२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

आमिर किन उठाउँछन् सामाजिक मुद्दा ?

सामाजिक मुद्दालाई निरन्तर उठाइरहने अभिनेता हुन्, आमिर खान । बलिउडमा पछिल्लो समय उनका दंगल, सेक्रेट सुपरस्टारजस्ता फिल्मको निकै तारिफ भएको छ । उनीबारे निकै अफवाह पनि फैलिने गर्छन्, बेलाबेलामा । खासगरी फिल्मको मागअनुसार शारीरिक बदलाव ल्याउन सक्नेमा पनि उनी चर्चित छन् । फिल्मअनुसार बदलिरहने गेटअप र उनको आमजीवनभन्दा उनले फिल्ममा उतारेका सामाजिक मुद्दाहरू छलफलको विषय बन्नु उपयुक्त हुन्छ ।
१४ मार्च सन् १९६५ मा मुम्बईको मुस्लिम परिवारमा जन्मिएका आमिरले पहिलोपटक १९७३ मा ‘यादों कि बारात’बाट बालकलाकारका रूपमा फिल्मी करिअर सुरु गरे । ‘कयामत से कयामत तक (१९८८)’, ‘राजा हिन्दुस्तानी (१९९६)’ र लगान (२००१) बाट सर्व श्रेष्ठ अभिनेता पुरस्कार जिते । २००७ मा बनेको ‘तारे जमिन पर’ आफैंले निर्देशन गरेर सर्व श्रेष्ठ निर्देशकको अवार्ड पनि हात पारे । रंग दे वसन्ती, थ्री इडियट्स, पीके, दंगल र सेक्रेट सुपरस्टारजस्ता फिल्म बनाएर बेग्लै छाप छाडे ।
९० को दशकमा राजा हिन्दुस्तानीजस्ता हिट फिल्म दिएका उनको फिल्मी यात्रा सन् २००० पछि मोडिएको देखिन्छ । २००१ मा आमिर खान प्रोडक्सन खोलेर ‘लगान’ बनाए । यसले आमिरलाई चर्चाको शिखरमा पुर्‍यायो । भारतीय किसानको बारेमा बनेको लगान तेस्रोपटक ओस्कारको उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म पुरस्कारका लागि छानियो । त्यसपछि उनले २००६ मा ‘रंग दे वसन्ती’ बनाए । २००९ मा थ्री इडियट्स बनाएर गलत शिक्षा पद्धतिबारे प्रश्न उठाए ।
आमिरलाई मात्रै सामाजिक मुद्दामा किन फिल्म बनाउनुपर्ने ? किन उनी बलिउड नगरीमा फरक सिनेमा बनाउँछन् ? फिल्मसँग समाजको घनिस्ठ साइनो किन गाँस्छन् ? यो प्रश्न सिनेक्षेत्रमा बेलाबेला उठ्ने गर्छ ।
आमिरलाई मात्रै सामाजिक मुद्दामा किन फिल्म बनाउनुपर्ने ? किन उनी बलिउड नगरीमा फरक सिनेमा बनाउँछन् ? फिल्मसँग समाजको घनिष्ठ साइनो किन गाँस्छन् उनी ?
व्यक्तित्व निर्माणमा सामाजिक प्रक्रिया महत्वपूर्ण रहन्छ । आमिर त्यस्तो बन्नुमा उनको बाल्यकाल र उनी बाँचेको समाजसम्म पुग्नुपर्ने हुन्छ । एकपटक उनी आफ्ना साथीसँग ‘तँ’ सम्बोधन गर्दै टेलिफोनमा बोल्दै थिए । उनकी आमा जीनत हुसैनले नजिकै आएर भनिन्, ‘तँ भनेर बोल्न कसले सिकायो तिमीलाई ? ’ त्यसपछि आमिर चुप लागे । यसबाट