तीज मनाएर माइतीबाट घर फर्किंदै गरेका महिलाहरू सवार जिप स्याङ्जाको गल्याङमा बुधबार दुर्घटना हुँदा एक बालकसहित ३ जनाको मृत्यु भएको छ। २३ जना घाइतेको पाल्पामा उपचार भइरहेको छ।
पाल्पाको हुँगीबाट आउँदै गरेको लु१ज ३८४१ नम्बरको जीप गल्याङको दिमिक भन्ने स्थानमा दिउँसो १२ बजे दुर्घटना हुँदा जीपमा सवार १० महिने बालक प्रसून परियार, वर्ष ३४ का मन्जु भण्डारी र वर्ष ७२ का सीता नेपालीको मृत्यु भएको गल्याङ प्रहरी चौकी प्रमुख यामनाथ बगालेले जानकारी दिए।
दुर्घटनास्थल स्याङ्जा सदरमुकामबाट झन्डै ४५ किलोमिटर दक्षिणपूर्वमा पर्छ। मंगलबार मात्र तिजको ब्रतको पूजाआजा सकिएपछि अधिकांश यात्रु महिला बुधबार घर फर्केका थिए।
बगालेका अनुसार जीपमा सवार २६ जनामध्ये बालकको घटनास्थलमै मृत्यु भएको हो। भण्डारी र नेपालीको भने उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो। बालक वालिङ नगरपालिका १४ का हुन भने भण्डारी र नेपाली रम्घा गाउँपालिका पाल्पाका हुन्।
पाल्पाबाट आएको जीपले गल्याङबाट आएको जीपलाई साइड दिने क्रममा सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। जीप पाल्पाको रम्भा गाउँपालिकाको हुगींबाट स्याङ्जाको गल्याङतर्फ आइरहेको थियो।
दुर्घटनास्थल सिद्धार्थ राजमार्ग नजिकै चापाकोट खण्डको बुटवल पावर कम्पनी नजिकको सडकबाट ४ सय मिटर तल खसेको हो। दिउँसो दुर्घटना भएका कारण उद्धार कार्य छिटो भएको प्रत्यक्षदर्शी पत्रकार केपी खनालले बताए।
उद्धारमा पुग्दा जीपभित्र कोही पनि नरहेको र जीपको नजिक २ जना चिच्चाइरहेका थिए भने अन्य यात्रुहरु भीरमा अड्केर रुदै चिच्याउँदै गरेको अवस्थामा देखेको खनालले सुनाए।
१४ सिटको अनुमति पाएको जीपमा झण्डै ३० जना यात्रु रहेको र उकालो बाटोमा विपरीततर्फबाट आएको अर्को सवारी साधनलाई साइड दिन खोज्दा दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शी खनाल बताउँछन्।
प्रहरी इन्चार्ज बगालेका अनुसार स्याङ्जाका गल्याङ र वालिङका गरी ३८ वर्षे सीता ज्ञवाली, ३० का राजकुमार विक, ४१ का दीपा ज्ञवाली, १५ का ज्ञानकुमारी अर्याल, १९ का सलिना परियार, ७ का संकिता विक, ७ का शिरिस विक, ५ का विश्व, ११ का आयुष्मा गैरे, १४ का विपिन परियार, १३ का सरिता परियार, ४९ का माया कँडेल रहेका छन्।
पाल्पाका १० वर्षे निसान सिंजापति, ९ का उज्जवल परियार, ७ का अंकिता परियार, २६ का कृष्ण सिंजापति, २२ का दुर्गाबहादुर सिंजापती, २३ का अप्सरा परियार, ३१ का सीता रेग्मी, १६ का सुमन विक, २० का सुदिप विक, १० का सविन रेग्मी र ९ महिनाका सुमन रेग्मी घाइते भएका हुन्। उनीहरूको पाल्पा मिशनमा र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।
-अन्नपूर्णपोष्टबाट साभार गरिएको हो