२०८१ बैशाख, ३
||NEWS LUMBINI |

जेलबाट छुटेपछि हेलिकप्टर चढ्ने नेकपाका मेयर, पैसा तिर्ने कांग्रेस नेता

सर्वोच्च अदालतबाट सफाइ पाएको भोलिपल्ट काशी तिवारी हत्यामा आरोपित सियाराम कुशवाह हेलिकप्टरमा रौतहट पुगे। रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम जेल चलान भएको आठ महिनापछि गाउँ पुगेका थिए। 

जेलबाट छुटेपछि फर्किंदा शनिबार गृहनगरमा कुशवाहलाई ‘भव्य’ स्वागतको वातावरण उनी निर्वाचित नगरपालिकाले मिलाएको थियो। आइतबार नगरभरि सार्वजनिक बिदाको निर्णय सार्वजनिक गरिएको थियो।

जन्मकैद फैसलामा डिल्लीबजार कारागारमा जेल भुक्तान गरिरहेका कुशवाहलाई सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीले शुक्रबार सफाइ दिएका थिए।

कुशवाहलाई काठमाडौंबाट हेलिकप्टर चार्टर भने नेपाली कांग्रेसका स्थानीय नेता अजय साहले गरेका थिए। स्थानीय तह निर्वाचनमा साह कुशवाहकै प्रमुख प्रतिद्वन्द्वी उम्मेदवार थिए। कांग्रेसबाट कटहरियाको मेयर उठेका साह ५५१ मतले कुशवाहसँग हारेका थिए।

उनै साहले डिल्लीबजार जेलबाट छुटेपछि एयर डाइनेस्टी हेलिकप्टर भाडामा लिएर कुशवाहलाई गृहनगर लगेका हुन्।

कुशवाहका अनुसार सुरूमा हेलिकप्टर साहकै घर कटहरिया–९ डुमरियामा ल्यान्ड भएको थियो। त्यहाँ साहले आफू र निकटका कार्यकर्ताहरू भेला पारेर कुशवाहको स्वागत सम्मान गराएका थिए।

दोस्रोपटक कटहरिया नगरपालिकामा हेलिकप्टर ल्यान्ड गरियो। त्यहाँ कर्मचारी तथा स्थानीयको ठूलो समूहले कुशवाहको स्वागत गर्‍यो। तेस्रोपटक कटहरिया–२ स्थित कुशवाहको घरमा हेलिकप्टर ल्यान्ड गरिएको थियो।

‘म जेलबाट छुटेको खबर पाउनेबित्तिकै उहाँले यो सबै चाँजोपाँजो मिलाउनुभएको रहेछ,’ कुशवाहले सेतोपाटीसँग भने, ‘मेरो व्यक्तिगत खर्च केही पनि भएन।’  अन्तिमपटक आफ्नो घरमा ल्यान्ड गरेपछि सोही हेलिकप्टरमा साह काठमाडौं फर्किएको कुशवाहले बताए।

‘काठमाडौंदेखि रौतहटसम्मको हेलिकप्टर खर्च, त्यो पनि भिन्न पार्टीबाट चुनाव जितेका मेयरलाई?’ भन्ने सेतोपाटीको प्रश्नमा साह भन्छन्, ‘जुन पार्टीबाट जसरी चुनाव उठे पनि हामी साथीभाइ हौं, एउटै क्षेत्रको। जेलबाट छुट्दा साथीलाई गाउँ लगें, यसमा के भो र!’

