काठमाडौं, मंसिर १-न्यूनतम पारिश्रमिकलाई लिएर विवादमा पर्दै आएको कतारले आप्रवासी कामदारको न्यूनतम मासिक तलब तोकेको छ । कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (करिब २ सय अमेरिकी डलर ) तोकेको ‘दि न्यु अरब’ समाचार बेवसाइटले जनाएको छ।
आप्रवासी कामदारमाथि शोषण भएको भन्दै आलोचना खेपिरहेको कतारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको हो ।
कतारको उक्त निर्णयले कतारमा काम गर्दै आएका नेपाली श्रमिक समेत लाभान्वित हुने भएका छन् । मन्त्रालयले तोके अनुसार अब नेपाली कामदारले मासिक न्यूनतम तलब २० हजार रुपैयाँ पाउने छन् ।
कतारी श्रममन्त्री इसा अल नउमीले आप्रवासी कामदार कतारमा ल्याउने क्रममा रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम छ भने त्यसलाई स्वीकृत नगर्ने बताएका छन् ।
साथै विदेशी कामदारले न्यूनतम तलबसँगै निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा प्राप्त गर्नेछन् ।
हाललाई मन्त्रालयले तोकेको उक्त तलब अस्थायी रुपमा भएको र न्यूनतम तलब सम्वन्धी अध्ययन गरी तलबमा वृद्धि गरिने जनाएको छ । कतारी श्रममन्त्रीका अनुसार अब तलब वृद्धि गरेर स्थायी बनाउने तयारी भैरहेको जनाइएको छ ।
सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारको मागमा वृद्धि गरेपनि उचित पारिश्रमिक भने दिएको थिएन । जसले गर्दा विभिन्न अन्तराष्ट्रिय मानव अधिकारवादीले कतारको आलोचना गरेका थिए । मानवअधिकारवादी संस्थाको आलोचना पछि कतारले सन् २०१५ बाट श्रम मामिलामा सुधार गरेको थियो ।