सेतीमाया तामाङ्गले आफ्नी आमालाई नभेटेको । आफै एक छोरीको आमा बनेदेखि उनले आफ्नी आमालाई भेटेकी छैनन् । छोरीको रुपमा उनी स्वार्थी हुन् । तर, आमाको रुपमा उनी विशाल छिन् ।
चौध वर्षकी छोरी लक्ष्मीे उनको एक मात्र सन्तान हुन् । उनी राम्ररी हिड्न र बोल्न सक्दिनन् । लक्ष्मी जन्मेदेखि नै मस्तिष्क पक्षघातको शिकार भईन । त्यसैका कारण सेतीमाया र उनको छोरीले निकै सकस भोग्नु परेको छ ।
लक्ष्मीलाई खाना ख्वाईदिनु पर्छ । लुगा लगाईदिनु पर्छ । दाँत मोलिदिनु पर्छ । दिशा पिसाब गराईदिनु पर्छ । यी सबै काम चौध वर्षदेखि आमा सेतीमायाले एक्लै गर्दै आएकी छिन् ।
सेतीमाया काठमाण्डौ सोह्खुट्टेमा बस्छिन् । लक्ष्मीलाई असाध्यै पढ्न मन छ । त्यसैले उनले निकै कष्ट सहेर भएपनि छोरीलाई पढाउने कोशिस गरेकी छिन् । मस्तिष्क पक्षघात भएका यस्ता बच्चालाई पढाउने एउटा स्कूल छ, गोगंबुमा । उनले छोरीलाई यही पढाएकी छिन् ।
हरेक दिन बिहान उनी ब्हिलचेयर धकेल्दै स्कूल पुग्छिन् । करिब डेढ घण्टा लाग्छ । दिनभरी स्कूलमै बस्छिन् । बेलुकी फेरि ब्हिलचेयर गुडाउँदै घर फर्कन्छिन् । करिव डेढ घण्टा नै लाग्छ ।
तीन घण्टा ब्हिलचेयर गुडाएर थाकेर लस्त भएको शरिरले फेरि छोरीलाई फिजियो थेरापी गराउन थाल्छ ।
यो काममा उनले झरी बादल गाहे साहे केही भन्न पाउँदिनन् । पालो दिने कोही छैनन् उनलाई । श्रीमान् दिनभरी ज्याला मजदुरी गर्न जान्छन् । उनले पनि नकमाए कसरी खानु ?
सेतीमाया आफै पनि रोगी छिन् । त्यसमाथि दैनिक धुवाँ धुलो र सवारी साधनको आक्रमणले झन् शिथिल बनाउँछ उनलाई । बेलाबेलामा चक्कर लाग्छ । बाटोमै बान्ता हुन खोज्छ । भाउन्न भएर त्यही ढल्छु की जस्तो हुन्छ उनलाई । तर उनलाई कठै भनिदिने पनि कोही छैन् । तरपनि उनले छोरीको लागि जीवनको पांग्रा गुडाउन छाडेकी छैनन् ।
कहिलेकाँही सेतीमाया मनमनै आफैसँग भन्छिन् रे, जिन्दगी पनि के पाएछु भनेर । लाग्छ रे, यस्तो पनि जिन्दगी हुन्छ भनेर । तर, फेरि जब छोरीको मुख हेर्छिन्, माया लाग्छ, मेरो कर्म यस्तै रहेछ भनेर चित्त बुझाँउछिन् ।
सेतीमायालाई लाग्छ, एकमुठी सास रहुन्जेसम्म अब छोरीकै स्याहार गर्ने हो । भन्छिन्, मेरो खेती नै यहि हो । सम्पति नै यहि हो । सवै कुरा यहि हो ।
यति भन्दा चाँही उनले आँशु पुछिन् । फेरि भनिन्, मलाई दशै पनि छैन् । तिहार पनि छैन । औशी पुर्णिमा केही छैन । छ त खाली छोरीको मायालाग्दो अनुहार ।
सेतीमायालाई असाध्यै पिडा हुने चाँही छोरीको ईच्छा पुरा गर्न नसक्दा हो । लक्ष्मी भन्छिन्, मलाई हिड्न रहर छ । सेतीमाया छोरीलाई हिडाउन सक्दिनन् । लक्ष्मी भन्छिन् कुर्ता सुरुवाल लगाएर बजार घुम्न जान मन छ । सेतीमाया त्यसो गराउन सक्दिनन् । त्यो भन्दा पनि ठूलो ईच्छा चाँही लक्ष्मीलाई आफ्नो गाँउमा गएर साग र सिस्नुसँग ढिडो खान मन छ । त्यो झन् कसरी पुरा गर्न सक्नु र सेतीमायाले ?
आमाको कुरा सुनेर लक्ष्मी एकोहोरो हेरिरहिन । आमालाई दुःख छ भन्ने उनलाई थाहा छ । आमा नभए आफूलाई निकै गाहे हुन्छ भन्ने पनि उनलाई थाहा छ । त्यसैले उनी सधै भन्ने गर्छिन्, ‘ए ममी तपाई मर्नु भन्दा अघि मै मर्छु है’ ।
लक्ष्मीको कुराले सेतीमायाको आँखा भिज्यो । भन्छिन् सन्तान गुमाएर म झन् कसरी बाँचुला र?
साँच्चै आमा हुन कति गाहे छ । आफ्नो सन्तानको लागि एउटी आमाले कुन हदसम्मको त्याग गर्न सक्छिन भन्ने उदाहरण हुन सेतीमाया । लक्ष्मी कै कारण सेतीमायाले आफ्नी आमा भेट्न नपाएको करिव १४ वर्ष भयो । यसपटक पनि मातातिर्थ औशीको दिनमा उनी आमाको मुख हेर्न गईनन् । उनले छोरीको मुख हेरेर आमा सम्झिईन ।