के देखिन्छ भने उनको बाल्यकाल राम्रो संस्कारमा हुर्कियो । उनका बुवा ताहिर हुसैन एक फिल्म निर्माता थिए । उनका काका नासिर हुसैन पनि निर्माता र फिल्म निर्देशक थिए । भारतका पूर्वराष्ट्रपति डा. जाकिर हुसैनका वंशज हुन् उनी । सम्पन्न परिवारमा जन्मिएका उनी सानैदेखि संवेदनशील र सुसंस्कृत भएको अनुमान लगाउन सकिन्छ ।
आमिरको जीवनमा २०१२ देखि अर्को नयाँ मोड थपिएको देखिन्छ । यसले उनलाई सामाजिक मुद्दातर्फ केन्द्रित बनायो । आमिरले २०१२ मा ‘सत्यमेव जयते’ नामक रियालिटी शो सञ्चालन गरे । नेसनल दूरदर्शनका साथै स्टार नेटवर्कको विभिन्न च्यानलबाट प्रसारित उक्त कार्यक्रम रातारात चर्चित भयो । कार्यक्रममार्फत उनी भारतीय समाजको कुरीतिविरुद्ध केन्द्रित भए । महिला हिंसा, बाल यौनशोषण, दाइजो प्रथा, अपांगता, घरेलु हिंसा र छुवाछूतजस्ता सामाजिक मुद्दामा उनको टिम केन्द्रित भयो ।
दुई वर्षसम्म सञ्चालन भएको उक्त कार्यक्रममार्फत उनले निकै सकारात्मक प्रतिक्रिया पाए । सबैभन्दा महत्वपूर्ण विषय उनले समाजसँग अझ नजिक हुने अवसर पाए । कतिपय समीक्षकले सो कार्यक्रमलाई एक कार्यक्रममात्रै नभई मानिसको सोच बदल्ने आन्दोलनका रूपमा समेत लिए । कैयौं बलिउडका हस्तीहरूले सत्यमेव जयतेलाई दशककै सर्व श्रेष्ठ कार्यक्रम भन्दै आमिरको उक्त कार्यक्रमले देशमा क्रान्ति नै ल्याउनसक्ने बताए ।
सत्य मेव जयतेको एक शृंखलामा उनी नारीवादी सामाजिक अभियन्ता कमला भासिनसँग देखिए । भासिनले आमिर खानसँग भनेकी छन्, ‘भारतमा लाखौं किसानले आत्महत्या गरे, त्यसका दुई कारण छन् । एउटा गरिबी, अर्को पुरुषत्व । त्यो पुरुषले सोच्यो ‘म कस्तो पुरुष हुँ ? मैले आफ्नो बच्चा पाल्न सकिनँ ? त्यसपछि आत्महत्या गरे । त्यस बेला कुनै पनि महिलाले आत्महत्या गरेनन् ।’ आमिर कार्यक्रममा एक बौद्धिक कार्यक्रम प्रस्तोताका रूपमा उभिएका थिए । उनी कैयौं कार्यक्रममा पीडितसँगै रोए पनि । फरकफरक विषयलाई दर्शकमाझ पस्किएर समाजसँगको दूरी नजिक बनाइरहे।
उनी बेलाबेलामा भेष बदलेर ‘सरप्राइज भिजिट’मा निस्कन्छन् । भारतका विभिन्न स्थानमा घुमेर जानकारी लिन्छन् । घन्टौं आफूसँगै हिँडिरहेका सुपरस्टारबारे आममानिस अनभिज्ञ हुन्छन् । जब आफ्नो असली रूप देखाउँछन्, मानिसहरू छक्क पर्छन् । त्यसपछि आमिर गाउँका मानिसलाई प्लेन चढेर आफ्नो फिल्म हेर्न निम्तो दिन्छन् । साथै उपहारस्वरूप सुनको औंठी दिएर हिँड्छन् ।

