२०८१ असोज, ३०
||NEWS LUMBINI |

आजको मतदान अपडेट यस्तो छ

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज मतदान भइरहेको छ। संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।

मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् ।

प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो ।पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।

कुन जिल्लामा के भइरहेको छ।

दोलखा

जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ। मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ ।

बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेको प्रहरीले जनाएको छ।

रोल्पा

उच्च पहाडी र हिमाली जिल्लाहरुमा आज जारी पहिलो चरणको निर्वाचन उत्साहका साथ सुरु भएको छ। रोल्पा नगरपालिकाको वडा नं. ७ बाल उदयमावि मतदान केन्द्र माडिचौर मतदान केन्द्रवाट पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन्।

नेकपा माओवादी केन्द्रको तर्फवाट रोल्पाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं पूर्व अर्थमन्त्री पुनले आफ्नी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले उक्त केन्द्रमा पहिलो मतदान गरेपछि दोस्रोमा मतदान गरेका हुन्।

यसैबीच बर्षमान पुनका प्रतिपर्धी एवं नेपाली कांग्रेसको तर्फबाट रोल्पाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा सिँचाई राज्यमन्त्री अमरसिंह पुनले पनि बिहानै मतदान गरिसकेका छन्।

राज्यमन्त्री पुनले सुकीदह गाउँपालिका वडा नं. २ स्थित मतदान केन्द्रमा गएर मतदान गरेका हुन्।

फेदीखोला मतदान केन्द्र नजिकै बम विस्फोट

रोल्पाको एउटा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । माडीखोला गाउँपालिका वडा नं. १ स्थित पेदीखोला मतदान केन्द्र नजिकै वम विस्फोट भएको हो।

उक्त मतदान केन्द्रमा मतदानका लागि पुगेका एक जना मतदाता खेमराज वलीका अनुसार आइतबार बिहान ८:४५ बजेतिर उक्त मतदान केन्द्रको झन्डै तीन सय मिटर माथिको सल्लेरी जंगलमा दुई तीन वटा बम विस्फोट भएको थियो।

बम विस्फोट भए पनि स्थानीय मतदाता भने विचलित नभएको र मतदान जारी रहेको वलीले जानकारी दिए। त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेकोले मतदान विचलित नभएर मतदान गरिहेको घटनास्थलबाट वलीले जानकारी दिए ।

सिन्धुपाल्चोक

लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच हिजो राति झडप भएपछि सिन्धुपाल्चोक– २ को पाँचपोखरी गाउँपालिकाको एउटा मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन।

पाँचपोखरी–८ को गाविस भवन मतदान केन्द्रमा बिहान साढे ८ बजेसम्म मतदान सुरु हुन नसकेको हो।

कांग्रेस र राप्रपाका साझा उम्मेदवार पशुपतिशमशेर राणाका कार्यकर्ता पैसा बाँड्न हिँडेको भन्दै वाम गठबन्धनका कार्यक्रताले अवरोध गर्न खोजेपछि शनिबार राति त्यहाँ झडप भएको थियो।

झडपमा २ जना घाइते भएको राणा पक्ष जनाएको छ। घटनामा संलग्न दोषीलाई कारबाही नभएसम्म मतदान हुन नदिने राणा पक्षको अडानका कारण मतदान सुरु हुन नसकेको हो।

मतदान सुरु गर्न प्रशासनले थप सुरक्षा बल सो मतदान केन्द्रमा पठाएको छ।

बझाङ

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाको भोपुर मतदान स्थल नजिकै बम फेला परेको छ।

नेपाली सेनाको ब्यारेक नजिकै रहेको जयपृथ्वी नगरपालिका भोपुर मतदान केन्द्रमा आज बिहान बम फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृषिराम कँडेलले बताए। बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ।

आज बिहानै मतदान स्थल नजिकै बम फेला परेपछि स्थानिय मतदाताहरुमा त्रास छाएको छ। यद्यपी जिल्लामा आज बिहानबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ ।

पश्चिम रूकुम

माओवादी केन्द्रका नेता एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले पहिलो पटक गृहनगरबाट आफैंलाई मतदान गरेका छन्। पश्चिम रुकुमको सदरमुकाम मुसिकोट नगरपालिका,५ को यमुनानन्द नमूना मावि ‘क’ मतदान केन्द्रबाट शर्माले आफैलाई मतदान गरेका हुन् ।

शर्मा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

त्यस बखत उनले मतदान गर्ने मतदान केन्द्र उनको निर्वाचन क्षेत्रमा नपर्ने भएकाले अर्कैलाई मतदान गरेका थिए। यस पटक भने शर्माको मतदान केन्द्र उनकै निर्वाचन क्षेत्रमा परेको छ । शर्मा यो जिल्लाबाट प्रतिनिधिसभाका लागि संयुक्त वाम गठबन्धनका उम्मेदवार हुन्।

बागलुङ

गरिबी निवारण राज्यमन्त्री तथा नेपाली कांग्रेस बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार चम्पादेवी खड्काले बागलुङ नगरपालिका–२ को बालमन्दिर मतदान केन्द्रमा मतदान गरेकी छन्।

पश्चिम बागलुङमा प्रेसर कुकर र सुतलि बम फेला परेपछि बम डिस्पोज गर्न सेना खटिएको छ।

धादिङ

धादिङ क्षेत्र नम्बर १ को वाम गठबन्धनका साझा उम्मेदवार एमाले नेता भूमि त्रिपाठीले मतदान गरेका छन्।

यस्तै धादिङ क्षेत्र नम्बर १ प्रदेशसभा (२) का माओवादी (वाम गठबन्धन) उम्मेदवार शालिकराम जम्कट्टेलले पनि मतदान गरिसकेका छन्।

गोरखा

गोरखाको  सिराञ्चोक गाउँपालिका- ८ स्थित परोपकार आदर्श मावि जौबारीबाट माओवादी नेता एवम् गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्।

यस्तै गोरखामा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा रहेको कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रनजिकै बम विस्फोट भएको हो। यद्मयपी तदान जारी रहेको छ।

ताप्लेजुङ

ताप्लेजुङकाे सदरमुकाम फुङ्लिङबजारमा जनप्रतिनिधि राेज्न मत खसाल्न मतदान स्थलमा अाईपुगेका छन्। कांग्रेसका प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उमेदवार केशव दाहाल र संयुक्त वाम गठबन्धनका उम्मेद्वार योगेश भट्टराईले मतदान गरिसकेका छन्।

नुवाकोट

नुवाकोटका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । नुवाकोटका दुई निर्वाचन क्षेत्रमा १८ जना उम्मेदवार र २ लाख ८ हजार १ सय ९१ जना मतदाता रहेका छन्।  परम्परागत रूपका कांग्रेस बलियो रहेको नुवाकोटमा पनि यसपालि वाम गठबन्धनका कारण चुनाव प्रतिष्पर्धात्मक हुने भएको छ। नुवाकोट–१ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डाक्टर रामशरण महतविरुद्ध एमाले–माओवादीका संयुक्त उम्मेदवारका रूपमा माओवादी नेता हितबहादुर तामाङ चुनाव लडेका छन्।

नुवाकोट–२ मा कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीविरुद्ध वाम गठबन्धनबाट एमालेका नारायणप्रसाद खतिवडा उम्मेदवार बनेका छन्।

Facebook Comments Box

फेसबुक