२०८० असोज, ६
||NEWS LUMBINI |

दाङ्ग बस दुर्घटना- ‘राम्री’ले दिएको एउटा ‘नराम्रो’ पीडा

तुलसीपुरको ‘राम्री’ले सारा देशवासीलाई नै स्तब्ध बनाउने गरी एउटा नराम्रो पीडा दिएको छ।‘राम्री’ प्राकृतिक दृष्टिकोणले साँच्ची कै ‘राम्रो’ छ । तर जति राम्रो छ भौगोलिक जटिलताका कारण त्यति नै त्यो त्रासदीपूर्ण पनि छ।

राम्रीले यसअघि पनि यस्ता धेरै पीडाहरू दिइसकेको छ। राम्रीको बस दुर्घटनास्थलमा पुग्दा त्यहाँ यसअघि दुर्घटना भएका तर निकाल्न नसकिएका ट्याक्टर र मोटरसाइलकका भग्नावशेषले त्यही पुष्टि हुन्थ्यो। यही मोडबाट ट्याक्टर २०७१ र मोटरसाइकल २०७३ सालमा दुर्घटना परेका थिए। जो निकाल्नै नसकेपछि गाडीधनीले त्यसै माया मारेको हुँदा ती साधनका अवशेष अझै त्यही भिरमा अड्किएका छन्।

राम्रीको यो भयानक भिरमा दुर्घटनापछि अड्किएका विभिन्न खालका यातायातका साधनहरू फेला पर्नुले गर्दा पनि ‘राम्री’ जति ‘राम्रो’ छ, त्यो त्यत्तिकै त्रासदी पूर्ण छ भन्ने एउटा आभाष दिलाउँछ।

शुक्रबार सल्यानको शैक्षिक भ्रमण सकेर दाङतर्फ आउँदै गरेका विद्यार्थी, शिक्षक र चालक गरी २३ जनालाई समेत यही ‘राम्री’ले एकैपटक निलेपछि झनै यसको नाम त्रासदीपूर्ण स्थानको रूपमा चर्चामा छ। उसै यसकै नामबाट चर्चित गीतहरू यसअघि नै बनाइएका छन्।

दुर्घटनाका आधा दर्जन जति घाइते अझै उपचाररत छन्। उनीहरूलाई अब केही नहोस् भन्ने चाहना सबैको छ । त्यही यही ‘राम्री’ले बाँचुञ्जेल उनीहरूलाई एउटा ‘त्रासदीपूर्ण’ नमिठो पीडा दिने निश्चित छ।

‘राम्री’को यही डरलाग्दो भिरबाट बस सोझै खसेको थियो। त्यो भयानक तारेभिरबाट खसेको बस टुक्रा/टुक्रा अवस्थामा फेला परेको छ। घटनास्थलमा छरपस्ट अवस्थामा देखिने पाटपूर्जा नियाल्दा त्यो वर्षौं पहिले देखिको तर प्रयोगहीन ‘कबाड खाना’ जस्तै लाग्ने खालको लाग्छ।

दुर्घटनास्थलमा रित्तै मानिस पुग्न पनि निकै संघर्ष गर्नुपर्ने खालको छ। चारहात खुट्टाको साहराले मात्रै त्यो राम्रीको तारेभिरमा चढ्न संभव भएको थियो।

शुक्रवार दुर्घटनास्थल पुग्दा त्यहाँको कहालीलाग्दो दृष्य शब्दमा उतार्न असंभव देखेर संवाददाता फर्किएको थियो। जेहोस्, घटनास्थल नियाल्दा कतै पनि त्यहाँ दुर्घटनामा परेको साधन ‘बस’ नै थियो भनेर दाबी गर्ने स्पष्ट आधारहरू थिएनन्। कारण  बसको त्यस्तो कुनै पनि सग्लो भाग त्यहाँ छैन।

सुन्दर भविष्यको खोजीमा निस्किएका विद्यार्थी र शिक्षक जति दुर्घटनामा परी मृत्युको मुखमा पुगे। उनीहरूप्रति सबैले भावपूर्ण श्रद्धासुमन व्यक्त गरिरहेका छन्। त्यो निकै हृदयविदारक र अकल्पनीय दुर्घटना थियो। घटनास्थलमा उद्धारमा पुगेका पत्रकार, स्थानीय र सुरक्षाकर्मीले सायदै त्यो भयानक अनि कारुणिक पल भुल्ने छन्। मनबाट कहिल्यै पनि बिस्मृतिको गर्भमा त्यो उनीहरूले गाड्न सकुन्।

यति भनायक दुर्घटनामा परेर पनि बाँच्नेहरूले  साँच्चीनै यमराजलाई हराएकै मान्नु पर्छ। उनीहरू मृत्युलाई पछार्दै दोस्रो जन्म पाएका वीर योद्धा भन्दा कम हैनन्।

राप्ती लोकमार्ग अन्तरगत तुलसीपुरदेखि ठीक १३ किलोमिटर उत्तरमा पर्ने ‘राम्री’ सल्यानको कपुरकोट गाउँपालिकासँग सीमाना जोडिएको क्षेत्र हो। ‘सुन्दर राम्री’को पहाडबाट रसाउने मूलको पानीले वर्षौंदेखि तुलसीपुर बजारले प्यास मेट्दै आएको छ।  उखरमाउलो गर्मीमा समेत शितलता प्रदान गर्ने ‘राम्री’लाई धेरैले प्राकृतिक एसीको रूपमा अर्थ्याउने गर्छन्। गर्मी दिनमा यसको सुन्दरता र शितल छहारीसँग लुकामारी खेल्न यहाँ आन्तरिक तथा बाह्य पर्यटक पनि उत्तिकै पुग्छन्।

