२०८१ जेष्ठ, ११
||NEWS LUMBINI |

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा एरोब्रिज सहितको ठूलो टर्मिनल भवन निर्माण गरिने

न्युजलुम्बिनी-भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एरोब्रिज सहितको ठूलो टर्मिनल भवन बन्ने भएको छ ।अहिले पहिलो चरणको काम चलिरहेको उक्त विमानस्थलमा दोस्रो चरणको काम शुरु गर्न लागिएको हो ।

नागरिक उड्ययन प्राधिकरणले विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल बनाउनका लागि डिजाइन तयार पार्न कन्सल्ट्यान्ट नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको हो ।

टर्मिनलका लागि परामर्शदाता नियुक्ती गर्न बोलपत्र बनाउने भइरहेको र बैशाख पहिलोहप्ता सार्वजनिक आव्हान हुने प्राधिकरणमा राष्ट्रिय गौरवका आयोजना हेर्ने इन्जिनियर प्रदिप अधिकारीले जानकारी दिए ।

पहिलो चरणको काम सकिएलगत्तै प्राधिकरणले आगामी मंसिरदेखि ३५ हजार वर्गमिटरको टर्मिनल बनाउने भएको हो ।

भविष्यमा बढ्ने यात्रुको चाप थेग्न अहिलेदेखि नै निर्माणको काम अघि बढाउन खोजिएको अधिकारीले जानकारी दिए ।

यो टर्मिनल बनेपछि अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल आन्तरिक उडानका लागि मात्र प्रयोग हुने छ । १५ वटा पार्किङ वे हुने टर्मिनलमा एरोब्रिज हुने छन् ।

यसबाट जहाज चढ्दामा जांदा वा आउंदा सिधै टर्मिनल भवनमा प्रवेश हुने छ ।

टर्मिनल बनाउनको लागत तथा अन्य विवरण परामर्शदाताको अध्ययनपछि मात्र निश्चित हुने प्राधिकरणले जानकारी दिएको छ ।

एसियाली विकास बैंको ऋण तथा अनुदानमा पहिलो चरणको काम अहिले भइरहेको छ ।

धावनमार्ग कालोपत्रे र टर्मिनल भवनको काम अन्तिम चरणमा पुगेको छ भने नेभिगेशन, कम्युनिकेशन तथा एयर सर्भिलेनस इक्वुपमेन्ट जडानका लागि ठेक्का सम्झौता भइसकेको छ ।

सन् २०१९ को अगष्टसम्म विमानस्थलको सबै काम पुरा गरी सन् २०२० को जनवरीदेखि व्यवसायिक उडान गर्ने सरकारको तयारी छ ।

Facebook Comments Box

फेसबुक