नेपालकी एक मात्र ‘बि बोइङ गर्ल’ आश्मा विश्वकर्माको आकर्षक नाचको प्रशंसा गर्नेहरु लाख होइन करोड छन् । उनको नृत्य मात्र होइन सुन्दरता हेरेर ‘फिदा’ बन्नेहरु पनि धेरै छन् । तर, आश्माले अहिलेसम्म कसैलाई ‘ग्रिन सिग्नल’ दिएकी छैनन् ।
उसो त ‘कार्टुन्ज क्रु’ कि रानी आश्माको प्रेम सम्बन्ध मात्र होइन, वैवाहिक जीवन नै चल्ने उमेर भइसक्यो । उनको प्रेम सम्बन्ध र विवाहका बारेमा सञ्चारकर्मीहरुले मात्र होइन, घर परिवारमा समेत कुरा हुने गरेको छ । तर, सञ्चार क्षेत्र र घर परिवारको जिज्ञासालाई उसै उडाउँदै आएकी आश्मा तत्काल विवाहका बारेमा केहि नसोचेको बताउँछिन् । उनी भन्छिन्, अहिले विवाहभन्दा पनि करिअरलाई नै बढी प्राथमिकता दिइरहेकी छु ।’
सामाजिक सञ्जालहरुमा बेलाबखत आश्माको प्रेम सम्बन्धको विषयमा समाचारहरु आउने गर्छन् । उनलाई कार्टुन्ज क्रुकै कन्सेप्ट मेकर सरोज अधिकारीसँग जोडेर समाचारहरु आएका पनि छन् । तर, उनीहरु दुबैले यसलाई नकार्दै आएका छन् । उनीहरुले आफूलाई प्रेमी–प्रेमिका नभई असल साथीको रुपमा प्रस्तुत गर्दै आएका छन् ।
अहिले मिडियाहरुले पनि आश्माको प्रेम सन्दर्भका कुरा उठाउन छाडेका छन् । मिडिया मात्र होइन उनको परिवारले समेत आश्माको विवाहको कुरा उनकै हातमा छोडिदिएका छन् । अहिले आश्माको घरमा विवाहको कुरा गर्न उनकी आमा नै डराउँछिन् । तीन वर्षसम्म आफूलाई कुरेर बसेको केटालाई समेत आश्माले नाइँ भनिदिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर, उनको परिवारले आश्माको प्रेम पाउन तीन वर्षसम्म कुनै व्यक्ति को थिए भन्नेबारेमा भने जानकारी दिएनन् ।
आखिर आश्मा कस्तो युवालाई आफ्नो जीवन साथी बनाउन चाहन्छिन् त ? यो जिज्ञासाको उत्तर पाउन भने निकै लामो समय कुर्न पर्ने संकेत आश्माको भनाईबाट प्रष्ट हुन्छ । स्थायी घर धरान भएकी आश्मालाई सानैदेखि नृत्यमा सौख थियो । एक दिन आफ्नो मिल्ने साथी सुरज मगरले बी गर्ल नामक चलचित्र देखाएपछि उनलाई बी बोइङ केटीले पनि गर्नसक्ने रहेछन् भन्ने लाग्यो । उक्त नृत्य युट्युब हेर्दै सिक्न थालिन् । पछि काठमाडौं जोरपाटीमा बस्न थालेपछि कार्टुन्ज क्रुमा आबद्ध भइन् । त्यसपछि परिवारबाट पनि साथ पाउँदै गइन् । उनले आफ्नो समूहका पाँच जना साथीबाट आफ्नै परिवारको दाजुभाइ भन्दा पनि बढी साथ र सुरक्षा पाएकी छन् । बी गर्लको रूपमा परिचित आश्मा आफ्नो समूहकै माध्यमबाट विश्वमा नेपालको नाम चिनाउन चाहन्छिन् ।
समूहका सदस्य दैनिक पाँच ६ घण्टा एउटै हलमा बसेर नृत्य अभ्यास गर्छन् । त्यसैले परिवार भने पनि, साथी भने पनि एकअर्का नै हो भन्ने सबै ठान्छन् । कहिलेकाहीं साथीहरू ढिला आइपुगे सरोजले हप्काउने गर्छन् । तर, यही ठाकठुकले आफूहरूबीचको सम्बन्ध झन् गाढा बन्दै गएको उनीहरू बताउँछन् । यस क्षेत्रमा उनीहरूको कुरा काट्ने पनि छन् । तर, त्यसबाट विचलित नभई सकारात्मक रूपमा लिएर आफूलाई नै सुधार्ने कोशिस आफूले गरिरहेको आश्माले सुनाइन् । यस क्षेत्रमा लागेका व्यक्तिहरूबीच एकअर्कामा एकता हुनुपर्ने र एकले अर्कालाई सम्मान गर्ने परिपाटी बसाउनु पर्ने उनीहरूको धारणा छ ।
कार्टुन्ज क्रु सन् २०१० मा शुरु भएको हो । टेलिभिजनमा कार्टुन हेर्दा जति रमाइलो हुन्छ, त्यही अनुभूति सबैले गरून् भन्ने उद्देश्यले समूहको नाम ‘कार्टुन्ज क्रु’ जुराएको उनीको भनाइ छ । शुरुमा बी बोइङ मात्रै गर्दै आएको यो समूहले सन् २०११ मा भएको राष्ट्रव्यापी बी बोइङ प्रतियोगितामा जितेर भारतको चेन्नईमा ‘ब्याटल अफ द इयर’ मा भाग लिने अवसर समेत पायो । समूह सेमिफाइनलसम्म पुगेको थियो । सन् २०१५ मा चीनमा भएको वल्र्ड लिजर गेममा पनि १७ भन्दा धेरै देशका प्रतियोगीसँग भिडेर उनीहरू दोस्रो भएका थिए ।
सोलो ब्याटलमा आश्मा बी बोइङमा केटालाई समेत उछिनेर सेमिफाइनलमा पुगिन् । आफ्नो पहिलो कभर भिडियो जालमा युट्युबमा भाइरल भएपछि काटुन्ज क्रु निकै हौसियो । त्यसपछि उनीहरूका गीत हिट हुँदै गए । त्यसमध्ये पानी पर्यो र नाइँ मलाई थाहा छैन करोडभन्दा बढी दर्शकले हेरिसकेका छन् । कुनै पनि भिडियो सुट गर्दा उनीहरू एक अर्कासँग चल्छन्, रमाउँछन् र आफूभित्रको रमाइलोपनलाई भिडियोमा देखाउने प्रयास गर्छन् ।
-नयाँपेजबाट साभार गरिएको हो