पछिल्लो केही वर्षयता अन्तराष्ट्रियस्तरमा सार्वजनिक भएका कर छलीका विभिन्न दस्तावेजहरुले विश्वका धनाढ्य कम्पनीहरु तथा व्यक्तिहरुले कसरी र कति कर छलि गरिरहेको छन् भन्ने खुलासा भैहरेको छ । पनामा पेपर्सदेखि प्याराडाइज पेपर्ससम्म सार्वजनिक हुँदा धेरैको निँदहराम भएको छ ।
सन् २०१४ मा धेरै ठाउँमा एउटा इमेल पठाइयो । उक्त इमेल बि्रटिस भर्जिन आइल्याण्ड, द केमन आइल्याण्ड, बर्मुडा, मरिसस, जर्सी जस्ता देशहरुमा पठाइएको थियो । यी सबै ठाउँहरु करछलीका लागि स्वर्ग अर्थात् ट्याक्स हेभेन मानिन्छन् ।
१४ वटा प्रश्नयुक्त उक्त इमेल पठाउने कम्पनीको नाम थियो एप्पल । जुन दुनियाकै सबैभन्दा धेरै मुनाफा कमाउने कम्पनी ।
ती देशहरुमा लगानी गर्दा कति कर बचत हुन्छ ? कस्ता कस्ता फाइदा हुन्छन् ? आदि प्रश्नहरु एप्पलले सोधेको थियो । अर्थात् एप्पल जस्तो अरबौँ डलर मुनाफा कमाउने कम्पनीले पनि कर छल्ने मार्गको खोजी गरिरहेको थियो ।
दुनियाभर उक्त खबर आगोसरी फैलियो । करछली गर्ने एप्पललको प्रयासको पर्दाफास भयो ।
यद्यपि एप्पल मात्र पहिलो कम्पनी होइन जसले करछली गर्ने काइदा खोजिरहेको होस् । धेरै कम्पनी तथा व्यापारीहरु यस्ता तरिकाको खोजीमा हुन्छन् । उनीहरु मरिससदेखि लिएर बि्रटिस भर्जिन आइल्याण्डसम्मका यस्ता धेरै ठाउँहरुमा लगानी देखाउँछन् जहाँ कर कम छ, वा शून्य बराबर छ ।
वास्तवमा करछली गर्नेहरुप्रति हाम्रो प्रत्यक्ष सम्बन्ध नहुन सक्दछ । तर जब त्यस्ता व्यक्ति तथा कम्पनीहरुले कर छली गर्दछन् तब त्यसको असर जनता र देशमाथि पर्दछ । देशविकासमा खर्च गर्नका लागि आवश्यक पुजीँ कम आउँछ । सरकारको आम्दानी बढाउनका लागि जनतामाथि बढी कर लाद्नुपर्ने हुन्छ ।
आखिर एप्पलजस्ता ठूला कम्पनीहरुले पनि कम कर तिर्ने कारण के हो ? किन ठूला उद्योगपति तथा कम्पनीहरु, अन्तराष्ट्रिय कानूनको फाइदा उठाएर आफ्नो आम्दानीमा लाग्ने करबाट बँच्ने उपायको खोजी गर्दछन् ?
यस विषयमा बिबिसीले खोतल्ने प्रयास गरेको छ ।
अमेरिकाका अल्बर्ट मेयर एक फोरेन्सिक अकाउन्टेन्ट हुन् । उनको जाँचबुझका कारण कैयन् मानिसहरु जेल जानुपरेको छ । जब उनले एप्पलका बहीखाता जाँच गरे, तब कम्पनीले कुनै फर्जी काम नगरिरहेको पाए । आफ्नो आम्दानीमा लाग्ने कानून बमोजिमको कर उसले तिरिहेको थियो । अमेरिकामा एप्पलले आफुले तिर्नुपर्ने सबै कर इमान्दारीतापूर्वक तिरिरहेको उनी बताउँछन् ।
तर दुखको कुरा एप्पलको आम्दानीको केवल तिस प्रतिशत मात्र अमेरिकाबाट आउँदछ । अमेरिकी कर कानून अनुसार कुनैपनि कम्पनीले आफ्नो मुनाफाको ३५ प्रतिशत कर तिर्नुप्र्दछ । तर यदि कम्पनीले अनुसन्धान र विकासको क्षेत्रमा काम गरेको भए कर छुट हुन्छ । उनका अनुसार एप्पलले अमेरिकामा गरिरहेको मुनाफाको ३१.९ प्रतिशतको हाराहारीमा कर तिरिरहेको छ ।
एप्पलको कमाईको ७० प्रतिशत हिस्सा अन्य देशबाट आउँदछ । जुन देशमा एप्पलले कमाई गर्दछ सोही देशको नियमानुसार कर तिर्दछ । कर चुक्तापछिको रकम मुनाफाको रुपमा एप्पलको खातामा जम्मा हुनछ ।
यसो हुँदापनि एप्पल कम्पनीले किन कम कर तिर्दछ त ? मेयरका अनुसार कानूनतः उसले बढी कर तिर्नु आवश्यक छैन ।
के यो पूर्ण सत्य हो त ? यदि सत्य हो भने आखिर एप्पलले किन कर बचाउने तरिकाको खोजी गरिरहेको हुन्छ त ?
