२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

आत्मसमीक्षाबिनाको आत्मकथा

मन्त्री भएलगत्तै तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ग्रिनकार्ड वा पिआरधारीहरुले राज्यका जिम्मेवार ओहदामा बस्न नपाइने घोषणा गरे। त्यतिबेला धेरैले दोहोरो नागरिकता परित्याग गरे भने केहीले विदेशकै बसोबास रोज्दै उच्च सरकारी ओहोदा परित्याग गरे। यसले एक किसिमको हलचल नै पैदा गर्‍यो। प्रशासनिक सुधारका लागि उनले गरेका प्रयास प्रशंसनीय छन्।

अर्कोतर्फ त्यो समय मुलुक कठिन राजनीतिक मोडबाट गुज्रिरहेको थियो । मधेस र पहाडबीच ध्रुविकरणजस्तो देखिन्थ्यो। त्यस्तो परिस्थितिमा मधेस र मधेसीलाई हेर्ने पण्डितको दृष्टिकोण भने उच्चस्तरको थियो। पूर्वी तराईको अल्पसंख्यक समुदायबाट राजनीतिको मूलधारमा आएका पण्डितले त्यतिबेला लिएका अडान र व्यक्त गरेका विचार मधेसकै अर्को घेराले उठाइरहेको आवाजभन्दा भिन्दै थियो तर मधेस र पहाडलाई जोड्ने पूल बनेको थियो।

विभाजनको राजनीति चर्किरहेको त्यो बेलामा लालबाबुले समुदायलाई जोड्ने सेतु बन्ने प्रयास गरे। उनका भनाइ र कामले पण्डितलाई मूलधारको राजनीतिमा स्थापित गर्‍यो। आम रुपमा मैले बुझेका लालबाबु पण्डितको भूमिका यिनै दुई वटा हुन्।

पण्डितको सिंहदरबार ‘इन्ट्री’

सामान्य प्रशासन मन्त्रालय कर्मचारी सरुवा–बढुवाको समयमा बाहेक खासै चर्चामै आउँदैनथ्यो। त्यसैले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्न नेताहरुमा खास रुचि नै हुँदैनथ्यो। नाम सामान्य प्रशासन रहेको यो मन्त्रालय आम बुझाइमा ‘सामान्य मन्त्रालय’ नै थियो। गृह, अर्थ, ऊर्जा, भौतिक योजना, शिक्षा लगायतका ठूला भनिएका मन्त्रालयको जस्तो यो मन्त्रालयको चर्चा हुँदैनथ्यो। चर्चाविहीन मन्त्रालय सम्हाल्ने मन्त्रीको चर्चा हुने कुरै भएन।

सम्बन्धित कर्मचारी र केही सीमित व्यक्तिहरुबाहेकलाई सामान्य प्रशासन मन्त्री को छ भन्ने चासो पनि हुँदैनथ्यो। तर, त्यही मन्त्रालय ०७० फागुनपछि एकाएक चर्चामा आयो। आम नागरिकले पनि त्यसबारे थाहा पाए। चासो राख्न थाले। जसका कारण थिए, लालबाबु पण्डित। ‘सामान्य मन्त्रालय’का मन्त्री पण्डित अन्य ठूला भनिएका मन्त्रालयका मन्त्रीभन्दा बढी चर्चामा रहे। मन्त्रीको रुपमा भने पण्डितको यो नै पहिलो सिंहदरबार ‘इन्ट्री’ थियो।

पुस्तकभित्र प्रवेश

बाहिरबाट झट्ट हेर्दा पण्डितलाई जति बुझ्न सकिन्छ त्यो पर्याप्त भने छैन। उनलाई बुझ्न उनकै आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ पढ्नैपर्छ।

