२०८० फाल्गुन, १४
||NEWS LUMBINI |

कविता– झगडा

झगडा कुनै खेल होइन

एउटाले जित्ने अर्कोले हार्ने

न त कुनै समयको पाबन्दी नै हुन्छ

समय सकिएपछि सकिने

त्यहाँ कुनै रेफ्री पनि हुँदैन

फाउल गर्नेलाई पहेँलो र रातो कार्ड देखाउने

अथवा झगडाको मैदानदेखि निकालिदिने

न त त्यहाँ लाइन्स म्यानहरू नै हुन्छन

बिग्रेका छुद्र बोलीले सीमा नाघे

खबरदारी गर्ने

मिली पो हाल्छ कि भनि थ्रो र पेनाल्टी दिने

 

एक्लै कहिले झगडा हुँदैन

झगडा हुनलाई दुई वा दुईभन्दा बेसी हुनैपर्छ

फ्रीवेको कारपुल लेन जस्तो

आ-आफ्नो वेट समुहको

बक्सिङको रिङ जस्तो

अथवा कुस्ती, जुडो, करातेको संग्राम जस्तो

 

झगडा त

नराम्रो वचनदेखि चिच्याहटसम्मको

चोटपटकदेखि मृत्युसम्मको

अनि सुर्ताको आँसुदेखि डिभोर्ससम्मको

एउटा सानो यथार्थ हो

एउटा विशाल हकिकत हो

 

यसले आफूलाई, घरपरिवारलाई, छरछिमेकलाई

सम्पर्कमा आउने सबै भालादमी मानिसलाई

तीतो अनुभूति दिलाउँछ

सधैँभरिको लागि नबिर्साउने गरी

 

झगडा त ठूलो वैरी हो

बिगार्ने, तोड्ने, छुट्याउने

तहस नहस ध्वस्त पार्ने

माया प्रीतिलाई

नाता, सम्बन्ध र दुई प्राणको बन्धनलाई

 

त्यसैले त झगडा

भरसक नगरेकै राम्रो

मुखमुखै जवाफ नफर्काएकै राम्रो

सन्त ज्ञानीले जस्तै

एउटा गालामा हाने अर्को गाला थापेकै राम्रो

एकचोटिको जिन्दगीमा

सुर्ता गरेर आँसु नझारेकै राम्रो ।

– राकेश कार्की  (लस एन्जेलस)

अनलाइन खबरबाट

Facebook Comments Box

फेसबुक