कसरी गरिरहेको छ एप्पलले यस्तो ?
एप्पलले लामो समयदेखि आयरल्याण्डमा लगानी गरिरहेको छ । आयरल्याण्डमा करको दर निकै कम छ, अमेरिकाको तुलनामा एक तिहाई मात्र । अहिले आयरल्याण्डमा एप्पलका ६ हजार कर्मचारी छन् । आयरल्याण्डमा सिधा लगानीको अलावा एप्पलले आयरल्याण्डको मार्ग हुँदै अन्य देशमा भएको आफ्नो आम्दानीमाथिको कर पनि बचत गर्दछ ।
सन् १९९० को दशकमा एप्पलले आफ्ना दुई सहायक कम्पनी बनाएको थियो । ती कम्पनीको कारोबार त आयरल्याण्डमा देखाइएको थियो, तर ती कम्पनीको दर्ता कुनैपनि देशमा भएको थिएन । ती दुई सहायक कम्पनीसँग नै एप्पलको बौद्धिक सम्पत्ति अधिकार छ । अर्थात् एप्पलका ती दुई कम्पनी नै उसका सबैभन्दा मूल्यवान सम्पत्तिका मालिक हुन् । ती कम्पनी आयरल्याण्डमा क्रियाशील छन् तर कुनैपनि कर तिर्नुपर्दैन ।
आयरल्याण्डको कर कानूनमा एउटा तरिका छ, जसको नाम हो डबल आइरिस । अर्थात् कुनैपनि कम्पनीले आयरल्याण्डमा दर्ता भएर बाहिर कारोबार गर्न सक्दछ । आयरल्याण्डमा दर्ता भएको कम्पनीले अन्य देशमा कारोबार गर्दा आयरल्याण्डाम कुनै कर तिर्नुपदैन । आयरल्याण्डको यो कानूनको एप्पलले भरपूर फाइदा उठायो ।
आयरल्याण्डमा रहेका सहायक कम्पनीहरुको माध्यमबाट एप्पलले मोटो रकम मुनाफा आर्जन गरिरहेको थियो । अन्य देशहरुबाट भएको आम्दानीलाई पनि उनै सहायक कम्पनीको आम्दानी देखाइदिएको थियो र कर तिर्नबाट जोगिइरहेको थियो ।
केही वर्षपछि युरोपेली युनियनले एप्पलको उक्त चलाखीको पत्तो पायो । युनियनले यसमा जाँच गर्यो । त्यसपछि पत्ता लाग्यो की एप्पलले आयरल्याण्डमा आफ्नो कुल आम्दानीको एक प्रतिशत पनि कर तिरिरहेको छैन । यसबाट एप्पलले झण्डै १३ अर्ब युरो बराबरको कर जोगाएको थियो । अहिले यो मुद्दा युरोपेली अदालतमा रहेको छ ।
एप्पलको यो चलाखीको पोल खुलेसँगै आयरल्याण्डले डबल आइरिस कानून खारेज गर्यो । आयरल्याण्डको उक्त कदमपछि एप्पलले कर छलीगर्ने अन्य ठाउँहरुको खोजी सुरु गर्यो । जसको पहिलो प्रयासस्वरुप उसले ती तमाम देशहरुमा एकसाथ माथि उल्लेखित इमेल पठाएको थियो ।
एप्पलले आफ्नो आम्दानीको २१ प्रतिशतका दरले कर तिरिरहेको दाबी गर्दै आएको छ । तर जानकारहरुका अनुसार उसले केवल ५ प्रतिशतमात्र कर तिरिरहेको छ । एप्पलले अमेरिकी कानून अनुसार कर तिर्नका लागि केही रकम बचत गरेर राखिरहेको र यसलाई आफुले बढी रकम कर तिरेको प्रमाणको रुपमा पेश गर्ने गरेको बताइन्छ ।
तर यहाँ पनि झेल छ । एप्पलले विदेशमा भएको मुनाफाको रकम अमेरिका ल्याउँदैन । जब अमेरिका मुनाफाको रकम नै आउँदैन भने त्यसमा एप्पलले कर तिर्नुपर्ने कुरा भएन ।
विज्ञहरुका अनुसार एप्पलसँग अमेरिका बाहेकका देशहरुमा भएको मुनाफाको २५० अर्ब डलर रकम रहेको छ । उक्त रकम अमेरिकाको नेवादामा रहेको छ । एप्पलको हेज फण्डमा उक्त रकम लगानी गरेर राखिएको छ । एप्पलले आफ्नो विदेशको कमाई अमेरिकामै आफ्नै कोषमा जम्मा गरेर राखेको छ । तर पनि अमेरिकी सरकारले उक्त रकम छुन पनि सक्दैन । किनकी सो रकम कानूनतः एप्पलका विदेशी सहयोगी कम्पनीहरुको रकम हो ।
एप्पलले अमेरिकी कर कानूनको कमजोरीको फाइदा उठाइरहेको छ । अमेरिकी कर कानूनको प्रावधान अनुसार अमेरिकी कम्पनीहरुले विदेशमा भएको आफ्नो आम्दानीको रकम आफुले चाहेको बेलासम्म स्वदेशमा नभित्र्याउन स्वतन्त्र छन् । एप्पल जस्ता कम्पनीले उक्त रकम अमेरिका भित्राउने कुरालाई अनन्तकालसम्म लम्बाउन सक्छन् ।
जब उनीहरुले उक्त रकम अमेरिका ल्याउने औपचारिक निर्णय गर्दछन् तब उनीहरुले ३५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । त्यसैले विदेशी आम्दानीलाई अमेरिका नभित्राएर अरबौँ डलरको करबाट जोगिइरहेका छन् ।
के गर्दैछ ट्रम्प प्रशासन ?