‘सिंहदरबार बदल्ने संघर्ष’ लालबाबु पण्डितको आत्मकथा हो तर यो उनको आत्मकथाभन्दा बढी देशको कथा हो। पुस्तकका दुई वटा पाटा छन्। एउटा, यसले लालबाबु पण्डितले हालसम्मको आफ्नो जीवनशृंखलामा गरेको संघर्षको कथा देखाउँछ। दोस्रो, यसले हाम्रो समाज, सोच र राज्यसञ्चालनभित्रका अनेक बेथितिको उजागर गर्छ। त्यसकारण ‘सिंहदरबार बदल्ने संघर्ष’ लालबाबु पण्डितको आत्मकथा हो, तर त्योभन्दा बढी देशको कथा हो।

पहिला देशको कथा नियालौं

०३५ सालको कुरा हो, पण्डित बालाजु औद्योगिक क्षेत्रमा काम गर्थे। त्यहीँ अगाडिको घरमा डेरा थियो। एकदिन एक जना मानसिले घर मालिकलाई बोलाए ‘को बसेको छ तल? किन बोलाएको?’ घर मालिक्नीले आफ्नी छोरीलाई सोधिन्।

‘मनु मखु मर्स्या ख (मान्छे होइन, मधिसे हो)’ घरमूलीकी छोरीले प्याच्च भनिन्। पण्डितलाई झनक्क रिस उठ्यो। घरमूलीकी छोरीलाई थप्पड लगाइदिए। आइन्दा त्यसो नभन्न सम्झाए।
पण्डित आफ्नो आत्मकथामा लेख्छन्, ‘घरधनीकी छोरीले मान्छे होइन मधिसे हो भनेको कुरा मेरो कानमा नपरेको भए म राजनीतिमा लाग्दिनथेँ होला।’

उक्त घटना भएको चार दशक पुग्न लागिसक्यो। पण्डित पूर्णकालीन राजनीतिमा होमिएर तीन पटक सांसदसहित एक पटक मन्त्री बनिसके। यही मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङबाट पुन: निर्वाचन लड्दै छन्। यतिबेला उनी चुनावी प्रचारका क्रममा कतै डुलिरहेका होलान्। तर, तराईमा बस्नेलाई मानिस होइन मधेसी हो भन्ने व्यक्तिहरुसहितको समाज भने अझै कायमै छ। यो विभेदको पूर्ण अन्त्य हुन सकेको छैन। देशको विडम्वनापूर्ण एउटा कथा हो यो।

कथा नम्बर दुई

कुनै एक दिन। पण्डित मन्त्रीनिवासमै थिए। भारतीय दुतावासका एक जना कर्मचारी आइपुगे। ‘भरत सुवेदीले जे जे भन्छ त्यो काम गरिदिनुस्। उसले भनेको काम नगरे राम्रो हुन्न।’ चेतावनीकै शैलीमा ती कर्मचारीले भने। दिउँसो १२ बजे पण्डितको मोबाइलमा एमएमएसको घन्टी बज्यो। एसएमएस उनै दूतावासका कर्मचारीको रहेछ। ‘भरत सुवेदीलाई दुई घन्टाभित्र अर्थ मन्त्रालयमा सरुवा दिनुस्। त्यति समयभित्र सरुवा नदिए तपाइँले जे पनि भोग्नुपर्छ’ एसएमएसमा भनिएको थियो। सहसचिव स्तरका कर्मचारी भरत सुवेदीले अर्थमन्त्रालय अन्तर्गतको बढी आम्दानी हुने राजस्वमा जान प्रयास गरेका थिए।

सुवेदीको विगत राम्रो नभएको सूचना पाएपछि पण्डितले उनको सरुवा रोकेका थिए। त्यसैले उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालादेखि एमालेका नेता र अन्य मन्त्रीबाट समेत पण्डितलाई दबाव दिन लगाएछन्। २५ करोडसम्मको आर्थिक प्रलोभन देखाएछन्। मन्त्री पण्डितले कुनै पनि दबाव र प्रलोभनलाई बेवास्ता गरेपछि उनले भारतीय दूतावास समेत गुहारेछन्। राज्यको तलब–सुविधा खाएको सहसचिवस्तरको कर्मचारीले आफ्नो स्वार्थ पूरा गर्नका लागि विदेशी शक्ति गुहार्नेसम्मको गैरजिम्मेवार र निच हर्कत गर्नु आफैंमा एउटा विडम्बनापूर्ण अवस्था हो भने भारतीय दूतावासको कर्मचारीले नेपालको एक मन्त्रीलाई यसरी हाकाहाकी धम्क्याउने आँट गर्नु थप विडम्बनायुक्त घटना हो। यो पनि देशकै अर्को कथा हो।

