२०८१ जेष्ठ, १६
||NEWS LUMBINI |

‘चौकीदार’ लिएर जानुपर्ने सरकारी कलेजका शौचालय

सुजना ढकाल-तपाईं काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस जानुभएको छ?छ भने थाहै होला, मूल गेटबाट भवन छिरेपछि खेल मैदान आउँछ। मैदान सुरू हुनुभन्दा अलि  बाँयातिर लाग्नुभयो भने चर्को गन्ध आउन थाल्छ।

त्यो गन्ध फोहोरी देखिने सानो ‘टहरो’ बाट आएको हो। कलेजका छात्राहरू यहाँ नाक-मुख थुनेर भित्र पस्छन्, थुक्दै बाहिर निस्किन्छन्।यो ठाउँ क्याम्पसले छात्राहरूका लागि बनाइदिएको शौचालय हो। ‍

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सयौं विद्यार्थी उच्च शिक्षाका लागि आउने आरआर क्याम्पसमा आधा संख्या छात्राको छ। यी छात्राका निम्ति बनाइएको शौचालय भने नभए बराबर नै छ। प्रयोग गरिहाल्ने आँट हतपत आउँदैन। बाध्यता भएपछि नाकमुख थुन्ने, थुक्दै निस्किने।

स्नातकदेखि एम.फिल.तहसम्मका विद्यार्थीका लागि बनाइएका नाम मात्रका शौचालय पाँच वटा छन्। यीमध्ये पनि कामचलाउ एउटा मात्रै छ, अरूमा ढोकै लाग्दैनन्।

एकातिर दुङदुङ गन्हाउने, अर्कातिर ‘चौकीदार’ राखेर शौचालय प्रयोग गर्नु छात्राहरूको बाध्यता हो।

‘ट्वाइलेट जाँदा कोही नजिकको साथी साथै लैजानुपर्छ। नभए गीत गाउँदै बस्नुपर्ने बाध्यता छ। वर्षौंदेखि यहाँ यस्तै छ,’ स्नातकोत्तर तेस्रो सेमेस्टर अध्ययनरत प्रमिला रिमाल दिक्क मान्दै सुनाउँछिन्।

प्रमिलासँगै अध्ययनरत रिश्ता राई सकेसम्म कलेजको शौचालय जान्नन्। बाहिरबाटै गन्धले नाक पोल्ने र ढोकै नभएपछि उनी विकल्प खोज्दै सँगैको ‘नेपाल ल क्याम्पस’ तिर जान्छिन्।

‘यता जान नसकेर ल कलेजको शौचालय जाने गरेका छौं। उता नि गतिलो त हैन, यहाँभन्दा अलि राम्रो हो,’ रिश्ताले भनिन्।

प्रमिला र रिश्ता आरआरका प्रतिनिधि छात्रा मात्र हुन्। यहाँका अधिकांश विद्यार्थी आफ्नो कलेज हाताको शौचालय छाडेर ‘छिमेकी’ शौचालय पुग्छन्।

तुलना गर्दा ल क्याम्पसको शौचालय राम्रो पाइए पनि त्यहाँ पनि समस्यै छ। ल क्याम्पसको शौचालयमा मुख्य ढोका छिरेपछि चार फुटजति अग्ला पर्खालले तीन-चार वटा ब्लक बनाइएका छन्। ब्लक यति फोहोरी छन्, बस्ने हिम्मत हुँदैन। पिसाब गर्न मात्र बनाइएका यी ब्लकमा पानीको सुविधै छैन।

भित्र ढोकासहितका शौच गर्ने ठाउँ पनि छन्। खुलामा पिसाब फेर्न सबैलाई सहज हुँदैन। यहीँ जान्छन्। ढोका भएको शौचालयमा पानी त छ, तर चुकुल लाग्दैन। हुत्त धकेले खुलिहाल्यो। यहाँ पनि ‘चौकीदार’नै चाहिन्छ।

उपत्यकाकै ठूलामध्येका यी कलेजका शौचालयको मात्र हालत यस्तो होइन, २००९ सालमा स्थापना भएको वाल्मिकी विद्यापीठको पनि उस्तै छ। वाल्मिकी कलेज जति पुरानो छ, त्यहाँको महिला शौचालय झनै थोत्रो छ। एकदमै फोहोर देखिने शौचालयका भित्ता छुन पनि घिन लाग्ने छन्।

वाल्मिकी विद्यापीठ नजिकैको शंकरदेव कलेजले पनि शौचालयको मापदण्ड पूरा गर्दैन। तै अलि व्यवस्थित छ। पानी र फोहोर फाल्ने डस्टबिन व्यवस्था छ। ढोका पनि लाग्छन्।

शंकरदेवमा बिआइएम चौथो समेस्टर पढ्दै गरेकी स्प्रेहा काफ्ले शौचालय व्यवस्थापनमा कलेजका साथै विद्यार्थीको पनि उत्तिकै भूमिका हुने बताउँछिन्।

‘यहाँ सबै सुविधा छ तर पनि ट्वाइलेट प्रायः फोहोर नै हुन्छ। धेरै विद्यार्थी छौं, फोहोर भइहाल्छ,’ उनले भनिन्, ‘तर हामी शौचालय प्रयोग गरेपछि पानी हाल्न, फोहोर वा प्याड डस्टबिनमा हाल्न सचेत हुँदैनौं। हाम्रा यस्तै कमजोरीका कारण चर्पी धेरै फोहोर हुने हो।’

अर्कातिर कलेजहरूले पनि ‘चलिराखेकै त छ’ भन्ने सोचेर वर्षौंदेखि गन्हाउने चर्पीको ‘सुविधा’ दिइरहेका छन्। रत्नराज्य क्याम्पस प्रमुख निर्मला सुवाल कलेजमा शौचालय राम्रो नभएको स्वीकार गर्छिन्।

‘समस्या छ, तर हामी हरेक वर्ष सुधार गर्दै आइरहेका छौं। यो वर्ष पुरुष शौचालय सुधारको काम गर्यौं। अर्को वर्ष महिला शौचालय सुधारमा प्राथमिकता दिन्छौं,’ प्रमुख सुवालले भनिन्।

राजधानीका सरकारी कलेजले विद्यार्थीलाई सफा र सुविधायुक्त चार-पाँच वटा शौचालय बन्दोबस्त गर्न पनि अर्को वर्षको बजेट भन्दै आनाकानी गर्नु लज्जास्पद भएन र?

-सेतोपाटीबाट साभार गरिएको हो
Facebook Comments Box

फेसबुक