२०८१ भाद्र, २९
||NEWS LUMBINI |

दोस्रो खेलमा नेपालको जित नेदरल्यान्ड्स १ रनले पराजित

अन्तिम अवस्थामा एक बलमा दुर्इ चाहिएको अवस्थामा कप्तान पारस खड्काले विकेट लिएपछि दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई उसैको घरेलु मैदानमा १ रनले पराजित गरेको छ ।

योसँगै नेपालले एक दिवसीयको डेब्यु खेलमा ब्यहोरेको हारको बदला लिँदै सिरिज बराबरी गर्न सफल भएको छ । नेपालले पहिले ब्याटिङ गर्दै २१६ रन बनाएपछि जबाफी ब्याटिङमा उत्रेको नेदरल्यान्ड सबै १० विकेट गुमाउँदै २१५ रनमा सीमित भएको हो ।

एक विकेट बाँकी रहेको अवस्थामा अन्तिम ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सलाई २ रन चाहिएको थियो । त्यस्तोमा नेपाललाई अनिवार्य विकेट या रन नदिने मात्रै विकल्प थियो । तर, अन्तिम ओभरमा बलिङमा आएका कप्तान पारसले अन्तिम बलमा नेदरल्यान्ड्सको १० औँ विकेटकारूपमा एफजे क्लासेनलार्इ रनआउट गर्न सफल भएपछि नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो ।

नेदरल्यान्डसलाई पराजित गर्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ३ विकेट लिए । त्यसैगरी आठ ओभर बलिङ गरेका ललित भण्डारीले २ र ९ ओभर बलिङ गरेका सोमपाल कामीले १ विकेट लिए ।

नेपालका जितमा ब्याटिङतर्फ सोमपाल कामी र कप्तान पारस खड्काले प्रभावशाली प्रदर्शन गरे । सोमपालले ६१ रनको शानदार पारी खेल्दा कप्तान पारसले पनि ५१ रनको अर्धशतकीय पारी खेलेर नेपाललाई मजबुत अवस्थामा पुर्याएका थिए ।

यसअघि सुरुवाती ब्याट्सम्यान असफल हुँदा मध्यम र अन्तिम क्रममा आएकाले  नेपालको स्कोर २ सय माथि पुर्याएका थिए । मध्यम गतिका बलर सोमपाल कामीले नेपाली पारीलाई उकास्ने काम गरे ।

आठौं क्रममा ब्याटिङका लागि मैदानमा छिरेका सोमपालले ४६ बलमै ६१ रनको अर्धशतकीय योगदान गर्दा नेपाल सम्मानजनक योगफलमा पुगेको थियो । यसक्रममा सोमपालले तीन छक्का र पाँच चौका प्रहार गरेका थिए ।

उनीबाहेक कप्तान पारस खड्काले पनि ५१ रनको अर्धशतकीय योगदान दिएका थिए । पारसले आफ्नो पालिमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । त्यसअघि सुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १३ तथा सुवास खकुरेलले १९ रन जोडेका थिए ।

तेस्रो क्रममा आएका अनिल शाह चार रनमै आउट हुँदा दीपेन्द्रसिंह ऐरीले १९ तथा आरिफ सेखले १६ रन जोडे । अन्य खेलाडीले भने दोहोरो संख्यामा रन जोड्न सकेनन् । रोहितकुमार पौडेल ६, वसन्त रेग्मी एक तथा सन्दीप लामिछाने आठ रनमा आउट हुँदा ललित भण्डारी चार रनमा अविजित रहे ।

-अन्नपूर्णपोष्टबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक