म्याग्दी । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले ढुक्क भएर मतदानको तयारीमा लाग्न आग्रह गरेका छन्। पहिलो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको तयारी र सुरक्षाबारे क्षेत्रीय सुरक्षा अधिकारीसहित अनुगमनका लागि यहाँ आएका पौडेलले ढुक्क भएर मतदानको तयारी गर्न आग्रह गरेका हुन्।
बेनीमा राजनीतिक दल र सरोकारवालासँग भएको अन्तरक्रियामा आयुक्त पौडेलले संविधान नमान्ने पक्षबाट भएका छिटपुट निर्वाचन विरोधी गतिविधिबाट त्रस्त नहुन आग्रह गरे।
“उम्मेदवार र मतदातालाई त्रस्त बनाउने गतिविधि गर्नेलाई पक्राउ गरिएको छ” आयुक्त पौडेलले भने “मतदाता र उम्मेदवारको सुरक्षामा राज्य प्रतिबद्ध भएकाले राजनीतिक दललाई उच्च मनोबलका साथ आचारसंहिता पालना गर्दै चुनाव प्रचार तथा मतदाता शिक्षामा केन्द्रित हुन अनुरोध गर्छु। ” म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले विभिन्न राजनीतिक दलका प्रतिनिधि उम्मेदवार र मतदाताको सुरक्षा, चुनावलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन पहल भइरहेको जानकारी दिए।
यसैबीच बुधबारदेखि म्याग्दीका दुर्गमका मतदानस्थलमा चुनावका लागि कर्मचारी खटिएका छन्। मतदान सामाग्रीसहित सुरक्षाकर्मीको साथमा कर्मचारी कार्यक्षेत्रमा प्रस्थान गरेका हुन्। चुनावका लागि म्याग्दीमा ८४७ जना कर्मचारी र ४२२ जना स्वयंसेवक खटाइएको छ।
प्रतिनिधिसभामा एक, प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन्। एक नगरपालिका र पाँच वटा गाउँपालिका रहेको यस जिल्लामा ७२ मतदानस्थल र १०६ मतदान केन्द्र कायम गरिएको छ। तेह्रजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। रासस