२०८१ भाद्र, २९
||NEWS LUMBINI |

छोरीले घरभित्र मात्र बस्नुपर्छ र ?

सन्जिता देवकोटा– ‘छोरीले घरभित्र मात्र बस्नुपर्छ भन्ने अन्धविश्वासलाई हामीले नै हो तोड्ने, मैले जस्तै ,’ कपिलवस्तुको तौलिहवाकी सृजना गुप्तालाई आफ्नो लागि आफैं उदाहरण हुँ जस्तो लाग्छ ।

उहाँकै भनाइलाई आधार मानेर भन्ने हो भने, पढिलेखी जागिर खाएर सृजनाले छोरीलाई घर बाहिर पठाउनु हुँदैन भन्ने समाजको धारणलाई चुनौती दिनुभएको छ ।

आफैंले छोरीलाई हेर्ने समाजको ऐनामा लागेको धुलो पुछ्नुभएको छ । समाजले छोरीलाई हेर्ने ऐनाको धुलो पुछ्न सजिलो छैन् । ऐनाको धुलो पुछ्न आफ्नै लुगा मैलो बनाउनु पर्ने पनि हुन्छ । सृजनाले जस्तै ।

१२ वर्ष मात्रै टेकेकी सृजना सात कक्षामा पढ्नुहुन्थ्यो । उहाँको बिहे भयो । आफूसँग बिहे गर्ने केटा कस्ता थिए सृजनाले देख्नुभएन । ‘त्यो बेलामा मलाई बिहे भएको हो भन्ने पनि थाहा थिएन, त्यसको सात वर्षपछि गौना गएको,’ सृजनाले सुनाउनुभयो ।

बिहे भएको सात वर्षपछि साइत जुराएर सृजनालाई श्रीमानको घर पठाइयो । १९ वर्षको उमेरमा पराइ घर जाँदा सृजनालाई बिहे गर्न हैन पढ्न मन थियो । प्रथम श्रेणीमा एसएलसी पास गरेकाले पनि सृजनालाई पढेर ठूलो बन्छु भन्ने आँट थियो । नयाँ घर, नयाँ परिवेश । नयाँ परिवेशसँग घुलमिल हुन सृजनालाई अप्ठेरो त थियो नै त्यो भन्दा धेरै चिन्ता त पढाइ छुटेकोमा थियो ।

गौना ( बिहेपछि माइतमै छोडेकी दुलहीलाई घर लाने बेला गरिने कर्म ) भएको केही समयपछि सृजनाका श्रीमान् कतार लाग्नुभयाे । अनि सृजना चाहिँ १२ कक्षाको जाँच दिन माइत ।

बिहे भएकी छोरी माइत बसेर पढ्न सहज थिएन । ‘बिहे भएपछि पनि ससुराल बसेर पढ्ने भनेर छिमेकी र आफन्तले कुरा काट्थे, नपढोस्, घर बाहिर ननिस्कियोस् भन्ने तर मैले त मानिन,’ सृजना भन्नुहुन्छ ।

सृजनाले आफू पढ्ने मात्र हैन स्कुल पनि पढाउन थाल्नुभयो । श्रीमानले विदेशमा कति कमाउथे सृजनालाई थाहा थिएन तर उहाँले आफ्नो खर्च आफैं पुर्‍याउनुभयो ।
सृजनाको पढाइ र काम एकतिर थियो भने अर्कातिर आफन्त र समाज ।

‘यसले बुढा छाड्छे भन्ने, छिमेकीका मनपरी कुरा त कति कति,’ सृजना छिमेकीले गरेका व्यवहार सम्झनुहुन्छ । सृजनाको काम र पढाइमा साथ दिने बुवाआमा बाहेक कोही थिएनन् । श्रीमान् विदेशमा भएका कारण पनि सृजनाले समाजका कुरा अझ बढी सुन्नु परेको थियो ।

झण्डै एक वर्षपछि सृजनाका श्रीमान् कतारबाट फर्किनुभयो । माइत बसेर स्नातक पढिरहनु भएकी सृजना घर फर्किनुभयो । श्रीमानसँगै हुँदा पहिले जस्तो व्यवहार सहनु परेन ।

तर सृजनाका श्रीमान् २०७४ को मध्यतिर फेरि विदेश जानुभयो । श्रीमान् मलेसिया लागेपछि सृजना पनि माइती फर्किनुभयो । ‘माइतीमा पनि यतिकै बस्न मन लागेन, कलेज गयो, अरु काम नहुने त्यसैले काम गर्न थालेको,’ सृजना सुनाउनुहुन्छ ।

श्रीमानसँग सल्लाह गरेरै उहाँले स्थानीय साझा न्युज पत्रिकामा मार्केटिङको काम थाल्नुभएको हो । ‘नयाँ मानिससँग भेट हुन्छ, दिनहुँ नयाँ कुरा हुन्छ, मलाई यो काम असाध्यै मन पर्छ,’ कामका बारेमा सोध्दा सृजनाले मिठो जवाफ दिनुभयो ।

पेशा परिवर्तन भएसँगै सृजनाको पनि बानी फेरिएको छ । कहिल्यै कसैसँग नभेट्ने, नबोल्ने सृजना अहिले दुई चार जना मानिसका बिचमा खाजा खाने हुनुभएको छ । ‘पहिला त खुब लाज लाग्थ्यो, यो पेशामा आएपछि सबै हट्यो,’ सृजनाले भन्नुभयो ।

काममा खुसी भएपनि सृजनालाई श्रीमानका परिवारको साथ छैन । परिवार र आफ्नो विचार नमिल्दा सृजनालाई नरमाइलो लाग्छ । अनेक कुरा सुन्दा सृजनालाई पढेर किन बुझ्ने भएछु भनेर पछुतो लाग्छ । ‘नपढेको भए बुहारी जस्तै हुन्थेंं, अरु बुहारी जस्तै बुहारी हुन्थें, यस्तै सोच आउँछ,’ सृजना भन्नुहुन्छ, ‘ फेरि पढेरै त आफ्नो पेट आफैले पालेको छु भनेर चित्त बुझाउछु ।’

सृजनालाई पढ्नु नै बिद्रोह भयो जस्तो लाग्छ । तर अरुले गरेको भन्दा केही नयाँ गर्दा समाजले परिवारले फरक व्यवहार गर्छ भन्ने सृजनाले बुझ्नुभएको छ । ‘अब यो पेशालाई अघि बढाउछु, नयाँ कुरा सिक्दै छु, पढाइलाई पनि अघि बढाउछु,’ आफ्ना योजना सुनाउँदै सृजनाले भन्नुभयो, ‘गाली खाएर, झगडा गरेरै यहाँसम्म आएको हो, अब पनि जस्तो परिस्थिती आएपनि मेरो यात्रामा रोकिने छैन् ।’

-उज्यालोबाट

Facebook Comments Box

फेसबुक