कञ्चनपुर– नेपालका ७७ जिल्लामध्ये एक जिल्ला हो कञ्चनपुर । ‘कञ्चन’ को अर्थ सफा र स्वच्छ हो भने ‘पुर’ को अर्थ नगर । कञ्चन शब्दमा पुर जोडिएपछि कञ्चनपुर अर्थात् ‘सफा नगर’ भन्ने अर्थ लाग्छ ।
तर, पछिल्लो समय कञ्चनपुर एकपछि अर्को गर्दै कलङ्कित बनेको छ । कलङ्क यसकारण की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या र उक्त हत्याको झण्डै दुई महिना पुग्न लाग्दा पनि वास्तविक अपराधीको पहिचान हुन सकेकाे छैन ।
यस्तै कञ्चनपुरमा विगत दुई महिनाको अवधिमा दुई बालिकाको बलात्कारपछि हत्या र अन्य ७ जनामाथि बलात्कार भएको खबर सार्वजनिक भएको छ।
बलात्कारको श्रृङ्खला
–२०७५ साउन १
पुर्नवास नगरपालिकाकी ३९ वर्षीया महिला भैसी चराउन गएका बेला ३० वर्षीय नरेश रानाबाट बलात्कृत ।
– २०७५ साउन ४
९ वर्षीया बालिका बलात्कृत । पुर्नवास नगरपालिका ३ का २१ वर्षीय सलिम अन्सारीले घरमा कोही नभएको बेला बालिकालाई बलात्कार ।
–२०७५ साउन १०
शुक्लाफाँटा नगरपालिका ८ नौखुरीकी २० वर्षीया युवती ३२ वर्षीया बिन्तीराम चौधरीबाट बलात्कृत ।
–.२०७५ साउन १६
पुर्नवास नगरपालिका २ की १६ वर्षीया बालिका २६ वर्षीय विकास बूढाद्वारा बलात्कृत ।
–२०७५ साउन १९
भीमदत्त नगरपालिका १० जिमुवाकी ५ वर्षीया बालिका ४० वर्षीय लक्ष्मण कार्कीबाट बलात्कार प्रयास ।
–२०७५ साउन २६
देवकोट नगरपालिका ७ का ५ वर्षीय बालक किरण धामीमाथि ६६ वर्षीय धामीबाट यौन दूराचार ।
–२०७५ भदौ १७
बेलडाँडी गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार । बलात्कारको आरोपमा जनक खड्का र भानु विष्ट पक्राउ ।
–२०७५ भदौ ३०
बेल्डाँडी गाउँपालिकाका दुई जना बालिका बलात्कृत । बलात्कारको आरोपमा एकजना पक्राउ । दुई साताअघि बलात्कार गरेको भन्दै बालिकाका आफन्तले उजुरी गरेपछि प्रहरीले बेल्डाँडी–२ का ५७ वर्षीय राजेन्द्र विष्ट पक्राउ गर्यो ।
यी घटनाबाहेक अहिले सबैभन्दा चर्चामा आएको र धेरै विरोध भएको निर्मला पन्तको बलात्कार र हत्या प्रकरण हाे । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
हत्याको भोलिपल्ट उनको शव घरनजिकैको उखुबारीमा फेला परेको थियो । त्यसयता हत्यारालाई कारबाहीकाे माग गर्दै दिनहुँ अान्दाेलन र दवावमूलक कार्यक्रम हुँदै अाएपनि दाेषीकाे पहिचान भने हुन सकेकाे छैन ।
प्रदेश नम्बर ७ मा पर्ने कञ्चनपुर केन्द्रीय राजधानीभन्दा निकै टाढा छ । निर्मलाका बाबाआमाले स्थानीयस्तरबाटै न्याय नपाएपछि उनीहरु न्यायको खोजीमा काठमाडौ आइपुगेर मन्त्री र प्रधानमन्त्रीको ढोका चाहार्दैछन् ।
सोमबारमात्रै निर्मलाका बाबुआमाले न्यायको आशमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेट गरे ।
भेटमा प्रधानमन्त्री ओलीले घटना मानवतामाथिकै कलङ्क र जघन्य अपराधको भएकाले कडाइका साथ छानबिन र निर्ममताका साथ कारवाही गर्न आफू प्रतिवद्ध रहेको पीडित परिवारलाई आश्वसन दिए ।
