२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

काँग्रेस महासमितिमा उठेका प्रमुख ८ मुद्दा : नेताको कार्यशैलीदेखि हिन्दु राष्ट्रसम्म !

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको बहुप्रतिक्षित महासमिति बैठक मङ्सिर २८ गतेदेखि काठमाडौँमा जारी छ । सुदूरपूर्वदेखि सुदूरपश्चिमबाट सङ्घीय राजधानी काठमाडौँमा भेला भएका करिब २ हजार काँग्रेसजन काँग्रेसको आगामी कार्यदिशा कस्तो हुने भन्ने छलफलमा व्यस्त छन् । 

सिंहदरबारको छेवैमा रहेको यगम्बर पार्टी प्यालेसमा मङ्सिर २९ गतेबाट सुरु भएको महासमिति बैठकले काँग्रेसको आगामी भाग्य र भविष्य निर्धारण गर्ने सो पार्टीका नेता कार्यकर्ताको विश्वास छ । महाधिवेशनपछि सर्वोच्च निकाय मानिएको काँग्रेस महासमिति बैठकले पार्टीमा नवीन ऊर्जा ल्याउनुका साथै वर्तमान राजनीतिक अवस्थाको मुकाविला गर्न सक्ने सामथ्र्य राख्ला या नसक्ला भन्ने प्रश्नसमेत उब्जिएको छ, जसका लागि पार्टीमा दरिलो एकताको आवश्यकता रहेको बैठकमा सहभागी महासमिति सदस्यहरूले औँल्याइसकेको छन् । उनीहरूको चासो र चिन्ता पार्टी चरम गुटबन्दीले थला परेकोमा नै बढी भेटिएको छ ।

महासमिति बैठकबाट परिमार्जित हुन लागेको नीति सँगसँगै काँग्रेसी नेताको व्यवहार र कार्यशैलीमा  पनि परिवर्तन आउनुपर्ने नेता कार्यकर्ताका दबाब छ । महासमितिको बैठकमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा धेरै विषयमा छलफल हुने भए पनि खासगरी आठवटा मुद्दा प्रमुखताका साथ उठेको बताए ।

यस्ता छन् प्रमुख आठ मुद्दा

–काँग्रेसका लागि रगत पसिना बगाएर पनि अन्यायमा परेका काँग्रेसजनको संरक्षणमा पार्टीको भूमिका प्रभावकारी बनाउनुपर्ने ।

–काँग्रेस भएकै नाउँमा माओवादी आन्दोलनमा परिवारका सदस्य गुमाएकाहरूप्रति गर्नुपर्ने व्यवहार ।

–स्वदेशमा आफ्नो भविष्यको सुनिश्चितता नपाएर खाडी मुलुकमा ५० डिग्रीको तापक्रमा श्रम बेचिरहेकाहरूप्रति काँग्रेसको धारणा ।

–सपनाको स्वर्ग नै भेटिन्छ भनेर कम्युनिस्ट पार्टीलाई भोट दिएको तर जसले पसिनाको स्वर्ग त  भेटेनन् भेटेनन्, सरकारसमेत नभेटेका आम नेपाली मतदाताहरूको जीवन स्तर ।

–प्रधानमन्त्रीको तस्बिर बिजुलीका पोलमा टाँस्न हुने, न्यायको माग गर्दै निर्मला नाम गरेकी एक नेपाली चेलीको तस्बिर टाँस्दा च्यात्नुपर्ने ? न्यायको भीक माग्दा सरकारको दमनमा पेरकाहरूको विषय  ।

–संविधानको छहारीमुनि आउन चाहेका मधेसबासी नेपाली जनताप्रतिको दृष्टिकोण ।

–प्रधानमन्त्रीको आलोचना गरे थला पार्ने चेतावनी खेप्ने गरेका बौद्धिक वर्गबारेको धारणा  ।

–    स्वदेशमा बेरोजगार रहेका युवाको व्यवस्थापन ।
प्रवक्ता शर्माका अनुसार माथिका ८ माग सम्बोधन गर्ने महासमिति बैठकको प्रयास हुनेछ ।

‘नीति मात्र होइन नेतृत्वको कार्यशैली फेर्नुपर्छ’

हालसम्म महासमिति बैठक बोल्ने अधिकांश वक्ताले मुख्य एजेन्डाका रूपमा रहेको पार्टीको विधान संशोधन मस्यौदा बैठकमा पेश नएकोप्रति आक्रोश व्यक्त गरे । उनीहरूले नेताहरूको आआफ्नै  स्वार्थका कारण आफूहरू प्रमुख एजेन्डाबाट विमुख हुने अवस्था आएको भन्दै चिन्तासमेत जनाएका छन् ।

सङ्घीयताको मोडलअनुसारको नयाँ संरचनाबाहेक अन्य क्षेत्र संशोधन आवश्यक नभएको भन्दै नेताहरूलाई धेरै विवाद नगर्न उनीहरूले सुझाएका छन् । उनीहरूले विधान समस्या नभई कार्यान्वयन गर्न नसक्ने नेतृत्व क्षमताको समस्या भएको दाबीसमेत गरेका छन् । पार्टीका प्रमुख नेताहरूबीचको खिचातानीले बैठक सुरु भएको दोस्रो दिनसम्म पनि विधान मस्यौदामा सहमति जुट्न सकेको छैन ।

