२०८१ असोज, ३०
||NEWS LUMBINI |

गीत गाएर कल्लार्इ सुनाउने?

७६ वर्षे कुमार बस्नेतसँग अहिले नयाँ प्रोजेक्ट छैन। तर, लोकसंगीतमा लामो समयदेखि चिन्ता गरिरहेका उनी उस्तै नित्य र सदावर्ती लाग्छन्। उनको जीवनको एउटै सार छ- लोकगीत अनि लोकगीत। अनामनगरमा भेटिएका उनलाई अहिले पनि कतै मादल बजेपछि गीत गाउँगाउँ लाग्छ। सहरको भीडमा बसेर आफ्नै गीत ‘धनकुटा हिले’ सम्झिरहेका उनी पछिल्ला दिनमा मिडियाले आफ्ना गीत नबजाएकोमा निकै दुःखी छन्। नयाँ एल्बम प्रकाशन गर्ने सोच बिस्तारै सेलाउँदै छ। ००८ सालदेखि गायनमा समर्पित बस्नेत नेपाली लोकसंगीतका ‘ब्रान्ड’ हुन्। ‘आमाभन्दा छोरी तरुनी’, ‘धनकुटा हिले’, ‘भात जति खाए नि’, ‘लैबरी लै’ जस्ता उनका गीत नेपाली लोकसंगीतका खास सम्पत्ति हुन्। गीतमा फेरिँदै गएको ट्रेन्ड, अहिलेका लोकगीत र गीतको बजारमाथि केन्द्रित भएर उनीसँग रामकला खड्काले कुराकानी गरेकी छन् :

सिनेमामा आइरहेका ‘लोक’ फ्लेवरका गीतले लोकगीतको मर्म मासिरहेको भनिन्छ। तपाईंलाई कस्तो लाग्छ ?

म धेरै ठाउँमा घुमेको र हेरेको छु। मादल बज्ने एउटा लोकगीत सुनेपछि मानिसले दंग परेर सुन्छन्। चाहे जापान जानुस् वा अमेरिका। मानिसले लोकगीत नै मन पराएका छन्। तर लोकगीत भन्नेबित्तिकै गाइने, घाँस काट्ने, भैंसी चराउनेहरूको गीत भनेर हेलाँको दृष्टिले हेरिरन्छ। त्यसैले गर्दा पनि लोकगीतलाई माथि उठ्न दिइएको छैन। तर आम श्रोताले लोकगीत नै मन पराइरहेका छन्। सिनेमामा आइरहेका ‘लोक’ फ्लेवरका गीतले लोकगीतको मर्मलाई मासिरहेको छ भन्ने त मलाई पनि लाग्छ। तर अहिले जसले जे गरे पनि हुन्छ। कसले कसलाई के भन्ने ?

लोकगीतले ‘बौद्धिक’ ठानिने र पढालेखा वर्गलाई समाउन नसकेको हो ?

हाम्रोमा एउटा कमजोरी छ, नजिकको देउता हेलाँ। अहिले नेपालमा मेचीदेखि महाकालीसम्मका दर्शकले ९० प्रतिशत विदेशी च्यानलहरू हेरेर मक्ख छन्। एउटा कमजोरी हामी कलाकारमा पनि हुन सक्छ। तर आम बुझाइ नेपाली कलाकार फुटपाथे र काम नलाग्ने गायक भए। अरूलाई चाहिँ ठूलो बनाइयो।

तपाईं लोकगीत खोज्न महिनौंसम्म गाउँ चहार्नुहुन्थ्यो। अहिले सहरभित्रको कुनै गल्लीमा हार्मोनियमको स्केलबाट लोकगीत निस्किन्छ। यसमा तपाईंको टिप्पणी ?

यसलाई जेनेरेसन ग्याप भन्न सकिन्छ। पुराना बाबुबाजेहरू त बितेर गए। उनीहरूले गरेका कामलाई संरक्षण र संवद्र्धन गरी त्यसलाई प्रचारप्रसारमा ल्याउने काम हामीले गर्दै गरेनौं। त्यो नगरेसम्म हामीले लोकगीत कहाँबाट पाउने ? लोकगीत संकलन गर्न जाँदा हामीसँग पैसा हुँदैनथियो। गाउँमा गएर गीत सिक्दा, गीत सिकाउनेलाई सित्तै गाउन लगाइन्थ्यो। अनि फेरि उसैको घरमा भात खाएर हिँड्थ्यौं। त्यो पाप पनि गरियो। सिकेर आउनेबित्तिकै त गीत बन्दैन। त्यसलाई म्युजिक हाल्नुपर्‍यो र रेकर्डिङ गर्नुपर्‍यो। धेरै दुःख गरियो।

गीत संकलनको क्रममा गायक भनेर आफ्नो परिचय पनि खुलाउनुहुन्थ्यो कि ?

म फलानो गायक भन्यो भने त झन लाजले सिकाउँदैन थिए। त्यसैले साधारण भएर गयो। नमस्कार गर्‍यो र राम्रो कुरा गर्दै उनीहरूलाई गीत गाऊँगाऊँ लाग्ने वातावरण आफैंले सिर्जना गर्नुपथ्र्यो।

लोकगीत गाएर कति कमाइयो ?