योसँगै जोडिएको अर्को उपकथा पनि छ। पण्डितले डिभी–पिआरमा कडाइ गरेपछि र भरत सुवेदीको विषय थपिएपछि अर्थमन्त्री रामशरण महत र पण्डितबीच ११ महिनासम्म बोलचाल नै बन्द भयो। एउटै मन्त्रिपरिषदका दुई मन्त्रीबीच बोलचालन नहुनु कम्ती विडम्बनाको कथा हो र?

यी त केही उदाहरण मात्रै हुन्। यस्ता अनेक प्रसंग–कथा पुस्तकमा समेटिएका छन्, जसले हामीले हाम्रो आँखाको क्यानभासमा उतारेको देशको चित्रमा फोहोर र धमिलो रंग पोतिएको देखाउँछ।

पुस्तक पढ्दै जाँदा

यस्ता अनेक विडम्बना र बेथितिका कथा पुस्तकमा समेटिएका छन्, जसका विरुद्ध आफ्नो कार्यकालको १९ महिनासम्म तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लडिरहे। संघर्ष गरिरहे। कर्मचारीहरुको गुटबन्दी, गैरजिम्मेवारीपन र दादागिरीविरुद्ध लडे। राष्ट्रसेवकलाई राष्टप्रति कर्तव्यनिष्ठ र इमान्दार बनाउन संघर्ष गरे। प्रशासनमा व्यापक सुधार ल्याउने योजनासहित निजामति सेवा ऐन र नियमावली संशोधन गर्न यद्धस्तरकै लडाई लडे। कर्मचारीलाई डिभी र पिआर निशेध गर्न उत्तिकै संघर्षपूर्ण योजना अघि बढाए र सफल बनाए। पार्टीभित्रैको दबाव झेले, बाह्य प्रभाव छिचोले । जसले गर्दा निजामती सेवा ऐनमा व्यापक संशोधन र सुधार गर्न सफल भए।

ऐनको चौथो संशोधनबाट गरिएको व्यवस्था अनुसार जागिरे पुरुषको श्रीमतीले डिभी-पिआर लिएको भए श्रीमानको शेषपछि उनले पेन्सन पाउँदिनन् भने जागिरे श्रीमतीको हकमा श्रीमतीको शेषपछि श्रीमानले पाउने पेन्सन रोकिन्छ। डिभी–पिआरधारी कर्मचारीलाई कारबाही गर्ने व्यवस्थाले राष्ट्रिय तथा अन्तर्राष्टिय रुपमै चर्चा र प्रशंसा पायो। पण्डितले पिआरधारी कर्मचारीको बढुवा रोक्का गरे, निजामती सेवामा विशिष्टिकरण गरे। सचिवालयको नाममा हुने अनावश्यक खर्च कटौती गरे। जुन उनको कार्यकालका सफलता हुन्। पुस्तकमा उनका यीनै संघर्ष र सफलाताहरु समेटिएको छ।

आत्मकथाको अर्को हिस्सा

सामान्य परिवारमा जन्मिएका पण्डित मजदुर थिए। मजदुरदेखि मन्त्रीसम्म पुगेका पण्डितको संघर्ष कथा पनि लामो छ। उनको जीवनको ठूलो हिस्सा संघर्षले रंगिएको छ। लोकप्रिय नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाइ र पारिवारिक जीवनसम्मका भोगाइहरु कथाजस्तै लाग्छन्।

मधेसी समुदायका उनले श्याम वर्णका कारण बाल्यकालदेखि नै विभेदको सामना गर्नुपर्‍यो। विद्यालय जाँदा अन्य विद्यार्थीले जिस्क्याउँथे, होच्याएर बोल्थे। उनलाई असह्य हुन्थ्यो। शिक्षकलाई उजुरी गर्थे। कतिसँग उनी आफैं भिडे। त्यो उनको विभेदविरुद्धको संघर्ष थियो।

