‘उपन्यास दुईधारे तरबार हो। यसले स्वयम् लेखकलाई पनि सिध्याउन सक्छ र अर्को कुनै लेखकलाई पनि।’ यही दुईधारे तरबारमा शिवानीसिंह थारूको नांगो खुट्टाले पाइला टेक्ने भएको छ। लेख्छु भनेको किताब नलेखी बदनाम भएकी शिवानी ग्ल्यामर लुक्समा आफ्नो गहन उपन्यास लिएर आउँदैछिन्। उनको उपन्यासको नाम ‘काठमाडौंमा एक दिन’ राखिएको छ। ‘काठमाडौंमा एक दिन आगो र आक्रोशको एक दिन हुनेछ। आगोले जीवन दिन्छ र त्यही जीवनलाई खरानी पनि बनाउँछ’, आफैंभित्र आगो सल्काएर बसेकी शिवानीको प्रतिक्रिया हो यो। उनीभित्रको आगोले नै सायद उपन्यास लेख्ने उनको मनोरोगलाई जीवित राख्यो।
नौ महिनामा बच्चा जन्मन्छ। यहाँ एक किताब जन्मन नौ वर्ष लाग्यो। उनको उपन्यास जन्मने मिति चैत १९ लाई तोकिएको छ। शिवानी अहिले प्रसव पीडामा छिन्। उनका लागि यो साधनाको एक लामो कालखण्ड हो। उनको यही साधना अब एक उपन्यास बन्दैछ। शिवानीको आफ्नै दृष्टिकोण छ, ‘किताब लेख्दा लेखकका विचार महत्वपूर्ण हुन्छन्।’ यही एकल र भिन्न विचारले उनी आफूले चाहेजस्तो लेख्न सक्छिन्। सबैलाई रिझाउने बानी कहाँ छ र शिवानीको ?
सबैले देखेका र सुनेका लाइट, क्यामेरा, एक्सनमा बितेका शिवानीको विगत। तर, उनी भाषा, शिल्प र कथामा पनि राम्रै दक्खल राख्छिन्। ‘काठमाडौंमा एक दिन’ यसकै प्रतिरूप हो। उनी प्रस्ट छिन्, ‘सबै विषयवस्तु सबैका लागि उचित नहुन सक्छन्। लेखन पनि त्यस्तै हो।’ किताब सार्वजनिक भएपछि उनी केवल प्रशंसा मात्र बटुल्न चाहन्नन्। सल्लाह चाहन्छिन्। ‘आखिर आलोचकलाई पनि न्याय त दिनै पर्यो’, उनीले सरल अभिव्यक्ति राखिन्।
आज मुद्दा नारीको छ। नारी अधिकारको छ। तर शिवानी नारीवादी मुद्दा मात्र किन उठाउने भन्दै प्रश्न गर्छिन्। उनको विचारमा ‘हाम्रो सिंगो समाजमा अन्य पनि थुप्रै लेख्न लायक मुद्दा छन्। ‘समसामायिक मुद्दामा हामफाल्दा के हुन्छ ? ’ उनी फेरि प्रश्न गर्छिन्।
‘काठमाडौंमा एक दिन आगो र आक्रोशको एक दिन हुनेछ। आगोले जीवन दिन्छ र त्यही जीवनलाई खरानी पनि बनाउँछ’, आफंैभित्र आगो सल्काएर बसेकी शिवानीको प्रतिक्रिया हो यो।
उनले थोरै कथा रिभिल गरिन्। मधेसको सशस्त्र समूह र राजनीतिका कथा किताबमा छन्। शिवानीले आफ्नो ग्ल्यामरस छवि के उपन्यास लेखेर परिवर्तन गर्न खोजेकी हुन् त ? उनी भन्छिन्, ‘पक्कै होइन। मैले छवि परिवर्तन किन गर्नु पर्यो ? ’ आफ्नो पारिवारिक पृष्ठभूमि सामाजिक, राजनीतिक, कला, साहित्यसँग जोडिएको बताउँदै उनी प्रस्ट पार्छिन्, ‘थोरैलाई मबारे थाहा भएको कुरा अब धेरैले थाहा पाउँलान्। बस् फरक त्यत्ति मात्र हो।’
साम्य भइरहेको मधेस मुद्दा उनको उपन्यासमा फेरि एक पटक बहसमा छ। शिवानीको तर्क छ, ‘मधेसका मुद्दालाई स्वस्थ्य छलफलमा किन नल्याउने ? ’
शिवानीले ‘मेरो गीत मेरो सन्देश’ मा बाह्र वर्षअगाडि यात्रा गरेकी थिइन्, ‘मूल्यांकन’ कार्यक्रम र ‘कथा मीठो सारंगी’ मा लेखन, निर्देशन र अभिनय पनि गरिन्। ‘भच्र्युल रियालिटी’ को मञ्चन पनि गरिन्। ‘तर नेपालमा लेखक बन्न किताब नै लेख्नुपर्ने बाध्यता छ।’ उनले आक्रोश पोखिन्, ‘म मेरो उपन्यासको वान म्यान आर्मी हुँ।’ उनलाई लाग्न थालेको छ अब उनी आफ्ना भाव पोख्न स्वतन्त्र छिन्। जुन नाटकमा सम्भव थिएन।
‘काठमाडौंमा एक दिन’ पात्रहरूको सशक्त प्रस्तुति भएको उनी बताउँछिन्। शिवानीको मन छुने पात्रहरू। त्यस्ता पात्र जसको भूमिकाले उनी अनि पाठकको जीवन र जीवन भोगाइलाई छुन्छ। बाँकी किताब लेख्दा गरिएका अनुसन्धान, त्यसबाट निस्किएको वास्तविकता र प्रस्तुतिको खुबीले नै आफ्नो उपन्यास पठनीय बन्नेमा उनी विश्वास राख्छिन्।
बाँकी सबै उनले पाठकलाई जिम्मा लगाएकी छन्। शिवानीको अबको आशा ‘उपन्यासभित्र तथ्य खोज्ने, उत्साहले पढ्ने र सरप्राइज हुने यी तिनै पाठकको पर्खाइमा काठमाडौंमा एक दिन।’
-अन्नपूर्णपोष्ट