२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

ओमानमा बङ्लादेशी नागरिकद्वारा नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार

ओमानमा नेपाली युवतीको अपहरणपछि सामुहिक बलात्कार भएको छ । ओमानको मावेलामा बंगलादेशका ६ जना नागरिकले नेपाली युवतीको अपहरण गरी सामुहिक बलात्कार गरेका हुन् ।

उनीहरुले बलात्कारपछि हत्याको योजना बनाइरहेका बेला ओमानको प्रहरीले उद्धार गरेको छ । १६ महिना अघि घरेलु महिला कामदारको रुपमा ओमान पुगेकी उनी ८ महिना स्पोन्सरको घरमा काम गरेर भागेकी थिइन ।

उनलाई एक जना बङगाली नागरिकले राम्रो काम लगाइदिन्छु भन्दै शुक्रबार दिउँसो मस्कटबाट झण्डै २० किलोमिटर टाढा मावेलामा पुर्याएपछि अरु पाँच जना साथीलाई जिम्मा लगाएका थिए ।

शुक्रबार राती बलात्कार गरेको र शनिबार बिहान मारेर फाल्ने योजना बनाउँदै गर्दा एउटा निर्माणाधिन भवनको शौचालयबाट उनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । बलात्कारपछि घटना सार्वजनिक हुने डरले आफ्नो हत्या गर्न खोजेको पीडितले बताएकी छिन् ।

समुहमा रहेका मध्ये एक व्यक्तिले मार्नु हुँदैन भनेर भनेपछि उनीहरूबीच विवाद भएको र त्यही विवादका क्रममा भागेर शौचालयमा लुकेर प्रहरीलाई खबर गरेको पीडितको भनाइ छ । खबर गरेको २० मिनेटमा प्रहरी आउँदा बलात्कारमा संलग्न व्यक्ति भागिसकेका थिए ।

युवतीको झोलामा रहेको केही नगद पनि उनीहरुले चोरेका छन् । प्रहरीले उद्दार गरेपछि पीडित युवती एनआरएनए ओमानको सम्पर्कमा आएको अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । ‘मृत्युको मुखबाट जोगिएकी पीडित युवती अहिले प्रहरीको संरक्षणमा छिन्, अपहरणकारी फरार छन्, प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अपहरणमा संलग्न बंगाली नागरिकलाई खोजेर कारवाहीका लागि पहल गर्न नेपाली दूतावासलाई लिखित निवेदन समेत दिएका छौ ।’

घटनाबारे जानकारी पाएको र त्यसबारे थप प्रक्रिया सुरु गरेको नेपाली दूतावास ओमानले जनाएको छ ।

Facebook Comments Box

फेसबुक