केन्द्रको जस्तै मेलमिलाप गाउँघरमा पनि हुने भएकाले साथीलाई हेलिकप्टरमा गाउँ लगेको साहले बताए। ‘यसमा के कति खर्च भयो, त्यो मैले मेरो साथीका लागि गरेको खर्च हो, त्यसमा नजानुस् न,’ साहले भने।

कुशवाह छुटेपछि भएको तामझामबारे उनको आफ्नै तर्क छ। साह भन्छन्, ‘नगर लामो समयदेखि नेतृत्वविहीन थियो, यहाँ विकासको गति रोकिएको थियो। उहाँमाथि जे जति आरोप लागेको छ, त्यसले नगरमा नकारात्मक टिप्पणी भएको भएको छ, उहाँ छुटेपछि हामी एक छौं है नगरको विकासको निम्ति भन्ने सन्देश दिन यस्तो स्वागत सम्मान गरेको हुँ। यो नगरको विकास गर्न अरु त आउँदैन।’

साह स्थानीय चुनावपछि कांग्रेससँग सन्तुष्ट छैनन्। आफ्नो जनाधार राम्रो हुँदाहुँदै पार्टीका नेताहरूले अन्तर्घात गरेर चुनाव हराएको उनले बताउँदै आएका छन्।

‘जिल्ला सभापतिदेखि लिएर सांसद लागेर मलाई हराउनुभयो, तैपनि मैले त्यत्रो भोट त ल्याएँ,’ साह भन्छन्, ‘त्यसैले पनि मलाई पार्टी राजनीतिमा सन्तुष्टि छैन।’

उनले कांग्रेस छोडिसकेका छैनन्। चुनावपछि पार्टीमा सक्रियता पनि कम देखाएका छन्।

सार्वजनिक बिदा दिएको दिन आइतबार कुशवाहले नगरमा घरदैलो गरेका छन्। चुनावताका आफूले गरेका प्रतिबद्धता, जनतासँग नजिक हुन र लामो समयपछि भेटघाट गर्न पनि आफूले घरदैलो गरेको कुशवाहले बताए।

सार्वजनिक बिदा दिने सूचना जारी गर्दा आफूसँग परामर्श नगरिएको कुशवाहले  जिकिर गरे। ‘मैले प्रशासकीय अधिकृतलाई बोलाएर बिदा रद्द गर्न लगाइसकेको छु,’ कुशवाहले भने।

कुशवाह तिवारी हत्यामा अदालतबाट ‘प्रमाणित सुटर’ हुन्। जिल्ला अदालतले सफाइ दिएपछि उनले स्थानीय तह निर्वाचनमा जितेका थिए। चुनाव जितेको केही समयमै ‘सुटर’ प्रमाणितपछि जेल गए।

तत्कालीन हिन्दु युवा संघ वीरगन्जका अध्यक्ष तिवारी हत्यामा जन्मकैद सजाय सुनाइएका  कुशवाह गत वैशाख २७ गते पक्राउ परेका थिए। तिवारी हत्यामा जन्मकैद सजाय सुनाएपछि फरार कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बानेश्वरबाट पक्राउ गरेको थियो।

जिल्ला अदालत पर्साबाट सफाइ पाएका कुशवाहलाई सोही मुद्दामा २०७४ फागुन २८ गते उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जन्मकैद सजाय सुनाएको थियो। जन्मकैद सजाय सुनापछि ‘फरार’ कुशवाह काठमाडौंबाट समातिएपछि कैद भुक्तानीका लागि डिल्लीबजार कारागार चलान भएका थिए।

उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जबाट दायर भएको पुनरावेदनउपर उच्च अदालतका न्यायाधीशद्वय लेखनाथ घिमिरे र नारायणप्रसाद श्रेष्ठको संयुक्त कुशवाहलाई जन्मकैद सजाह हुने फैसला सुनाएको थियो।

२०६७ असार १२ गते तिवारीलाई अशोकबाटिकास्थित पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो। तत्कालीन मन्त्री प्रभु साहका स्वकीय सचिव कुशवाहले तिवारीमाथि गोली चलाएका थिए। यो प्रकरणमा पक्राउ परेका अभियुक्तले बहालवाला मन्त्री साहकै नाम पोलेपछि उनलाई पदबाट बर्खास्त गरिएको थियो।