‘घटनाको सत्यतथ्य पत्ता लगाउन समितिहरु बनेका छन् । जिल्लाका तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दीग्ध भएकाले निलम्बनसमेत गरिएको छ । पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको छ । अब अपराधी उम्कन पाउदैन’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
त्यति मात्रै होइन, प्रधानमन्त्री ओलीले प्रारम्भिक छानबिनमा त्यहाँका प्रहरीको भरपर्दा दोषी पत्ता लगाउने काममा ढिलाइ भएको स्वीकार गरे । ‘प्रहरीका अधिकृतले गल्ती वा बदमासी गरेका हुन सक्छन् तर अनुसन्धान पूरा नभइकन आरोप लगाइहाल्न मिल्दैन । त्यसैले राज्यले छानबिन गर्छ । कुनै जुलुस र धर्ना नभए पनि राज्यले कानूनी कारवाही गर्छ । दोषीलाई बचाउने कुरा सोच्न पनि सकिन्न ।’
अपराधी कहिले पक्राउ पर्छ ?
यो प्रश्न अहिलेसम्म अनुत्तरित नै छ । केही दिनअघि मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा घटनाबारे जानकारी दिँदै भनेका थिए–‘यसमा तिथिमिति तोक्न मिल्दैन ।’
गृहमन्त्री रामबहादुर थापाले भनेजस्तो अपराधी पक्राउ गर्न तिथिमिति तोक्ने पनि कुरा होइन । जहिले भेटिन्छ त्यहिवेला पक्राउ पर्छ ।
त्यसो त कञ्चनपुरमा मात्रै होइन, यसबीचमा देशभर २२५ चेली बलात्कृत भएको सार्वजनिक भएको छ । काठमाडौंमा मात्रै ४५ दिनमा ४२ जना बलात्कृत भएका छन् । प्रहरीकै तथ्याङ्कले भन्छ– ‘केन्द्रीय राजधानी काठमाडौमा दैनिक एकजनाको हाराहारीमा बलात्कार भएको छ ।’
किन हुन्छ बलात्कार ?
सांसद तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवालका अनुसार यसअघि पनि यस्ता घटना हुने गरेपनि कम मात्रामा मात्रै सार्वजनिक हुने गरेका थिए ।
डर, त्रास र सामाजिक मर्यादा कायम गर्न पनि कतिपय अवस्थामा यस्ता घटना गुपचुपमै मिलाइन्थे । तर, पछिल्लो समय यस्ता घटनाको खुलेर विरोध गर्न सक्न क्षमता जनस्तरमा बढी घटनाहरु बाहिरिन थालेको उनको बुझाई छ ।
सिलवालका अनुसार यसरी बलात्कारका घटना हुनुमा २ कारणले काम गरेको छ । पहिलो जनचेतनाको अभाव र दोस्रो प्रविधिको चरमा दुरुपयोग ।
सिलवालले यस्ता घटना न्यूनीकरण गर्न दुईवटा काम सँगसँगै गर्नुपर्ने जरुरी रहेको सिलवालको सुझाव छ । ‘देशैभर जनचेता फैलाउने र त्योसँगै अपराधीलाई कडा भन्दा कडा कारवाही हुन्छ भन्ने कुरापनि दर्शाउने । यो भयो भने केहीहदसम्म यस्ता घटनामा कमी आउछ’, सिलवालको दाबी छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाका अनुसार यसरी श्रृङ्खलावद्ध बलात्कारका घटना हुनुमा चेतना अभाव नै हो । ‘चेतनाको अभावले नै यसमा काम गरेको देखिन्छ ’ ओझाले रातोपाटीसँगको टेलिफोन सम्पर्कमा भने ‘यसको दीर्घकालिन समाधान भनेको नागरिकमा चेतना बढाउनु नै हो ।’
-रातोपाटीबाट साभार गरिएको हो