२०७७ कार्तिक, १५

त्याे समयकाे विवाह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गत असोज ७ गते राष्ट्रकविका रुपमा ख्याति पाएका माधवप्रसाद घिमिरेले आफ्नो सयौँ जन्मदिन मनाए । उनको शरीर बुढो हुँदै गएको छ, उनलाई  आफ्नै बगैँचामा जाँदा डो-याउनुपर्छ । केही समयअघि रगत ‘इन्फेक्सन’ भएपछि कम हिँडडुल गर्ने गरेका घिमिरेको शरीर थाकेजस्तो देखिए पनि  उनको आत्मविश्वास, उनको अध्ययनशीलता र उनको निरन्तर लेखाइ–पढाइमा कुनै थकावट आएको छैन ।

राष्ट्रकवि माधव घिमिरे भन्छन्, ‘सफल दाम्पत्य जीवनको सूत्र भन्नु नै बराबरीको हैसियत र जिम्मेवारी बाँड्नु हो।’

हामी परिवारकर्मी दुई जना लैनचौरस्थित उनको निवास पुग्दा उनी ओशोको पुस्तक पढ्दै थिए । ओछ्यानमा नै बसेर पढिरहेका घिमिरेको छेउमा थिइन्,  उनकै अर्धाङ्गिनी महाकाली । वरिपरि राष्ट्रिय स्तरका पत्रपत्रिका छरिएका  थिए भने साथमा केही थान पुस्तक उनैलाई परिक्रमा गरेर थाकेजस्तै गरी बसेका थिए ।

थर्थराउँदै काम्ने उनका हातले समाएका पुस्तक हेर्दा यस्तो अनुभूति हुन्थ्यो, मान्छे सिकेर कहिल्यै थाक्दैन अनि सिक्ने अभिलाषा कहिल्यै रित्तिँदैन ।

राष्ट्रकवि घिमिरेलाई सय वर्ष पुग्दा पनि सिक्न बाँकी कुरा धेरै छन् जस्तो  लाग्छ । उनी भन्छन्, ‘यो संसारमा  सिक्नुपर्ने कुरा धेरै छन् । जान्नुपर्ने कुरा धेरै छन् ।’

हामी उनको निवासमा पुगेपछि हातमा रहेको पुस्तक थन्काउँदै घिमिरेले हाम्रो परिचय मागे । हाम्रो परिचय र पढाइ सोधेपछि उनले ‘के विषयमा कुरा गर्ने र ?’ भनी सोधे ।

जीवनमा दुई विवाह गरेका उनको अनुभव र अहिलेको विवाह प्रथाबारे कुराकानी गर्ने बताएपछि राष्ट्रकवि मुस्कुराए ।

विवाह एक संस्कृति 

हामीले सोध्यौँ, ‘तपाईंको विचारमा विवाह के हो ?’

केही छिन सोचेपछि मसिनो अनि काँपेको आवाजमा घिमिरेले सुस्तरी  आफ्ना भनाइहरु राख्न थाले । विवाहको परिभाषामा घिमिरे भन्छन्, ‘विवाह एउटा सांस्कृतिक कार्यक्रम हो । जसरी हाम्रो सनातन धर्ममा जन्मेपछि न्वारन, अन्नप्रासन, व्रतबन्ध, गुन्यूचोली छ, त्यस्तै विवाह पनि एउटा संस्कार हो ।’

उनले थपे, ‘विवाह दुई भिन्दाभिन्दै व्यक्तिबीचको सम्बन्ध हो । महिला र पुरुष सँगै बस्न पाउने, सन्तान जन्माउन पाउने, सबल र सभ्य समाज निर्माणको लागि विवाह एउटा राम्रो परम्परा हो । विवाह हाम्रो संस्कारमा यसै गरिन्न । बडो होसियारीका साथ गर्ने गरिन्छ । विवाह गर्ने महिला पुरुषलाई मात्र हैन, उसका आमाबाबु तथा इष्टमित्र सबैलाई चिन्ता र चासोको विषय हुन्छ । यो एउटा सामाजिक परम्परा हो । सामाजिक विषय हो ।’

‘हुन त अहिलेको पुस्तालाई विवाह एउटा व्यक्तिगत कुरा हो भन्ने पनि लाग्नसक्छ तर हामीले के कुरा बुझ्न आवश्यक छ भने जुनसुकै नियम पनि समय परिस्थितिअनुसार निर्माण भएको हुन्छ । त्यतिबेला त्यो ठिक हुन सक्छ । समय, काल, परिस्थितिअनुसार परिर्वतन भइरहने हुन्छ । पहिले  पहिले र अहिले पनि हाम्रो समाजमा विवाह एक सामाजिक परम्परा हो ।  योग्य केटा र योग्य केटीको दुवै पक्षको परिवार र इष्टमित्रले खोजी गरिरहेका हुन्छन् ।’

‘यो भयो मागी विवाह,’ उनले थपे, ‘अर्काे हुन्छ, प्रेम विवाह । परापूर्व कालदेखि नै यो चलिआएको चलन हो । तपाईंले जुनसुकै पुराना साहित्य होस् या धार्मिक ग्रन्थ हेरे पनि प्रेमको चर्चा पाउनुहुन्छ । प्रेम हुने भनेको एक त उमेर, उमंग र भावनाको कारणले हुन्छ । हाम्रो संस्कृति एक हिसाबले राम्रो छ, अर्काे हिसाबले भन्दा केही नराम्रो तङ्खवले विवाहमा नै किनबेच गर्ने गरेको पनि सुनिन्छ । यो संस्कृतिलाई दुषित पार्ने कार्य हो । यस्ता मान्छे जुन समाजमा पनि हुन्न्छन्।’

विवाह गर्दा रमाइलो 

पहिलो विवाह गर्दा घिमिरे १५ वर्षका थिए । उनकी पत्नी गौरी ९ वर्षकी थिइन् । पहिलो विवाहका बारेमा घिमिरे हाँस्दै भन्छन्, ‘१५ वर्षको उमेरमा विवाह गर्दा कम्ती त रमाइलो भएन ! फलानोको छोराको फलानीकी छोरीसँग विवाह गाउँभरि हल्लाखल्ला हुन्थ्यो । अर्काे रमाइलो त डोली चढ्न पाइन्थ्यो, अरुको काँधमा बस्न पाउनु सानो कुरा थियो र ?’ यसपछि राष्ट्रकवि चर्काेगरी हाँसे । केहीबेरको हाँसोपछि उनले थपे, ‘त्यसमाथि पञ्चेबाजाले डाँडाकाँडा हल्लिने । बडो रमाइलो गरी विवाह सम्पन्न भएको थियो ।’

पूजाआजा र यज्ञ गर्दा पनि रमाइलो अनुभव भएको उनी सुनाउँछन् । विवाह गरेको १३ वर्षपछि दुई सन्तानको पिता भइसकेका घिमिरेको जीवनमा वज्रपात आइलाग्यो, उनकी पत्नी गौरीको निधन भयो । २८ वर्षको उमेरमा एक्लिएका घिमिरेले गौरीको सम्झनामा ‘गौरी’ नामक खण्डकाव्य लेखे । यो खण्डकाव्य नेपाली समाजमा अझै पनि उत्तिकै लोकप्रिय छ ।

श्रीमतीलाई मान्छे नै नदेख्ने हाम्रोजस्तो समाजमा श्रीमतीको नाममा भावविभोर भएर पत्नीको यादलाई शब्दमा उतार्दा उनले केही आलोचना र केही प्रशंसा दुवै पाए ।

यसपछि उनको एक्लो जीवनमा साथ दिन आइपुगिन्, महाकाली ।  लमजुङकै दुराडाडाँमा जन्मिएकी महाकाली अहिले ८४ वर्षकी भइन् । घिमिरेको अनवरत साथमा रहेकी महाकालीलाई राष्ट्रकविले नै पढ्न सिकाएका थिए । महाकाली भन्छिन्, ‘ऊ बेलामा छोरीलाई पढाउन हुन्न भन्थे । त्यही भएर मैले पढ्न पाइनँ । संस्कृत त अझै पनि छिचोल्न सक्दिनँ, नेपाली भने सक्छु ।’

गौरीबाट दुई छोरीका पिता बनेका माधवप्रसाद घिमिरेले २००५ सालमा १३ वर्षकी महाकालीसँग बिहे गरेपछि समयक्रममा २ छोरा र ४ छोरी गरी ६ सन्तान जन्माइन् ।

साहित्य सिर्जनामा नै जीवनभर केन्द्रित घिमिरेले घर व्यवस्थापनको जिम्मा पत्नी महाकालीलाई नै दिए । दुवैले आफ्नो जिम्माको काम गरेकाले पनि आफ्नो कहिल्यै झगडा नपरेको घिमिरे बताउँछन् ।

बद्लिँदो नेपाली समाज

जीवनमा घिमिरेले धेरै कुरा देखे । राणाकालको अँध्यारो युग देखे, प्रजातन्त्रको स्थपना, राजाको पञ्चायती शासन, बहुदल र अहिले आएर गणतान्त्रिक शासनसम्म देखे । घिमिरे भन्छन्, ‘समाज परिर्वतन हुँदैछ । पुराना मूल्यमान्यता क्रमशः फेरिँदैछन् । पहिलेका मान्यता र अहिलेको मान्यता त धेरै फरक भइसक्यो ।’

यसरी समाज परिवर्तन हुनुलाई उनी सामान्य ठान्छन् । समय, काल, परिस्थितिअनुसार संस्कृति पनि परिवर्तन हुँदै जाने उनको कथन छ ।

पहिले र अहिलेको विवाहको फरकबारे घिमिरे भन्छन्, ‘पहिले विवाह  भावानात्मक हुन्थे । अहिले विवाह सम्झौताको हुन्छन् ।’ यसो हुनुमा नारी–पुरुष दुवै शिक्षित हुँदै जानु र अर्थोपार्जनमा पनि दुवैको संलग्नता रहनु रहेको उनको धारणा छ ।

समय बदलिएसँगै केही मूल्य–मान्यता पनि परिर्वतन हुँदै जानु स्वाभाविक रुपमा लिने घिमिरे धेरै पश्चिमा शैलीमा भने जान नहुने बताउँछन् । उनी भन्छन्, ‘पश्चिमा मन परे, बस्यो मन नपरे भोलिपल्टै डिभोर्स गर्छन् । यो बिल्कुलै गलत हो । सम्बन्धमा केही कम्प्रोमाइज गर्नैपर्ने हुन्छ । दुवै पक्षले कुरा बुझे, धेरै राम्रो । नभए एउटा आगो हुँदा अर्काे पानी भए मात्र सम्बन्ध समधुर हुन्छ तर चिन्ताको कुरा पश्चिमा हावाले हामीलाई पनि छोएको छ ।’

पूर्वीय संस्कृति नै उत्तम रहेको उनको भनाइ छ । संस्कृति मासिदै गएकोमा उनी चिन्ता प्रकट गर्दै भन्छन्, ‘संस्कृति नै नरहे हामी हुँदैनौँ । समाजको ऐना नै संस्कृति हो ।’

संविधान र सम्वन्ध 

१९१० सालमा बनेको मुलुकी ऐनबाहेक त्यसपछि बनेका राज्यको नीति, नियम, कानुन, संविधान बनेको समयमा प्रत्यक्ष देख्न भोग्न पाएका घिमिरे अहिले बनेको संविधानबारे पनि टिप्पणी गर्न छुटाएनन् । उनले भने, ‘पहिला विवाहलाई १६ वर्षको उमेरमा पक्का ठानिन्थ्यो । त्यहीअनुसार नीति, नियम बन्थ्यो तर अहिले अवस्था बद्लिएको छ । बिहेबारी, २० वर्ष पारि भनिएको छ । पढाइलाई महङ्खव दिइएको छ । यसले राष्ट्रमा सकारात्मक प्रभाव त पार्छ नै । यसो भन्दै गर्दा पहिलाको हाम्रो परम्परा  गलत थियो भनेर अहिले विरोध गर्नुको कुनै तुक म देख्दिनँ किनभने कुनै पनि नियम बन्दा त्यसबेलाको अवस्था, परिस्थितिअनुसार बनेको हुन्छ ।’

जात र सम्वन्ध 

जात र सम्बन्धको कुरालाई पनि नजिकैबाट नियालेका राष्ट्रकवि घिमिरेले जात भन्ने कुरा मान्छे आफैँले मानेको बताउँछन् । प्रेमको सीमामा कुनै जातभात नहुने उनको कथन छ । उनी भन्छन्, ‘यो जात, ऊ जात भनेर  आफैँले मानेको हो । सबैभन्दा महङ्खवपूर्ण कुरा, ज्ञान आर्जन गरेको छ वा छैन भन्ने हो । जात भन्ने कुरा प्रेममा हुँदैन ।’
पहिलेको तुलनामा नेपाली समाज जातमा पनि उदार हुँदै गएको उनी बताउँछन् ।

सम्बन्ध राम्रो बनाउने सूत्र

एकअर्काको आपसी बुझाइ नै प्रेम भएको राष्ट्रकवि घिमिरे बताउँछन् । एकले अर्कालाई अविश्वास गर्ने, शङ्का गर्न थाल्यो भने सम्बन्ध बिग्रन्छ । चियोचर्चो बढी ग¥यो कि सम्बन्ध बिग्रियो भन्ने बुझे हुन्छ । एकले अर्कालाई विश्वास र स्वतन्त्र हुन दिँदा मात्र सम्बन्ध समधुर हुन्छ ।’

मिलेर बस्यो भने त्यही घर स्वर्ग हुन्छ, मिलेर बसेन भने त्यो घर नर्क हुने उनको कथन छ ।