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कर कानूनमा व्यापक सुधार गर्दैछन् । कम्पनीहरुका लागि करको दर ३५ बाट घटाएर २० मा झारिँदैछ । यसले एप्पलको करको बोझ कम हुनेछ ।
साथै ट्रम्प सरकारले कम्पनी तथा व्यक्तिहरुले विदेशमा गरेको आम्दानीमा एक पटक करछूट गर्ने कुरामा पनि विचार गरिरहेको छ । उक्त आम्दानीमा १० प्रतिशत मात्र कर लगाइनेछ । यदि सरकारले यसो गर्यो भने त एप्पल जस्ता कम्पनीहरुलाई निकै हाइसन्चो हुनेछ ।
कम्पनीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा करछली रोक्ने एकमात्र तरिका छ । विश्वभरका देशहरु एकजुट हुने । करको नियम यस्तो होस् कि कुनैपनि कम्पनी एक देशको मुनाफा अर्को देशमा देखाउन नपाओस् ।
दुईपटक अर्थशास्त्रमा नोबेल पुरस्कार जितेका अमेरिकी अर्थशास्त्री जोसेफ स्टिगलित्जका अनुसार कम्पनीहरुले करछली गर्ने सीप सिकिसकेका छन् । कम्पनीहरुले सुरुमा कर छलीगर्ने तरिका सिकिसकेपछि मात्र नयाँ प्रडक्ट बाहिर ल्याउँछन् ।
जोसेफ जस्तै अर्थशास्त्रीहरु मिलेर करछली रोक्नका लागि एक अन्तर्राष्ट्रिय आयोग बनाएका छन् । बहुराष्ट्रिय कम्पनीहरुको करछली रोक्ने तरिकाको खोजी गरिरहेका छन् उनीहरु ।
क्यानडा तथा स्वीट्जरल्याण्डजस्ता देशहरुले आफ्नो कानूनमा परिवर्तन गरेर कम्पनीहरुलाई सही तरिकारले कर तिर्न बाध्य पारिसकेका छन् । अमेरिकाले पनि यसका लागि आफ्नो कानूनमा परिवर्तन गरिसकेको छ । र यसका लागि अझै धेरै गर्न बाँकी रहेको जोसेफ बताउँछन् ।
तर प्रश्न यो हो की के धेरै देशहरु मिलेर एप्पलजस्ता कम्पनीहरुको चलाखीमा लगाम लगाउलान् ?
यसमा राजनीतिक इच्छाशक्ति आवश्यक रहेको जोसेफको भनाई छ । एप्पलजस्ता कम्पनीहरु मुनाफाको लोभमा अन्धा भैसकेको तर्क उनको छ ।
तर वास्तवमा कुरा के हो भने कमजोरी कानूनमै छ । आफ्नो देशमा वैदेशिक लगानी बढाउने नाउँमा धेरै देशले एप्पल जस्ता कम्पनीहरुलाई खुल्ला ठगी गर्ने मौका दिइरहेका छन् । उनीहरुले ट्याक्स तिर्दैनन्, किनकी कानूनले नै छुट दिएको हुन्छ ।
धनाढ्य तथा कम्पनीहरुले कर छली गर्दा नोक्सानी हामीलाई हो । हाम्रो भलाईका लागि सरकारले गर्ने खर्चका लागि सरकारसँग पैसा हुँदैन । आम जनतामाथि करको बोझ थपिन्छ ।
नोबेल पुरस्कार विजेता जोसेफ स्टिगलित्ज भन्छन् कि अब यसमा लगाम लगाउने बेला आएको छ ।