नवलपरासी -नवलपरासीमा सोमबार भएका छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु भएको छ ।नवलपरासीमा सोमबार दुध बोक्ने ट्यांकरको ठक्करबाट एक जना मोटरसाइलक चालकको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकाट नगरपालिका ८ मा पूर्वबाट पश्चिमतर्फ आउंदै गरेको ना १ क ८३६९ नम्बरको दुध बोक्ने ट्यांकरको ठक्करबाट लु२३प ८८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक गैडाकोट १२ बस्ने ४८ वर्षीय चिन्तामणि थनेतको मृत्यु भएको हो ।
उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ट्यांकर चालक र ट्यांकर प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा करेन्ट लागेर एक जना बोटेको मृत्यु भएको छ ।
देवचुली नगरपालिका १३ मा रहेको बोटेटोल बस्ने ३६ वर्षका बुद्धराम बोटेको चिसो हातले टिभी जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
सोमबार विहान करेन्ट लागि घाइते भएका उनको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको अस्थायी प्रहरी पोष्ट दलदलले जनाएको छ ।
त्यसैगरी ३ दिनदेखि वेपत्ता पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका-७ बस्ने ४० वर्षीय धवेन्द्रप्रसाद गुप्ता नारायणी नदी किनारमा मृत अवस्थामा भेटिएका छन् ।
गत २९ भदौदेखि हराइरहेका गुप्ता सोमबार विहान साढे ११ बजेत मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।
गुप्ता मृगी (छारेरोग) रोगको बिरामी भएको र सोही कारण डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
-अनलाईनखबरबाट साभार गरिएको हो