२०८१ बैशाख, ६
||NEWS LUMBINI |

टीकापुर हत्याकाण्डः सांसद रेशम चौधरी जेल चलान

कैलाली- टीकपुरमा भएको नरसंहारको मुख्य योजनाकारको आरोप लागेका सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । चौधरीले प्रतिनिधि सभा सदस्यका रुपमा पाउने सुविधा कायम राख्दै आगामी बुधबार उपस्थित गराउने गरी अदालतले जेल पठाउने आदेश दिएको हो ।२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा एसएसपी लक्ष्मण न्यौपाने र दुई वर्षिय बालक सहित ८ जनाको हत्या भएपछि चौधरी फरार थिए । कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका चौधरीले सोमबार बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेपछि बयान लिइएको थियो । कैलाली जिल्ला अदालतको इजलास नम्बर १ मा चौधरीको बयान लिइएपछि न्यायाधीश परशुराम भट्टराईको इजलासमा उनको बयान लिइएको थियो । न्यायाधीश भट्टराईको इजलासले टीकापुर हत्याकाण्डलाई राजनीतिक मुद्दाका रुपमा हेर्न नहुने पनि ठहर गरेको छ । त्यसैगरी अहिलेसम्म संकलित प्रमाणका आधारमा टीकापुर घटनामा रेशम चौधरीको सं‌लग्ना पाइएको ठहर पनि अदालतले गरेको छ । उक्त घटनामा चौधरीसहितका ५६ जनाको संलग्नता रहेको आरोपमा मुद्दा चलिरहेको थियो। यो घटनामा स‌ंलग्न भएको अभियोमा पक्राउ परेकामध्ये २३ जना कैलाली कारागारमा छन्। अन्य दुईजना भने नाबालक भएकाले अभिभावको जिम्मा लगाइएको थियो । २०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा उनी मुख्य दोषी रहेको आरोप लाग्दै आएको छ । चौधरी टीकापुर घटनापछि भारतमा लुकेर बस्दै आएका थिए । भारतमै रहेर राष्ट्रिय जनता पार्टीको तर्फबाट कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाह १३ हजार ४०६ मत ल्याएर पराजित भएकी थिइन्। -अन्नपूर्णपोष्ट

Facebook Comments Box

फेसबुक