको भनाइ छ । ‘फुटबल एक टिम वर्कमा आधारित खेल भएकाले एकजनाले मात्रै राम्रो गर्छु भनेर हुँदैन,’ उनले भने, ‘मैले आजसम्म जति राम्रो गरेँ, मेरो टिममेटले गर्दा नै हो ।’
लिग समस्या
नेपाली फुटबल क्षेत्रमा पछिल्लो समयमा लिगहरू नहँदा समग्र फुटबल जगत्मा नै धक्का पुगेको उनको बुझाइ छ । नियमित रूपमा खेल भए नेपाली फुटबल र खेलाडी दुवैको भविष्य राम्रो हुने उनको ठहर छ । देशको समसामयिक राजनीतिले पनि यसमा केही असर पुर्‍याए तापनि खेलभित्र नै कुनै राजनीति नघुसोस् भन्ने उनको कामना छ ।
विश्वव्यापी रूपमा नै फुटबलमा राम्रो भविष्य रहेकाले नयाँ पुस्तालाई पनि उमेरका कारणले लाग्न सक्ने कुलतबाट बचाउन यो खेल सहयोगी हुने उनको ठम्याइँ छ । अन्तर्राष्ट्रिय तहको फुटबल क्लबबाट खेल्ने अनिलको रहर रहरमै सीमित रह्यो ।

Facebook Comments Box

फेसबुक