२०८० असोज, १७
||NEWS LUMBINI |

केटा खोज्ने जिम्मा साथीलाई दिएकी छिन् नम्रताले

नम्रता सापकोटाको दुई जना मिल्ने ‘साथी’ छन् । सभ्यता सापकोटा र श्वेता खनाल । सभ्यता आफ्नै दिदी हुन् । श्वेता चाहिँ पारिवारिक साथी हुन् ।

उनीहरुको उमेर पनि मिल्दो छ । श्वेता र नम्रताको परिवारबिच पहिलेदेखि नै सम्बन्ध थियो । एक अर्काको घरमा आउने जाने क्रममा भेटघाट भयो । त्यसपछि साथी । स्कुल एउटै पढे । तर, श्वेता नम्रताभन्दा एक कक्षा सिनियर हुन् । तैपनि दोस्ती मज्जाले चम्कियो ।

नम्रता भन्छिन् ‘स्कुल आउजाउ सँगै गथ्र्यौ । टिफिन टाइममा खाजा पनि सेयर गरेर खान्थ्यौ ।’

अहिले उनका दुबै साथी अमेरिकामा छन् । हरेक दिन कम्तिमा आधा घण्टा कुरा गरेर दोस्ती निभाउँछन् । फोनमा ठाकठुक पर्ने कुरै भएन । यहीँ हुँदा चाहीँ पथ्र्यो । नम्रताको भनाई अनुसार ठुलो विषयमा होइन । सपिङ जाँदा वा फिल्म हेर्न जाँदा कता भन्नेमा विवाद हुन्थ्यो । तर, आजसम्म झगडा गरेको र नबोलेको रेकर्ड छैन ।

साथीहरुबीच सरसापटी मज्जाले चल्छ तर, हिसाब राख्ने चलन छैन । तीनजना मध्ये जसलाई पैसा चाहियो उसले माग्ने चलन छ । तर, कति दिएँ भनेर हिसाब गर्दैनन् । तीन मध्ये सबैभन्दा धेरै आफैंले लिएको बताइन् ।

‘धेरै पैसा लिने त मै पर्छु । उनीहरु अमेरिकामा छन्, बेला बेलामा पठाइदिन्छन्,’ उनले भनिन् ।

तीनमध्ये श्वेताको विवाह भैसकेको छ । श्वेताको श्रीमानसँग पनि राम्रो सम्बन्ध छ उनीहरुको । विवाहपछि श्वेता अलि म्याचुअर्ड भएको अनुभव गरेकी छिन् नम्रताले ।

श्वेताले वेला वेलामा नम्रतालाई भन्दिरैछन्, अब बिहे गर । नम्रताले भन्छिन् ‘त्यसो भए केटा खोज्दे न त ।’ तीनै जनाले एकअर्कालाई तँ भनेर सम्बोधन गर्ने गरेका छन् ।

पारिवारिक भ्रमणको क्रममा संगै यात्रा र घुमफिर धेरै गरेपनि तीन जना साथीहरु मिलेर लामो यात्राको अवसर गर्ने अवसर जुरेको रहेनछ । तर, उपहार आदान प्रदान मज्जैले हुन्छ । जन्मदिनमा विशेष उपहार दिन्छन् । उपहार धेरै पाउने चाहीँ नम्रता नै हुन् ।

‘अमेरिकाबाट कोही आउँदा मलाई केही न केही पठाइदिएकै हुन्छन्,’ नम्रताले भनिन् । नेपालमै हुँदा उनीहरु एक अर्काको लुगा साटेर लगाउँथे । ठ्याक्कै ठिक नभए पनि मिलाएर लाउने चलन हुन्थ्यो ।

नम्रता दावीका साथ भन्छिन् ‘तीनै जना मिलेर अहिलेसम्म कुनै बद्मासी गरेको छैन ।’
-अनलाइनखबर

Facebook Comments Box

फेसबुक