२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

उनले दिएको ‘लभ लेटर’ नै मेरो जीवनको पहिलो प्रेमपत्र : अभिनेत्री निरु खड्का

अभिनेत्री निरु खड्का ‘निर्मली’ जोकोहीका लागि अपरिचित नाम भने होइन । एक समय नेपाल टेलिभिजनबाट प्रसारित टेलिसिरियल ‘मेरी बास्सै’मा ठ्यासकुमारीको भूमिका निर्वाह गरेपछि चर्चित बनेकी उनी राम्रो नृत्याङ्गना पनि हुन् ।
अहिलेसम्मको अभिनय यात्रामा थुप्रै टेलिशृङ्खला, म्युजिक भिडियो र केही चलचित्रसमेत अभिनय गरिसकेकी उनले देश विदेशका विभिन्न स्टेज कार्यक्रमको अनुभवसमेत सँगालेकी छन् ।
हाँसेर बोल्ने फरासिली स्वभावकी उनको मनमा लागेको कुरा भनिहाल्ने बानी पनि छ । त्यही बानीले उनी धेरै पटक अप्ठ्यारोमा परेकी छन् । बाहिर हिँड्दा टिपटप बनेर हिँड्न रुचाउने निरु सारीमा आफू सबैभन्दा राम्री देखिने बताउँछिन् । अहिले चलचित्रमा देखिने हिरोमा कमलमणि नेपाल, भोला सापकोटा र प्रदीप खड्का मनपर्ने बताउने उनी भविष्यमा चलचित्र निर्देशनमा उत्रिने सोच पनि रहेको छ । अभिनेत्री निरुसँग यस्तो छ, रातोपाटीको दश प्रश्नः

सौन्दर्यको ख्याल कसरी गर्ने गर्नुभएको छ ?
– घरमा रहँदा म खासै सौन्दर्यका साधनहरू प्रयोग गर्दिनँ । बाहिर पार्टी, चलचित्रसम्बन्धी लगायतका विशेष कार्यक्रममा जाँदा मात्र मेकअप गर्ने हो । यस्तो बेलामा म फाउन्डेसन, गाजल, लिबिस्टिकलगायत प्रयोग गर्ने गरेकी छु । निधारमा रातो टीका म कहिलै छुटाउँदिन । मेकअपका लागि खासै समय लाग्दैन । त्यस्तै १० मिनेटमा रेडी हुनसक्छु ।

आफूलाई फिट कसरी राख्ने गर्नुभएको छ ?
– बच्चालाई जन्म दिएको भर्खर १५ महिना भयो । त्यसैले अहिले आफूलाई फिट राख्न सकेकी छैन । अन्य समयमा म उठ्नेबित्तिकै सबैभन्दा पहिले योगा गर्ने गरेकी छु । त्यसपछि मर्निङ वाक गर्छु ।

फेसनको मामलामा कतिको अपडेट हुन मनपर्छ ?
– ठिकठिकै अपडेट छु भनौँ । मलाई सबैभन्दा राम्रो लाग्ने मनपर्ने पहिरन सारी हो । त्योबाहेक जानुपर्ने कार्यक्रम हेरेर पहिरन छनोट गर्ने गरेकी छु । ठूलो कार्यक्रम, सौहाद्रपूर्णको कार्यक्रम छ भने सारी लगाएर सरिक हुने गरेकी छु । त्यसबाहेक वान पिस र लामो कुर्ता पनि लगाउन मनपर्छ ।

नराम्रो बानी केही छ कि ?
– मानिस चिन्न सक्दिनँ । कसैले मलाई नराम्रो गर्दैछ, भने पनि म उसलाई राम्रो नजरले हेरिरहेकी हुन्छु । सबैलाई पोजेटिभ रूपमा हेर्ने बानी मेरो नराम्रो बानी हो जस्तो लाग्छ ।

गीत कति सुन्नु हुन्छ ?
धेरै नै सुन्छु । मलाई सुफी म्युजिकहरू मनपर्छ । पछिल्लो समयमा मलाई नेपाली चलचित्रका गीत सङ्गीतले पनि लोभ्याउन थालेको छ ।

कलाकारितामा लागेर पूरा गर्न नसकेको केही छ कि ?
– कलाकारितामा धेरै नाम कमाएकी छु । तैपनि ममा अभिनयप्रति त्यस्तो कन्फिडेन्ट छैन । अर्काे कुरो नाम धेरै कमाए पनि मेरो आम्दानी राम्रो छैन । यसले गर्दा कहिले काहीँ कस्तो कस्तो लाग्छ ।

कस्तो केटा आकर्षक लाग्छ ?
– केटी मान्छेलाई सम्मान गर्ने, अरूको भावना बुझेर व्यवहार गर्ने केटा मनपर्छ । मलाई फूर्ति लगाउने केटा मन पर्दैन ।

पहिलो प्रेम ?
– प्रेम गर्ने भन्ने विषयसँग म जहिले पनि डराएर बसेको मान्छे । मेरो ममी र बुबा चाँडै बित्नुभयो । यसले गर्दा मैले कुनै केटासँग प्रेमसम्बन्ध राखेँ भने समाजले चरित्रहीन भन्छ भन्ने डर मेरो मनमा थियो । यस्तो सोच भएकाले पनि कसैसँग प्रेम गर्नतिर लागिनँ । अहिले भन्नुपर्दा मेरो पहिलो प्रेम मिष्टर नरोत्तम गौतम नै हुन् । उनीसँग नै अहिले विवाह गरेकी छु । उहाँलाई पनि मैले खुलेर भन्न सकेको थिइनँ । चिनजान भएको ४ वर्षपछि मात्र प्रेमको कुरा भयो । यसो भन्दैमा मलाई प्रेमपत्र भने नआएका होइनन् । म सात कक्षामा अध्यायन गर्दैगर्दै तामाङ थरको एक केटाले लभ लेटर दिएका थिए । उनले दिएको लभ लेटर नै मेरो जीवनको पहिलो प्रेमपत्र थियो । उक्त प्रेमपत्र समाउँदा मेरो हात काँपेको थियो । म पनि डरले काँपेको थिए । आमाले थाहा पाउनुभयो भने के भन्नु होला भन्ने डर मनभरि थियो ।

मन्त्री हुने अवसर मिल्यो भने ?
-यदि यस्तो अवसर मिल्यो भने म महिला बालबालिका तथा समाज कल्याण मन्त्री हुन्छ । अहिले रहेको बलात्कारसम्बन्धी कानुन संशोधन गरेर ठूलो सजायको व्यवस्था गर्छु । अर्काे कुरा ६ वर्षमुनिका बालबालिका बलात्कार गर्नेलाई फाँसीभन्दा पनि नराम्रो सजाएको व्यवस्था गर्थें ।

-अहिलेसम्मकै दुःख ?
स्कुल पढ्दा स्कुल ड्रेस हुँदैन थियो । जाडो महिना आउँदा जाडोमा लगाउने सुइटर हुँदैन थियो । अरूले सो समय सुइटर लगाउँदा आफू काँपेर बस्नुपथ्र्योे । मेरो अवस्था देखेर मलाई पढाउने म्यामले छोरीको सुइटर दिनु भएको थियो । त्यो समय मेरो जीवनको सबैभन्दा दुःखको क्षण थियो ।
-रातोपाटी

Facebook Comments Box

फेसबुक