सत्यमेव जयतेबाट समाज र मानिसलाई हेर्ने आफ्नो नजर बदलिएको आमिरले बताएका थिए । उनले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘विभिन्न स्थानमा गएर मैले सच्चाइलाई गहिराइमा देखेँ । कैयौं मानिसका कथा बुझेँ । समाजसँग अझ नजिक जोडिएँ ।’
बलिउडको फिल्म नगरीमा कैयौं भेटरान कलाकार छन् । सबै आआफ्नै स्थानमा स्टार छन् । तर, आमिरमात्रै त्यस्ता कलाकार हुन्, जसले सामाजिक मुद्दाहरू निरन्तर उठाइरहेका छन् । उनी कहिले शिक्षापद्धतिबारे फिल्म बनाउँछन् भने कहिले धर्मको बारेमा त कहिले महिलाको विषयमा । सन् २००० पछि बनेका उनका चर्चित फिल्महरू एक ठाउँमा राखेर हेर्दा उनी अभिनेता मात्रै नभई समाज सुधारक एक अभियन्तासमेत रहेको भान हुन्छ।
आमिर बजार र मानवीयताको बीचमा बसेर कला साधना गर्ने कलाकारभन्दा अन्यथा हुँदैन । उनी बजारलाई पूर्णत: निषेध गर्दैनन् । र, मानवीयतालाई त्याग्दैनन् पनि । पैसाका लागि जस्तो पनि फिल्म खेल्नेमध्येका अभिनेता होइनन् उनी । बजारमार्फत सामाजिक मुद्दा करोडौं दर्शकमाझ पुर्‍याउँछन् । रोमान्स र फाइटवाला फिल्म पनि बेलाबेलामा खेल्छन् । त्यही बजारु फ्रेममै बसेर समाज उपयोगी फिल्महरू बनाउन उनी माहिर छन् । यस अर्थमा उनी ‘डाइनामिक’ कलाकार हुन्।
फिल्मलाई साहित्यको अंग नमान्नेहरू छन् । तर, आमिर कविता पढ्छन् । भारतीय कविहरूसँगै मराठी भाषामा लेखिएका सुन्दर कविताहरू उनी पढ्छन् । यसबाट समाजको अझ गहिराइमा पुग्न सकिने बताउँछन् उनी ।
केही वर्षअघि भारतमा मुस्लिम समुदायमाथि दुव्र्यवहार बढेपछि उनले भारतीय समाज असहिष्णु बन्दै गएको बताएका थिए । उनका धारणा बाहिर आएपछि आमिरले भारत छाड्न लागेको भनी प्रचार गरियो । त्यसपछि उनले भनेका थिए, ‘मातृभूमि मेरो आमा हो । ब्रान्ड होइन । मेरी आमालाई कुनै पनि दृष्टिबाट म ब्रान्ड देख्नै सक्दिनँ ।’ त्यसपछि त्यो आरोप सेलायो । यी बौद्धिक अभिनेताको भारतबाहिर कुनै घर छैन ।
उनी विज्ञापन धेरै गर्दैनन् । एक वा दुई वर्षमा एउटा फिल्म बनाउँछन् । अवार्ड समारोहमा जाँदैनन् । अवार्ड समारोह उनलाई प्रायोजित लाग्छ । फिल्म हिट हुनुमा आफ्नो कारण मान्दैनन् । लेखक र डाइरेक्टरका कारण भएको बताउँछन् । उनी जुनसुकै ठाउँमा रोइदिन्छन् । आफ्नो इमोसन लुकाउँदैनन् । ‘म धेरै रुन्छु’, उनी सहजै स्वीकार्छन् । इमोसन लुकाउन आउँदैन भन्छन् उनी ।
मानिस खुला हुनुपर्छ । मानिसको भित्र जे छ, त्यो बाहिर देखिनुपर्छ भन्ने मान्यता राख्छन् उनी । भारतीय संस्कृतिको प्रभावबाट नेपाल मुक्त छैन । भारतीय संस्कृति दसजगा पार गरेर नेपालका घरघरमा भित्रिरहकै छ । आमिरका फ्यानहरू नेपालमा धेरै छन् । उनको नयाँ फिल्मको व्यग्र प्रतीक्षा गरेर हेर्ने दर्शकको कमी छैन । उनका सकारात्मक पक्षबाट केही सिक्न सकिन्छ । त्यसो त उनको केही दोष पनि छन् । अरूभन्दा फरक बाटो रोजेर बलिउडमा स्थान सुरक्षित राख्ने उनको भित्री योजना पनि हुनसक्छ ।
प्राय: नेपाली कलाकार घरदेखि सुटिङस्थल सुटिङदेखि घर यही ब्रह्माण्डमा घुमिरहेका हुन्छन् । समाजसँग कुनै पनि साइनो राखेको देखिन्न । नेपाली फिल्ममा समाजको असली चित्र नदेखिनु समाजसँग कलाकारको साइनो पातलिनुले हुनसक्छ । समाजशास्त्री चैतन्य मिश्रले भनेका छन्, ‘समाज बुझ्न साताको एकपटक सार्वजनिक यातायात चढ्नुपर्छ ।’ तर, हाम्रा सिनेकर्मीहरू थाहा छैन, कति दशकदेखि सार्वजनिक यातायात चढेका छैनन् ।

Facebook Comments Box

फेसबुक