उनी बालाजु औद्योगिक क्षेत्रमा काम गर्थे। त्यहीँ काम गर्दा मजदुर हक हितका हरेक आन्दोलनमा सहभागी हुन थाले। मजदुर आन्दोलनमा सहभागी हुँदाहुँदै उनमा राजनीतिक चेतना विकसित भइसकेको थियो। माले हुँदै एमाले भए। ०३६ सालमा जनमतसंग्रहको विरोध गर्दा पक्राउ परी जेल बसे। पहिलो पटक २६ दिन जेल बसेका उनी दोस्रो पटक २०३७ सालमा ३१ दिन र तेस्रो पटक ११ महिना जेल बसे। राजनीतिमा पनि उनले थुप्रै संघर्ष गरे। भूमिगत कालमा अझ बढी संघर्ष गर्नुपर्‍यो। लामो र संघर्षपूर्ण राजनीतिबाट खारिएका पण्डितले मन्त्री भएपछि पनि संघर्ष गरेरै आफ्नो कार्यकाल बिताए। जुन संघर्षले उनको १९ महिने कार्यकाल सानदार बन्न पुग्यो।

उक्त कार्यकालमा उनले सिंहदरबार बदल्न संघर्ष गरे। प्रशासन सुधार्न संघर्ष गरे। सिंहदरबारभित्रका विकृति र बेथिति हटाउन लडे। एक्लै पर्दा पनि पछि हटेनन्, अरुले साथ दिदा झन् बलियो भएर अघि बढे। अन्ततः सफल भए। उनको उक्त सफलता हेर्न निजामती सेवा ऐनको चौथो संशोधन हेरे पुग्छ। तर, उक्त ऐन बनाउन पण्डितले कति संघर्ष गर्नुपर्‍यो, त्यो बुझ्न भने उनको आत्मकथा सिंहदरबार बदल्ने संघर्ष पढ्नुपर्छ। बालापनदेखि नै संघर्ष गर्दै आएका पण्डितका लागि मन्त्री बनेर सिंहदरबार छिरेपछि गर्नुपर्ने संघर्ष उनको जीवनशृंखलाको एक हिस्सा मात्रै हो। यद्यपि यो राष्ट्रहितसँग जोडिएकाले यसको महत्व विशिष्ट छ।

पुस्तक पढिसकेपछि

यो एक इमान्दार र निष्कलंक राजनीतिज्ञको संघर्ष कथा हो । जसले इमान्दारीपूर्वक राष्ट्रहित त मात्रै सोचेर काम गर्‍यो, जसले एक जना मन्त्री मात्रै राष्ट्रप्रति इमान्दार हुने हो भने निकै ठूलो परिवर्तन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दियो। जसले राष्ट्रको हितमा काम गर्दा एक मन्त्रीले कति जिम्मेवार हुनुपर्छ र कति अडानयुक्त भएर काम गर्नुपर्छ भन्ने पाठ सिकायो। जसले राजनीति, सत्ता र शक्तिको सदुपयोग गर्ने प्रेरणा प्रदान गर्‍यो।

पुस्तक प्रकाशक नेपालयले पुस्तकको बाहिरी कभरमा लेखेजस्तै, ‘पूर्वी तराईको अल्पसंख्यक समुदायका यी स्वप्नजीवीको जीवन आफैंमा चाखलाग्दो छ। एमालेका लोकप्रिय नेता मदन भण्डारीसँगै भूमिगत रहेर संगठनमा समर्पित पण्डितको पढाइ र पारिवारिक जीवन पनि कथापूर्ण छ।’

र, त्योभन्दा बढी ‘सामान्यमन्त्री’ को असामान्य काम र सफलताको कथा नै उनको आत्मकथाको मेरुदण्ड हो। जो अरुका लागि पनि प्रेरणादायी छ।

