२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

कविता : बाउ

-सुन्दर कुरूप

मान्छेहरू मरेपछि

भूत हुन्छन्

र तर्साउँछ भन्छन्

तर खै !

बाउ तिमीले त

कहिल्यै पनि

तर्साएनौ त मलाई

 

दमको दीर्घरोगी तिमी

बाख्राको टाट्नु

बनाउँदा बनाउँदै

अचानक

एउटा चिसो दिन

छाडेर गएथ्यौ यो पृथ्वी

त कुनै न कुनै

मध्यरात

ठकठक

बाँस ठोकेजस्तो

धूमिल आवाजहरू आउनु

पर्ने हो बाख्राखोरबाट

गाईगोठको पुतली छानापट्टि

झुन्ड्याइराखेको

तिम्रो पुरानो

हिरोजेट साइकल

जसलाई मायाले सुमसुम्याउनु

पनि आउनुपर्ने हो बेलाबेला

 

हरेक साँझ

तिम्रो चिहानछेउ

भएर घर फर्कने

मेरा रित्ता/रित्ता बाटाहरूले

कहिलेकाहीँ त

एउटा/एउटा

तरबार भिरेर

फर्कनुपर्ने हो,

 

बाउ ! तिम्रा असंख्य

प्रिय चीजहरू

मैसँग सुरक्षित छन् त कुनै न कुनै

मध्यरात

आँगनमा चप्पल

पड्किएजस्तो

लिस्नोमा कोही चढेजस्तो

आवाजहरू सुनिनुपर्ने हो

 

लहरै खेतका आलीहरूमा

तिमीले रोपेर छाडेका

टाँकीका रूखहरू,

बतास नाच्ने

तिम्रा सुसेलीहरू,

तिमीले बुन्दै गरेको

डोको/नाम्लो,

हलो जोत्दै

तिमीले कल्पना गरेको

एउटा देश,

साँच्चै बाउ !

तिमी त

एउटा चेतना

एउटा कला

एउटा विचार

एउटा गहिरो

जीवनको संगीत रहेछौ

 

एउटा बाउबाट

छोराले सिक्नुपर्ने

थुप्रै थुप्रै कुरोहरू

हुँदो रहेछ

 

बाउ ! तिमी बितेपछि

साँच्चै नै सुनसान/सुनसान

लागिरहन्छ गाउँघर

किन/किन

डर लागिरहन्छ यो देशमा

 

यहाँ हरेक क्षण

तर्साउन खोज्छन् मलाई

राजा/महाराजाहरूका

खुइलिइसकेका सालिकहरूले,

तर्साउन खोज्छन्

इतिहास हिँडिरहेका अक्षरहरूले

कि म निदाएजस्तो

अपरिचित हिँडिरहेछु

आफ्नै आदिम गल्लीहरूमा

 

बाउ !

तर्साउन तर्साऊ

मलाई

म हठात्

तिम्रो आँखाहरूको अनुहार बोकेर

एकपटक आँधीजस्तो

बिउँझन चाहन्छु

-अन्नपूर्णपोष्टबाट

Facebook Comments Box

फेसबुक