पहिले रिल क्यासेटको जमानामा ५० हजारभन्दा बढी लोकगीतका एल्बम बिक्री हुन्थे। अहिले ‘चिप्स’को समयमा स्वाट्टै घटेको छ। वर्षभरि मेहेनत गरी गाएको गीतलाई अर्काले चोरेर बिना स्वीकृति युट्युबमा हाली पैसा कमाउँदैछन्। यस्तो तालले कलाकार बाँच्दैनन्। अहिले कलाकारले गीत गाउनुभन्दा बारी खन्न, ढुंगा बोक्न वा ज्यामी काम गर्न गए पनि हुन्छ।

लोकगायकबाहेक तपाईंको थप परिचय ?

मैले सञ्चयकोषमा २८ वर्ष जागिर खाएर निस्केको हुँ। त्यसैले गायन मेरो पेसा होइन, रहरै रहरले गरेको मात्र हुँ। श्रोताले माया गरे, सफल भइयो। तर हेप्नेहरू पनि कम भएनन्। बाजा लिएर मेरो बहिनीको विवाहमा आइजसमेत भने। यही हेपाइले मैले ‘दिउँला यो जोवन तिमीलाई नै दिउँला’ भन्ने आधुनिक गीतमा पनि हात हाल्नुपर्‍यो। यो गीत सुपरहिट पनि भयो। यसपछि मैले आधुनिकलाई पनि निरन्तरता दिएँ। अहिले चाहिँ धेरै वर्ष भयो, म लोकगीतमै छु।

आफ्नो नामको सन्तुष्टि कत्तिको मिलेको छ ?

संसारभरिका नेपालीले मलाई चिन्छन्। उपलब्धि भनेकै नाम त भयो नि। तर, अरू देशको कलाकारका अगाडि हामी के हौं र ? फुटपाथमा हिँड्नुपर्छ। अरू देशका कलाकार हिँडेपछि १०, १५ वटा मोटरगाडी अगाडिपछाडि हुन्छन्। मैले २०१८ सालमा गीत गाउँदा अनामनगरमा जग्गा रोपनीको दुई सय रुपैयाँ थियो। मैले एकपटक कलकत्ताको हिज मास्टर भ्वाइस कम्पनीमा गीत रेकर्डिङ गराउन जाँदा पाँच लाख खर्च गरेँ। मूर्ख त म नै भए नि। के पाएँ त ? तर पनि जनताले मलाई आदर गरेको र संसारभरिका नेपालीले माया गरेको देख्दा गौरव लाग्छ। कहिलेकाहीँ खल्तीमा पैसा भएन भने गल्ती गरेछु भन्ने लाग्छ। रानीपोखरीमा पानी भए त्यहीँ गएर हाम्फालेर मर्थें जस्तो लाग्छ।

‘आमा भन्दा छोरी तरुनी’ जस्ता तपाईंका गीतलाई छाडा भनिन्छ नि ?

महिला भनेका हाम्रा दिदीबहिनी र आमा पनि हुन्। हामीले उनीहरूको आदर सम्मान गर्नुपर्छ। सिनेमामा नायकले नायिकाको म्वाइँ खाएको पनि त देखिएको छ नि। त्यस्तो चाहीँ पच्यो। तर, मेरो गीतको शब्द पचेन। मैले नेपालीपनको गीत गाएको हुँ। अब कसैलाई पच्दैन भने म जवाफदेही हुन पनि सक्दिनँ। गाउँघरमा त्यतिबेला न रेडियो थियो, न टेलिभिजन। विवाह व्रतबन्ध, मेलापातमा गाउने गीत हामीले टिपेर गाइदियौं। त्यो चाहिँ कसरी छाडा ?

लोकदोहोरीमा पहिलेजस्तो माटोको गन्ध पनि पाइँदैन। यसो हुनुको मुख्य कारण ?

म स्पोर्ट्स काउन्सिलमा हुँदा तीन वर्ष दोहोरीमा काम गरेँ। त्यतिबेला हेटौंडामा भएको २९औं नगर खेलकुद कार्यक्रममा हामीले प्रत्यक्ष बसेर दोहोरी गाएका थियौं। अहिले व्यापारीकरण भयो। यसलाई खराब भन्न मिल्दैन। कमसेकम हाम्रो लोकभाकामा गाइरहेका त छन्। लोकदोहोरी रात्रिजीवनको मुटु मानिने ‘दोहोरी सा“झ’हरूमा बढी घन्किन्छ।

दोहोरी किन यतिबिघ्न सस्तो र बजारिया बन्दै गएको ?

