२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

चन्दको बन्दले २४ किलोमिटर पनि हेलिकप्टरमा उडे ओली

दाङको घोराहीदेखि तुलसीपुर २४ किलोमिटर टाढा छ। गाडीमा गए यो बाटो पार गर्न आधा घन्टाजति लाग्छ।

बुधबार नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने यो २४ किलोमिटर पार गर्न पनि हेलिकप्टर चढे। उनी झन्डै ५ मिनेटपछि घोराहीबाट तुलसीपुर पुगे।

त्यसको केहीबेरअघि माओवादी केन्द्रका नेता रामबहादुर थापा पनि घोराहीबाट तुलसीपुर त्यसैगरी आएका थिए। त्यसका लागि उनले अर्को हेलिकप्टर प्रयोग गरे।

बुधबार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दाङ बन्दको आह्वान गरेको थयो भने वाम गठबन्धनले यी दुई सहरमा चुनावी सभा गरेको थियो। बन्दलाई छिचोल्दै चुनावी सभालाई सम्बोधन गर्नुपर्दा नेताहरूले हेलिकप्टरबाट ओहोरदोहोर गर्नु परेको हो।

सदरमुकाम घोराहीमा आयोजित बामगठवन्धनको चुनावी सभालाई एमाले अध्यक्ष ओलीले सम्वोधन गर्दै गर्दा माओवादी केन्द्रका नेता बादल ५ मिनेटको दुरीमा हेलिकोप्टर मार्फत तुलसीपुर आएका थिए। केहीबेरमा घोराहीमा सम्वोधन सकेर एमाले अध्यक्ष ओली पनि दोस्रो हेलिकोप्टरमार्फत तुलसीपुर आए।

ओलीले सम्बोधन सक्दा अँध्यारो भइसकेको थियो। साढे छ बजे सम्बोधन सकेका ओली फर्कँदा भने गाडी मै गएका थिए। तर थापा भने फर्कदा पनि घोराहीसम्म हेलिकप्टरमै गएका थिए।

त्यतिबेला दाङ बन्द लगभग खुलिसकेको थियो।

सुरक्षा चुनौती नभएको ठानेर उनी गाडीमै घोराही गएको प्रहरीले जनाएको छ।

५ मिनेटको दुरीमा दुईजना नेताहरु घोराहीदेखि तुलसीपुर र तुलसीपुरदेखि घोराही ओहोरदोहोर गरेको देख्दा सर्वसाधारण भने चाख मानेर आकाशतर्फ हेरिरहेका थिए।

Facebook Comments Box

फेसबुक