तर, साहलाई प्रतिवादी बनाएर प्रहरीले पठाएको मिसिलमा ‘टिपेक्स’ लगाएर जिल्ला सरकारी वकिलको कार्यालयले अन्यलाई मात्र मुद्दा चलाएको थियो। त्यतिबेला बाबुराम भट्टराई प्रधानमन्त्री थिए। निकट भएका कारण भट्टराईले साहविरुद्ध मुद्दा नचलाउन दबाब दिएका थिए।

प्रहरीका अनुसार, मोटरसाइकलमा पार्वती मन्दिर पुगेका कुशवाहा र बाराको हरैयाका अमनप्रसाद कुशवाहामध्ये सियारामले पेस्तोल चलाएका थिए। हत्यापछि फरार रहेका सियारामलाई प्रहरीले साढे तीन वर्षपछि २०७० साल पुस १ गते चितवनको भण्डाराबाट पक्राउ गरेको थियो। पर्साका तत्कालीन प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले पक्राउ गरी कुशवाहलाई अदालत उभ्याएका थिए।

तर, जिल्ला अदालत पर्साले उनी निर्दोष रहेको भन्दै सफाइ दिएपछि पक्राउ परेको एक महिनापछि नै रिहा भएका थिए। तिवारीको हत्यामा संलग्न बारा हरैयाका अमनलाई भने प्रहरीले २०६८ साल भदौ २२ गते नै पक्राउ गरको थियो। उनी कारागारमै छन्। अमनकै बयानका आधारमा प्रहरीले सियारामलाई पनि पक्राउ गरेको थियो।

यसरी भएको थियो काशी तिवारीको हत्या

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध तत्कालीन माओवादीले आह्वान गरेको अनिश्चितकालीन आमहड्ताल जारी थियो। २०६७ साल वैशाख १८ बाट सुरू हड्ताल २३ गतेसम्म पुग्दा धेरै जिल्लामा प्रतिकार सुरू भइसकेको थियो।

त्यसैदिन वीरगञ्ज एकाएक चर्चामा आयो। हिन्दु यूवा संघका कार्यकर्ताले वैशाख २३ गते बिहान माओवादी आमहड्ताल प्रतिकार गरेपछि वीरगञ्ज तातेको थियो। माओवादीको प्रदर्शनस्थल घन्टाघर घेरेर संघका कार्यकर्ताले आक्रमण गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्यो। त्यसक्रममा प्रभु साहसहित ६४ माओवादी कार्यकर्ता घाइते भएका थिए।

माओवादीविरूद्ध प्रतिकार गर्ने समूहको नेतृत्व गरेका थिए, तिवारीले। माओवादी प्रदर्शनमा प्रतिकार गरेको दुई महिना नपुग्दै २०६७ असार १२ गते उनै तिवारीको गोली हानी हत्या गरिएको थियो। माओवादीविरुद्ध प्रतिकारमा उत्रिँदा निशानामा पारिएकामध्येबाट तिवारीको हत्या गरिएको थियो।

असार १४ गते काशीरामकी श्रीमती बबिताले छ जनाको नाम किटान गर्दै जाहेरी दिइन्। पर्सा जगन्नाथपुर–२ का जालिम मियाँ र बारा साबिक प्रस्टोका गाविसका बृजकिशोर कुसवाह, रौतहट जमुनिया–८ का फिरोज भन्ने सियाराम कुसवाह, वीरगन्जका मुकेश सर्राफ, पर्सा रामगढवाका सुरेश पटेल र भेडियारीका बलिराम साहको नाम जाहेरीमा थियो। प्रहरीले जालिम र वृजकिशोरलाई पक्राउ गरे पनि हत्यामा संलग्नताबारे तथ्य फेला नपरेपछि उनीहरूलाई जमानीमा छोडेको थियो। तत्कालीन अवस्थामा अनुसन्धान यत्तिमै रोकिएको थियो।

२०६८ जेठमा रमेश खरेल पर्सा प्रहरी प्रमुख बनेर गएपछि काशीराम तिवारी हत्या मुद्दा ब्यूँतियो। अनुसन्धान अधिकृत थिए, तत्कालीन डिएसपी दिवेश लोहनी।