आज विधान मस्यौदा पेश हुने 

असहमतिमा सहमति खोजेर सोमबारको बैठकमा विधान मस्यौदा पेश गर्ने पार्टी नेतृत्वको तयारी छ । त्यसका लागि आइतबार बसेको शीर्ष नेताको बैठकले आठ पदाधिकारी राख्ने सहमति गरेको छ भने निर्वाचन प्रकृयाबारे सहमति जुटाउन सोमबार बिहान बैठक बसे पनि सहमति भइसकेको छैन । आइतबारको बैठकमा सहमहामन्त्री प्रकाशरण महतले आर्थिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले सङ्गठनात्मक प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवले कोषाध्यक्षको प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उपसभापति विमलेन्द्र निधिले शनिबारै राजनीतिक प्रस्ताव पेस गरेका थिए । ती सबै प्रस्तावमाथि बोल्न प्रतिनिधिहरूलाई ४ मिनेटको समय दिइएको छ ।

केन्द्रीय कार्यसमितिले प्रदेशस्तरीय समूह बनाएर छलफल गर्ने तय गरेको थियो । प्रतिनिधिको सङ्ख्या धेरै र ठाउँसमेत अभाव भएका कारण सम्भव नभएपछि सामूहिक रूपमा प्रस्तावहरूमाथि आआफ्नो धारणा राख्ने व्यवस्था मिलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बैठकमा सङ्घीय संसदको प्रतिनिधित्व नछुट्ने गरी १ सय ६५ जना बोल्ने व्यवस्था गरिएको छ । बोल्न चाहने कतिपयका लागि त्यसबाहेक पनि व्यवस्था रहेको उनले बताए । सहभागीहरूले बृहत्तर पार्टी एकताका लागि नै मुख्य जोड दिएको शर्माको दाबी छ ।

एजेन्डा विधान मस्यौदाको, छलफल हिन्दु राष्ट्रको !

काँग्रेसको कुम्भ मेला मानिने महासमिति बैठकको मुख्य एजेन्डा हो– विधान मस्यौदा पारित गर्ने ।

मुलुक सङ्घीयतामा गएको लामो समय भइसक्दा पनि काँग्रेसले आफ्नो विधान तयार गर्न र कार्यान्वयन गर्न नसक्दा अहिलेसम्म काँग्रेस केन्द्रीकृत पुरानै विधानअनुसार चलिरहेको छ ।

काँग्रेसलाई सङ्घीय संरचनामा बदल्न नयाँ विधान मस्यौदा गरेर केन्द्रीय समिति हुँदै महासमिति बैठकले अनुमोदन गर्ने र कार्यान्वयनमा लैजान काँग्रेसले मङ्सिर २९ गतेबाट काठमाडौँमा महासमिति बैठक डाकेको हो । तर औपचारिक रूपमा महासमिति बैठकको बन्दसत्र सुरु भएको दोस्रो दिनसम्म पनि महासमिति सदस्यहरूले विधानको मस्यौदा देख्न पाएनन्, जसका कारण उनीहरूले बैठक हलमा ‘विधान खै ?’ भनेर माग नै गर्नुपर्यो ।

सोमबारको बैठकमा त महासमिति सदस्यहरूले विधान माग्दै होहल्ला नै गर्न थालेपछि बैठक अघि बढ्न सकेन, जसका कारण कार्यक्रम सञ्चालक रहेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा विधान ल्याएपछि बैठक पुनः सुरु गर्ने भन्दै २ घण्टाका लागि स्थगित गर्न बाध्य बने ।

बैठकमा विभिन्न प्रतिवेदनहरूमाथि छलफल गर्न आइतबारबाट बन्दसत्र सुरु भयो । आइतबारै राजनीतिक, आर्थिक, साङ्गठानिक र लेखा प्रतिवेदन पेश भए । चार प्रतिवेदन पेश भएपछि त्यसमा महासमिति सदस्यहरूले आफ्नो धारणा राख्न सुरु गरे । आइतबारको छलफलमा सहभागी धेरै महाधिवेशन प्रतिनिधिहरूले विषयवस्तुमा केन्द्रित भएर भन्दा पनि अन्य कुरामा आफ्ना धारणाहरू राख्न सुरु गरे । उनीहरूले पार्टीभित्रको गुटउपगुटको विरोधदेखि नेतृत्वको कार्यशैली परिवर्तन गर्नुपर्ने मात्रै नभएर बैठकको एजेन्डा नै नभएको हिन्दु राष्ट्र घोषणाको विषयलाई समेत प्राथमिकता दिए । बैठकस्थल बाहिर हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाइएको छ । जसमा निर्वाचत १२ सय प्रतिनिधिमध्ये सोमबारसम्म झण्डै ८ सय प्रतिनिधिहरूले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको प्रतिनिधि राजुराज जोशीले बताए ।

-रातोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक