भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो (गोदाम) भवन निर्माणको काम शुरु भएको छ । भवनको मंगलबार संस्कृति पर्यटक तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले शिलान्यास गरेका छन्।
मन्त्री अधिकारीले ठेकेदारलाई कार्गो भवन तोकिएकै समयमा निर्माण सक्न निर्देशन दिए । उनले २०१९ को सेप्टेम्बरमादेखि संचालनमा ल्याउने गरी विमानस्थल निर्माणको काम भईरहेको बताउँदै संचालनमा आएपछि भैरहवा क्षेत्र नेपालकै मुख्य पर्यटकीय गन्तव्य हुने बताए ।
उनले गौतमबुद्ध विमानस्थल नेपालको इतिहासमा ६० वर्षपछि अन्तर्राष्ट्रिय उडान भर्ने दोस्रो विमानस्थल हुने दावी गरे । विमानस्थल संचालनको महत्वपूर्ण काममध्ये एअर सर्भिस एग्रिमेन्ट भईसकेको बताउँदै मन्त्री अधिकारीले भैरहवालाई केन्द्रविन्दु बनाएर अन्तर्राष्ट्रिय उडान भर्न चाहने देशहरुको आवेदन आईरहेको बताए ।
‘६० वर्ष पछाडी नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउंदै छ, त्यो संगै बाहिरी मुलुकबाट पनि यहां उडान भर्न चाहने देशहरुले निवेदन दिन थालेका छन्, जुन हाम्रो खुसीको कुरा हो’ उनले भने ।
मन्त्री अधिकारीले म्यानमार, कम्बोडिया, चाईनाको, श्रीलंका, जापान लगायतका मुलुकहरुबाट भैरहवालाई नै वेस बनाएर उडान भर्ने गरी निवेदन आउन थालेको बताए । उनले नेपालमा सबै भन्दा ठूलो पर्यटकिय गन्तव्य लुम्बिनी हुने समेत दावी गरे ।
शिलान्यास गरिएको कार्गो भवन ८० हजार स्क्वायर फिट क्षेत्रफलमा बनाउन लागिएको हो । विमानस्थल एडीबीको सहयोगमा बनिरहे पनि कार्गो भवन भने नेपाल सरकारको ९० करोड ३६ लाख लगानीमा बनाउंदै छ । भवनको एसएस शर्मा–लुम्बिनी गजुरमुखी जेभीले निर्माणको जिम्मा पाएको छ । २ वर्ष भित्र निर्माण सक्ने गरी सम्झौता गरिएको भवन डेढ वर्षभित्रै सम्पन्न गरिने आयोजनाले दावी गरेको छ ।
आयोजना प्रमुख प्रवेश अधिकारीले भवन नेपालमा अहिलेसम्म बनेका भन्दा अत्याधुनिक, व्यवस्थित र स्तरीय हुने बताए । उनले त्यसका लागि सबैको सकारात्मक सहयोग आवश्यक रहेको जनाए ।
उक्त कार्गो भवनभन्दा पहिला नै विमानस्थल संचालनमा आउने भएकाले निर्माण सम्पन्न नहुँदासम्म पुरानो भवनबाट काम गरिने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवामा निर्माण भईरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको अहिलेसम्म ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ ।
सन २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएपनि अहिलेसम्म २ पटक म्याद थप भईसकेको छ । सन् २०१८ को जुन १५ सम्म सम्पन्न गर्ने लक्ष्य सहित पहिलो पटक म्याद थपिएको यो आयोजना सो निर्धारित अवधिमा पनि पुरा हुन नसक्दा पुन म्याद थप गरि सन २०१९ को जुन २८ सम्म सम्पन्न गर्ने गरि तीव्र गतिमा काम अगाडी बढाईएको आयोजनाले जनाएको छ ।
अहिले सम्म सबैभन्दा कठिन मानिएको टर्मिनल भवन, रनवे, पार्किङ्ग क्षेत्र लगायतको काम अन्तिम चरणमा पुगेकोले निर्धारित अवधिमै काम सम्पन्न अपेक्षा लिईएको छ । एडीबीको ६ अर्ब २२ करोड ५१ लाख ऋण तथा अनुदान सहयोगमा निर्माण भईरहेको विमानस्थल बीचबीचमा आएका समस्याका कारण लागत बढेर ६ अर्ब ८२ करोड ४० लाख पुगेको छ ।
-सेतोपाटीबाट साभार गरिएको हो