रोहित भनिने अमन कुशवाहको नाम तिवारी हत्यामा जोडिएपछि २०६८ भदौमा प्रहरीले उनलाई पक्रियो। बयानमा अमनले तत्कालीन मन्त्री प्रभु साह र उनका स्वकीय सचिव सियाराम कुशवाहललाई पोले। उनीहरू दुबैसँग बसेर बनाएको योजनाअनुसार दुई लाख रुपैयाँ नगद सम्झौतामा आफूले बाइक चलाएको र पछाडि बसेका सियारामले तिवारीलाई तीन गोली हानेको बयान कुशवाहले दिएका थिए।

त्यसैलाई आधार मानेर तिनै जनाविरुद्ध प्रहरीले अभियोगपत्र तयार पार्दा बहालवाला मन्त्री साह हत्यामा तानिएका थिए। हत्यामा नाम आएपछि उनलाई मन्त्री पदबाट बर्खास्त गरिएको थियो। ‘बहालवाला मन्त्रीको नाम बिनाआधार राख्न हामीलाई बहुला कुकुरले टोकेको थिएन,’ पूर्वडिआइजी खरेल सम्झन्छन्, ‘तर, हामीले गरेको मेहनत खेर गयो।’

त्यतिबेला प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह थिए। भट्टराईले शाह र खरेललाई बालुवाटारमै बोलाएर साहको नाम हटाउन अनुरोध गरेका थिए। तर, आइजिपी शाहले ‘यो केस अब रमेश खरेलको हातमा छैन’ भनेपछि मुद्दा अभियोजनकर्ता सरकारी वकिलकहाँ भट्टराईले दबाब छेडे।

भट्टराईको दबाबमा अभियुक्त किटान गरिएकामध्येबाट साहको नाम सरकारी वकिलको कार्यालयले हटाइएको थियो। जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्साले साहको नाम झिकेर उक्त मुद्दाको फाइल अदालतमा पेश गरेको थियो।

साहमाथि तिवारी हत्याको अभियोग लागेपछि उनकै मन्त्रालयका एक सह–सचिवले पैसा दिएर मुद्दा सामसुम पार्न खोजेको पीडित परिवारले पत्रकार सम्मेलनै गरेर बताएका थिए। भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सह–सचिव नगेन्द्र झाले आफूलाई नगद ८ लाख रुपैयाँ दिएर ‘हत्यारा चिन्दिनँ’ भन्न लगाएको काशीकी पत्नी बबिता तिवारीले बताएकी थिइन्। तिवारीको हत्या हुँदा झा पर्सामा प्रमुख जिल्ला अधिकारी थिए।

काशी हत्या अनुसन्धानबारे बुझेका हिन्दु संघकै ज्योतिलाल कलवारका अनुसार अमन पक्राउ परेर साहलाई पोले, त्यसैको आधारमा उनको नाम जोडेर प्रहरीले मुद्दा अगाडि बढाए पनि अदालतमा पेश हुने बेला प्रभुको नाम हटाइएको थियो। उनी भन्छन्, ‘बाबुराम भट्टराईले दबाब दिएपछि प्रभु साहविरुद्ध अदालतमा मुद्दा पर्न दिइएन।’

तत्कालीन माओवादी पार्टीमा साह भट्टराईका विश्वासपात्र थिए। रौतहट जिल्लाका साहलाई माओवादी हड्तालताका वीरगञ्जको कमाण्ड दिइएको थियो। साहलाई जोगाउन पीडित परिवारलाई पनि रकम दिएर ‘अभियुक्त चिन्दैनौं’ भन्न लगाइएको कलवार बताउँछन्। तिवारी हत्याबारे उनकै परिवारले प्रलोभनमा बयान फेरेपछि सियाराम र अमन पनि केही समय जेल परेर छुटेको उनी बताउँछन्। तिवारीलाई माओवादी सभामा प्रतिकार गरेको भनेरै निशाना बनाइएको उनी बताउँछन्।

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक