२०८० असोज, ७
||NEWS LUMBINI |

जाजरकोटमा मतपेटिकालाई लक्षित गरी बम विस्फोट, एक घाइते

जाजरकोट । आइतबार सम्पन्न निर्वाचनको मतपेटिका लिएर सदरमुकाम आउँदै गरेको टोलीलाई लक्षित गरी जाजरकोटमा बम विस्फोट गराएको छ ।

आज बिहान कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट भएको हो । विस्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

कुशे गाउँपालिका–१ को रोलखोला भन्ने ठाउँमा बम विस्फोट भएको हो । एकजना सहयोगी सामान्य घाइतेबाहेक अन्य कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक रिमालले जनाए । मतपेटिका पनि सुरक्षित रहेको र बेलुकासम्ममा सदरमुकाम पुग्ने उनले बताए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । गत शुक्रबार मात्रै सोही वडाका वडाध्यक्ष गोपाल नेपालीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए ।

मंगलबारसम्म जाजरकोटका सबै मतपेटिका सदरमुकाम पुग्ने

यता, जिल्लाका सबै मतदान केन्द्र र स्थलबाट मतपेटिका सदरमुकाम ल्याउने काम शुरु भएको छ ।

जिल्लाका जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका र शिवालय गाउँपालिकाका केही वडा सदरमुकामभन्दा धेरै टाढा हुनुका साथै सडक सञ्जालसँग नजोडिएका कारण यहाँबाट मतपेटिका सदरमुकाम ल्याउन ढिला हुने देखिएको छ ।

सडकको पहुँच नभएका ठाउँमा हेलिकप्टरमार्फत सदरमुकाम ल्याउनका लागि आग्रह गरिएको र मंगलबार दिउँसोसम्ममा सबै मतपेटिका सदरमुकाम ल्याइने जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । सडक सञ्जालसँग जोडिएका छेडागाड नगरपालिका, भेरी नगरपालिका, त्रिवेणी नलगाड नगरपालिकाबाट मतपेटिका सदरमुकाम ल्याउने काम जारी रहेको छ ।

गएराति अध्याँरो र चिसोका कारण मतपेटिका प्रहरी चौकीसम्म ल्याउने काम भएको र आज सदरमुकाम ल्याउने काम हुने जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए ।

बेलुका ८ः०० बजेदेखि बिहान ८ः०० बजेसम्म यहाँका गाउँमा रहेका टेलिफोन टावरले काम नगर्ने भएका कारण सूचना संकलन गर्न समस्या हुने गरेको छ । नेपाल प्रहरीको सेटले पनि रातिको समयमा काम नगर्दा जाजरकोटको दुर्गम गाउँमा सूचना छिटोछरितो तरिकाले दिन निकै चुनौती भएको पाइएको छ । जाजरकोटमा ७२.२२ प्रतिशत भोट खसेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए ।

यहाँका पूर्व तथा पश्चिमका अधिकांश ठाउँमा चिसोका कारण मतदाता मतदान केन्द्रसम्म आएर मतदान गर्न ढिला गरेका थिए । स्थानीय तहमा भएको चुनावभन्दा यसपटकको चुनावमा मतदातामा उत्साह कम देखिएको पाइएको छ ।

आइतबार रातिसम्म १४ स्थलको मात्र मतपेटिका सदरमुकाम आइपुगेको छ । वटा ११६ वटा मतदान केन्द्र र ८५ वटा स्थलमा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको जाजरकोट प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box

फेसबुक