सरकारले आगामी तीन वर्षमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गरिसक्ने र निजढमा विमानस्थल निर्माण कार्य सुरु गर्ने योजना बनाएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा पेस गरेको मध्यकालिन खर्च संरचनामा आर्थिक वर्ष आर्थिक वर्ष २०७७÷७८ सम्म वार्षिक २० लाख पर्यटक नेपाल ल्याएर कूल ग्राहस्थ उत्पादनको ४ प्रतिशत आय पर्यटनबाट गर्ने उल्लेख गरिएको छ।
पर्यटकको संख्या वर्षेनी बढाउँदै जान हवाई पूर्वाधारमा लगानी पनि बढाउँदै जाने सरकारको योजना रहेको छ।
आगामी वर्ष देखि २०७७÷७८ सम्मको आय तथा खर्चको प्रक्षेपन गरिएको उक्त खर्चसंरचनाअनुसार पर्यटन क्षेत्रमा ७८ अर्ब खर्च गर्ने हुने प्रक्षेपन गरिएको छ।
हवाई तथा अन्य पूर्वाधारमा लगानी गर्न आगामी वर्षका लागि २३ अर्ब विनियोजन भएको छ। अर्को वर्ष २५ अर्ब खर्च गर्ने योजना बनाएको सरकारले अन्तिम वर्ष २९ खर्ब खर्च हुने बताएको छ।
तीन वर्षभित्र भैरहवाको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसक्ने र निजगढको विमानस्थल निर्माण कार्य सुर हुने सरकारी विश्वास रहेको छ। त्यस्तै पोखरामा पनि निर्माणाधिन हुने बताइएको छ।
यसको मतलब यो बीचमा भैरहवामा रहेको गौतम बुद्ध विमानस्थलको स्तरोन्नती भएर अन्तर्राष्ट्रिय उडान सुरु भइसकेको हुने छ। सरकारले लिएको लक्ष्यअनुसार काम भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य पनि सुरु हुने छ।
अबको बढीमा १८ महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनेगरी काम भइरहेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। हाल धावनमार्गको पिच गर्ने र टर्मिनल भवनको छाना हाल्ने काममात्र बाँकी रहेको बताइएको छ। यद्यपी त्यहाँको भौतिक पूर्वाधारको फिनिसिङ र अन्य प्राविधिक यन्त्रको जडान कार्य भने बाँकी रहेको छ।
निजगढमा बन्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएर नागरिक उड्डयन प्राधिकरणले रुख कटान आदेशका लागि वन मन्त्रालयमा आवेदन दिएको छ। अवको दुई वर्षभित्र मोडालिटी टुंगो लगाएर निर्माणस्थल खाली गरिदिने सरकारको तयारी रहेको छ।
२ वर्षपछि निर्माणको काम सुरु गरिसक्ने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ।
त्यस्तै देशभर १२ महिना चल्ने आन्तरिक विमानस्थलको संख्या २९ बाट ३७ बनाउने सरकारी योजना रहेको छ।
२०७७÷७८ मा २० लाख पर्यटक ल्याएर बसाई अवधि १४ दिन, प्रति पर्यटक खर्च ६६ डलर, रोजगारी १ लाख ६० हजार र कूल ग्राहस्थ उत्पादनमा ४ प्रतिशतको योगदान पु¥याउने लक्ष्य लिइएको छ।
साभार-सेतोपाटीबाट