पहिले राष्ट्रले आयोजना गथ्र्यो। अहिले होटेल रेस्टुराँमा लगेपछि व्यापारीकरण भयो। गाउ“बाट सपनाको भारी बोकेर सहर पस्ने नवयुवायुवतीहरू दोहोरी सा“झमा ज“ड्याहाको फर्माइसमा कम्मर मर्काउ“छन्। पहिले हामीले गाउँदा त केटी नै निस्केका थिएनन् नि बजारमा। लोग्ने मानिसले जे भने पनि हुने, केटीले भन्न पाएका थिएनन्। अहिले कमसेकम बहिनीहरूको वेदना पनि त सुन्न पायौं नि। दिदीबहिनी जिस्क्याउनु वा बेइज्जत गर्नु राम्रो होइन। तर उनीहरूले नेपाली लोकभाकामा गाइरहेका छन् नि। त्यसलाई के बात लगाउने ? सबैभन्दा ठूलो समस्या गरिबी हो। यही कारण त्यहाँ पुग्छन् दिदीबहिनी।

झलकमान गन्धर्वका गीतमाथि तपाईंको विश्लेषण के छ ?

भयंकर राम्रा। उनको गीतमा वेदनाहरू झल्कन्छन्। हाम्रो देशको परम्परागत, सांस्कृतिक, आर्थिक पक्षहरू समेटिएका गीतहरू जस्तै ‘आमाले सोधिन् खै छोरा भन्छिन्’ जस्ता धेरै राम्रा छन्। तर हिजोआज बज्दै बज्दैनन् के गर्नु।

‘गेट’, ‘भेट’, ‘लालीओठ’, ‘ससुराली’ ‘साली-भेना’ जस्ता केही शब्द छन्, जो लोकदोहोरीमा सधैं दोहोरिन्छन्। यस्ता शब्दबिना गीत गाउनै सकिन्न र ?

हाम्रो संस्कृतिको पक्षहरू हुन् यी। विदेशी त अपनाएको होइन नि। जिस्क्याउने जिस्कने कुराहरू हुन्। पहिले त रमाइलो गर्ने साधन केही थिएन। केटाले जिस्क्याए, केटीले त्यसको जवाफ दिन्थे गीतमार्फत। व्यवहारमा नहोला, तर साली कसको भन्दा भेनाको भन्ने त पहिलेदेखि चलेको चलन हो नि। यसलाई म सिरियस ठान्दिनँ। नयाँ शब्दको खोजी त गर्नैपर्छ। ‘बनेपामा गेट, मुग्लिनमा गेट’ जता पनि गेटै गेट यो चाहिँ बुद्धि नपुगेकै हो। लोकदोहोरीमा भावभंगीमा, लालित्य र अर्थमात्र भएर पुग्दैन, नया“ विषय र नौलो बिम्बहरूको मियोमा पनि घुम्न सक्नुपर्छ।

नेपाली लोकगीतको विकासक्रम र स्तरलाई कसरी हेर्नुभएको छ ?

म बाँचेको हुनाले यो प्रश्न मलाई सोध्नुभयो। म पनि जानैपर्छ, अब कति वर्ष बाँचौंला र ? यो जटिल र सोचनीय कुरा हो। म आफूले आफूलाई ‘गाइने’ भनेर हेरेको छु। म कुनै महान् व्यक्ति हुँ भनेको छैन। यो जनताले भन्ने हो।

पुराना र अहिलेका नवप्रवेशी लोकगायक पुस्तामा अन्तर के छ ?

अन्त ‘ओल्ड इज गोल्ड’ भन्छन् तर यहाँ ‘वल्ड इज गन’ भन्छन्। नेपालमा नेपाली गीत बज्दैनन्। म नेपाली बसेका ठाउँ विश्वभर घुमिसकेँ। त्यहाँ नेपालीले नेपाली गीत मन पराउँछन्। भारत, श्रीलंका, माल्दिभ्स, भुटान, बंगलादेशले आफ्नो संस्कृतिलाई जगेर्ना गरेर राखेको छ, हाम्रो खै त ? पुर्खाले गर्दा आज नेपाली भएका छौं, पुर्खै भएनन् भने हामी के नेपाली।

तपाईं आफैंलाई मन पर्ने आपना गीतको नाम लिनु पर्दा ?

‘कोइली बास्यो को हो को हो’ , ‘क्याट्ट टीका ट्याम्मै’, ‘टिप्दैछु म पात भाउजू’, ‘लर्की लरक्क घन्काउ मादल’, ‘हेर्दा राम्रो माछापुच्छ्रे’, ‘सुर्खेतैमा साली ना’लगायतका मैले संकलन गरेर गाएको थुप्रै गीत मलाई मन पर्छन्।

तपाईंको ‘यती’को खोज अभियानमा पनि हुनुहुन्थ्यो। यो अभियान कहाँ पुग्यो ?

नेपालीको अभाग हो। आम जनमानसमा ‘यती’ भनेको कमन शब्द हो। तर कसैले हेरे त ? धेरै पत्रिकामा सम्पादकीयसमेत लेखियो। तर म बेबकुफ ठहरिएँ। त्यसैले अहिले मैले यतीको च्याप्टर नै बन्द गरेर बसेको छु। जति यतीको बारेमा म बोल्छु, उति नै म बौलाहा हुन्छु। नयाँ सडकमा आउँदैन ‘यती’। अनुसन्धान एक थोपा छैन, सबैतिर कमिसनकै खेल मात्रै छ।

-अन्नपूर्णपोष्ट

Facebook Comments Box

फेसबुक