प्रस्तुति सरल र छरितो छ। प्राय आत्मकथामा हुने अति धेरै तिथि मितिसहितको विवरण र अनावश्यक प्रसंग यसमा भेटिँदैन। पढ्नै झिजो लाग्ने सन्दर्भहरु पनि छैनन्। एक सय ८८ पृष्ठको पुस्तकमा पण्डितको बाल्यकाल र पढाइ, राजनीतिक यात्रा, मदन भण्डारीसँगको संगत र सहकार्य, विवाह र डेराजीवनको सन्दर्भ, आत्महत्या गर्ने निर्णयमा पुगेको अवस्थासहित उनको बुझाइमा मधेसको सवाललाई समेटिएको छ। आम नागरिकका साथै सबै राजनीतिज्ञहरुले पढ्नुपर्ने पुस्तक बनेको छ।

कमजोरीरहित थिए लालबाबु ?

आत्मकथालाई पछिल्लो समय आत्मप्रशंसा भनेर व्यंग्य गर्न थालिएको छ। आत्मकथाको पुस्तकहरुमा आफ्ना राम्रा कुरा मात्र समावेश गर्ने र कमजोरीरहित नायकको रुपमा आफूलाई स्थापित गर्ने लेखकहरुको प्रयासका कारण आत्मकथाले आत्मप्रशंसाको उपमा पाएको छ। लालबाबु पण्डितले पनि आफ्नो पुस्तकलाई सोही उपमा पाउनबाट रोक्न भने सकेका छैनन्।

कमजोरीरहित व्यक्ति सायदै होलान्। लालबाबु पण्डित पनि पक्कै कमजोरीरहित थिएनन्। तर, आत्मकथामा उनले गरेका संघर्षभित्रका राम्रा पक्षहरु मात्र समेटिएको छ। उनका कमजोरीहरु यसमा समावेश गरिएको छैन। व्यक्ति अनुसार कसैमा कमजोरी धेरै हुन सक्छ, कसैमा कम। तर, कुनै एउटा पनि कमजोरी नदेखाउँदा आत्मकथा वास्तविक आत्मकथा नभई आत्मप्रशंसा बन्न पुग्छ। हुनसक्छ, यति सजग र सचेत लालबाबुमा कमजोरी निकै कम थिए, जुन यहाँ उल्लेख गरिएन। तर, आम पाठक मस्तिष्कले पक्कै प्रश्न गर्नेछ– के लालबाबु कमजोरीरहित मानव हुन्?

र, अन्त्यमा

आत्मकथाले नदेखिएको पाटो देखाउनुपर्छ भन्ने मान्यता छ। आत्मकथामा आफ्नो बखान मात्र हुनुहुँदैन। आत्मकथा व्यक्तिकथा मात्र पनि होइन। यसले व्यक्तिसँग जोडिएर समाजको सतहका कथा भन्न सक्नुपर्दछ। तब मात्रै त्यो पाठकका लागि पठनयोग्य बन्न पुग्छ।

पण्डितको आत्मकथाले एउटा निम्नमध्यमवर्गीय परिवारको केटो संघर्ष गर्दै कसरी राज्यको उच्च पदमा पुग्यो भन्नेदेखि राज्यसञ्चालनको प्रशासनतन्त्रभित्रको समकालिन अवस्थाबारे सरसरती जानकारी दिन्छ। तर, यो पर्याप्त भने छैन। आत्मकथाको मेरुदण्ड भनेकै आत्मसमीक्षा हो। आत्मसमीक्षाबिनाको आत्मकथा नै आत्मप्रसंशा बन्छ। यो पुस्तक पनि मेरुदण्डविनाको आत्मकथा बनेको छ, अर्थात आत्मसमीक्षाविनाको आत्मकथा। उनले आत्मसमीक्षा गरेका छैनन्, सरसर्ती आफूले गरेका र प्रशंसा पाएका कामहरु उल्लेख गरेका छन्।

हतारमा लेखिएकोजस्तो अनुभूति हुने यो आत्मकथाको पुस्तकबाट साहित्यिक गुणवत्ता खोज्ने पाठकको अपेक्षा पनि पूरा नहुन सक्छ।

Facebook Comments Box

फेसबुक