नायिका श्वेता खड्को सबैभन्दा पि्रय चाड थियो होली । तर, त्यो दुखदायी घटनापछि भने उनी रंगहरुसँगै तर्सिन थालिन् । होली खेल्न छोडिन् ।
तीन वर्षदेखि होलीमा बेरंग भएर बसेकी श्वेतालाई यसपाली भने परिवारका सदस्यहरुले धरै दिएनन् ।
‘बिहानै बाहिर एउटा मिटिङमा भाग लिएर घर फर्केकी थिएँ,’ उनले सुनाइन्, ‘सबै जनाले मलाई च्याप्पै समातेर रंग दलिदिनुभयो ।’
त्यसपछि भने उनी पनि खुलिन् । घरभित्रै आमा, भाई बुहारीसँग रमाइन् । फेसबुकमा लाइभ पनि देखाइन् । तर आज पनि बाहिर निस्कने भने उनको योजना छैन ।
‘विभिन्न कार्यक्रममा बोलावट आएको छ, तर कतै जान्न,’ उनले भनिन्, ‘घरमा आउनेहरुलाई रंग लगाइदिन्छु ।’
उनी आज श्रीकृष्ण श्रेष्ठ विवाहअघि खेलेको होली झल्झली सम्भिmरहेकी छिन् । उनीहरुले इजरायलमा नेपालीहरुसँग त्यो होली मनाएका थिए । तर, त्यो बेलाको फोटो आफूसँग नभएकोमा उनलाई थकथकी लागिरहेको छ ।
बाल्यकालको होली
‘होलीको खास उमंग त बाल्यकालमा पो थियो,’ श्वेता भन्छिन्, ‘शिवरात्रीदेखि नै हामीलाई होली लाग्थ्यो ।’
उनको घर पनौति चोकमा थियो । नजिकै घर अगाडिबाट बस र मोटरसाइकलहरु गुडिरहन्थे । उनी होली आउनुभन्दा कैयौं दिन अगाडिदेखि घरको छतमा बसेर तल हिँड्ने मानिसहरुलाई लोला र पानी फ्याक्थिन् । ताकेको मान्छेलाई लाग्यो भने खुशी हुँदै खित्खिताउँथिन् । कति हाँस्दै दौडिन्थे । कति रिसाएर धारेहात लगाउँथे । उनी खित्खिताउँथिन् । यसैमा थियो मज्जा ।
अरुलाई यसरी सताउने श्वेताले एक पटक आफूलाई पिचकारी हान्न आउँदा स्कुलमा एउटा केटालाई बेस्मारी गोदेकी छिन् ।
त्यो क्षण सम्झिंदै भन्छिन्, ‘होली आउनुभन्दा धेरै दिन अगाडिको घटना हो । म साथीहरुसँग बसिरहेको बेला हामीभन्दा तलको क्लासको एउटा केटा पिच्कारी ताक्दै आयो । मेरा सबै साथीहरु भागभाग भए तर, म भागिनँ । म ‘बाबु मलाई नहान है’ भन्दै उसको नजिकमा गएँ र उसलाई च्याप्पै समातेँ । त्यसपछि अरु साथीहरुलाई बोलाएँ । हामी सबै मिलेर उसलाई भुत्ल्याउँदै पिट्यौं ।’
-अनलाइनखबर