सकेसम्म श्रीमान्–श्रीमतीको पढाइ र जागिर एकै फिल्डको भए सँगै रहन सजिलो हुने घिमिरेको भनाइ छ । उनी भन्छन्, ‘दुवैले फरक–फरक ठाउँमा काम गर्ने भएपछि सँगै बस्न असहज हुन्छ । टाढा भइन्छ तर सकेसम्म आफ्नै फिल्डको खोज्नुभयो भने सहज हुन्छ ।’

भावना वा आवेगमा आएर प्रेम सम्बन्ध नहुने, त्यस्तो सम्बन्ध टिकाउ नहुने उनको ठम्याइ छ । ‘प्रेम घटित हुन्छ, चाहना र भावनाले मात्र हुँदैन,’ उनको टिप्पणी छ ।

पति–पत्नीबीच हरेक कुरामा परस्पर सम्झौता हुनुपर्ने घिमिरेको तर्क छ । सम्बन्ध राम्रो हुन मिलेर बस्न सक्ने क्षमता अनि चिन्तन गर्ने क्षमता हुनुपर्ने उनको भनाइ छ ।

कुनै पनि राष्ट्रको उन्नतिका लागि शिक्षा, विचारमा सम्पन्नता र माटो सुहाउँदो आर्थिक समृद्धि हुनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘तपाईंले  श्रीमान्–श्रीमतीको सम्बन्धमा कहाँबाट राष्ट्र विकासको सूत्र आयो भन्नुहोला, जे सुकै कुरामा पनि आइनैहाल्छ । श्रीमान्–श्रीमतीको सम्बन्धमा पनि राज्यले कस्तो नीति अँगालेको छ भन्ने कुराले भर पार्छ । श्रीमान्–श्रीमती दुवै जना शिक्षित र आर्थिक रुपले सम्पन्न छन् भने त्यो घर नै सफल हुन्छ ।’

सोचाइ पनि परिवर्तन हुँदै जानुपर्ने घिमिरेको भनाइ छ । धाराप्रवाह बोलेका घिमिरेलाई एकै छिन रोक्दै आडैमा बसिरहेकी घिमिरे पत्नी  महाकालीलाई  तपाईंहरुको सम्बन्ध बलियो हुनुमा कसको हात छ भनी सोध्दा कवि घिमिरे आफैँले भने, ‘घरको तालासाँचो उनैमा छ, मैले कहिले पनि उनीमाथि  कहिल्यै अविश्वास गरिनँ । उनले मलाई ’नि कहिल्यै शंका गरिनन् ।’

महाकालीतर्फ हेर्दै घिमिरे जिस्कँदै भन्छन्, हेर्नु त, अहिले ८४ वर्षकी भइन् तर पनि कति राम्री देखिएकी ! कति दह्री छिन् !’

महाकाली मुस्कुराउँदै भन्छिन्, ‘हामीबीच कहिल्यै पनि एकअर्काले गरेको काममा हस्तक्षेप भएन । काममा हस्तक्षेप हैन, सरसहयोग भयो भने  सम्बन्ध यसै मजबुत हुने रहेछ ।’

कवि घिमिरे आफ्नो घरमा बराबरी अधिकार भएको बताउँछन् । ‘उनी नभएको भए त मेरो कुन पो हालत हुन्थ्यो,’ महाकालीतर्फ हेर्दै घिमिरे  भन्छन् ।

चखेवाको जोडीझैँ रहेको यो जोडी सम्बन्ध राम्रो हुनुमा एकअर्काको घरमा बराबरी हैसियतमा भएको कारण रहेको ठम्याइ छ ।

‘अब खाना खाने बेला भयो,’ महाकालीले कुरा टुङ्ग्याउने सुरसार गर्दै भनिन् । घिमिरेले महाकालीतर्फ हेर्दै भने, ‘प्रेममा तर्क हैन महसुस गर्न सक्नुपर्छ ।’

अलिक कम कान सुन्छन्, घिमिरे । हामीले फोटो खिच्ने कुरा गरेपछि महाकालीतर्फ हेर्दै घिमिरेले सोधे, ‘यही लुगामा खिच्ने ?’

महाकालीले स्वीकृति जनाइन्, ‘हुन्छ, हुन्छ यसैमा ।’

आज्ञाकारी बालकझैँ घिमिरेले मुस्कुराउँदै भने, ‘लौ त, यसैमा खिच्ने ।’

हामीले महाकालीलाई घिमिरेको आडैमा बस्न भन्यौँ । १६/१७ वर्षको उमेरका केटाकेटीझैँ घिमिरेले पत्नी महाकालीलाई गम्लङ्ग अँगालो हाले । महाकाली मुस्कुराइन् ।

तस्बिर : कृष्पा श्रेष्ठ/नागरिक न्युजबाट साभार गरिएको हो

Facebook Comments

फेसबुक