तर सुन्दर भए पनि अप्ठ्यारो र साँघुरो बाटोले गर्दा राम्रो ‘राम्री’ले दुर्घटनामा पर्ने र उनका आफन्तहरूलाई निकै ‘नराम्रो’ पीडा दिँदै आएको छ।

यस्तो छ दुर्घटनास्थल

दुर्घटनाका आकस्मिक हुने कुरा हो। यो सधैं अप्रत्यासित र अकल्पनीय हुन्छ। तर त्यसको प्रमुख कारण सडकको अवस्था,सवारीको अवस्था, चालकको लापरवाही नै मान्ने गरिन्छ।

दुर्घटनास्थल नियाल्दा पनि ओरालोमा झर्दै गरेको उक्त बस सोझैविपरित लेनबाट खसको छ। यो मोडमा सडकको बीच भागमा खाडल पनि छ। जेहोस्, ओरालो झर्दै गरेको बस सडकको  पूर्वी लेन छोडेर पश्चिम लेनका दुइटा सडक पोल भाँच्दै खसेको स्पष्ट देखिन्छ। त्यसपछि च्यूरीको रूखमा बस ठोक्किएको छ। त्यसदेखि झन्डै ७/८ सय मिटर तल बस खसको छ। राम्रीको त्यो सबैलाई विछिप्त पार्ने घटनास्थल नियाल्न शनिबार दिनभरी जसो त्यहाँ सयौं सर्वसाधारण पुगेका थिए। त्यहाँ पुगेका अधिकांशले फराकिला र राम्रो सडक बनाउन ध्यान नदिने नेताहरूलाई धारे हात लगाएर सत्तो सराप गरिरहेका सुनिन्थे।

त्यस्तै, कतिपले भने चालकको लापरबाहीले गर्दा कहालीलाग्दो दुर्घटना भएको दाबी गर्दै चालक थप जिम्मेवार बन्न आवश्यक रहेको तर्क गरिरहेका सुनिन्थे। कतिपयले अधिकांश सबै टिनयजर्स सवार बसभित्र मनोरञ्जनको नाममा होहल्ला भएको हुन सक्ने र त्यसैमा भुलेर चालकले मोडलाई ध्यान नदिएको तर्क गर्दै थिए। तर, जेहोस् बस तीव्र गतिमा थियो भन्ने स्पष्ट भएको प्रहरीले बताउँदै आएको छ। हुनसक्छ स्टेरिङले काम नगर्दा जोगाउन खोज्दा पनि चालकको कुनै उपाय चलेन ।

दुर्घटनाबारे सबैका आ–आफ्ना अनुमान हुन सक्छन्। चालक र सहचालकको समेत मृत्यु भएको हुँदा त्यो एउटा अड्कल बाजी मात्रै हो। दुर्घटनाका घाइते विद्यार्थीले पनि यसबारे केही अवश्य भन्लान् नै ।

दुर्घटनाको डेढ घन्टापछि मात्रै प्रहरी आए–स्थानीय

राम्रीको भिरबाट खसेको बस मुन्तिरको पैंयाखोरे गाउँभन्दा झन्डै एकसय मिटरमाथि सम्म पुग्यो। यहाँका गाउँलेहरूलाई कुनै पनि साधन दुर्घटना हुँदा त्यो सोझै बसमा आएर ठोकिन्छ कि भन्ने त्रासदी कायमै रहेको बताए ।

पैंयाखोरे निवासी २० वर्षीया खिमा रोकालाई २०७१ सालको घटना अझै भुलेकी छैनन्। जतिबेला ट्याक्टर दुर्घटना हुँदा उनको घरको ठीकमाथि ट्याक्टरको ट्रली आएर अड्किएको थियो। जो आज पनि त्यही छ।

खिमाका अनुसार शुक्रबार दिउँसो सवा ४ बजेतिर पनि त्यस्तै त्रासदी छायो। जब विद्यार्थी सवार बस राम्रीको भिरबाट खस्यो। त्यतिबेला उनको घरको ठीकमाथि जंगलमा ठूलो आवाज आयो।

राप्ती राजमार्गबाट खसेको बस पहिला सोझै एउटा डाँडोमा बजारियो र त्यो आवाज उनले प्रष्टै सुनिन्। त्यसपछि आत्तिदै दौडिएर घर बाहिर निस्किएको खिमाले बताइन्। फेरि लगत्तै त्यो आवाज त्यसमुन्तिरको अर्को पहाडमा आएको झनै स्पष्ट भयो। लगतै राम्री स्थित सडक खण्डदेखि झन्डै एकहजार मिटरको दूरीमा रहेको पैंयाखोरे गाउँको शान्ति भंग भयो।

आसपासमा रहेका आधादर्जन घरका मानिसहरू जम्मा भए। अरुसँगै खिमा पनि आवाज आएको स्थल जंगलतर्फ उकालो लागिन्। लगत्तै उनले बसको सिट जस्तो वस्तु देखेपछि यात्रुबाहक बस दुर्घटनामा परेको अनुमान गरिन्।

नजिकै दुई जना मानिसको शव देखिन्। केही माथि पुगेका गाउँलेहरूले त्यहाँ पनि अरु थुप्रै शवहरू देखेको बताएपछि उनी त्यसपछि डराएर त्यो हेर्न जान नसकेर फर्किएकी रहिछन्।

दुर्घटनाको १५ मिनेट पछाडि नै स्थानीयले केही घाइतेको उद्धार गरे । तर त्यो भयानक दुर्घटनामा परेका अधिकांश बाँच्ने संभावना  क्षिण थियो। लगत्तै गाउँलेहरूले प्रहरीलाई खबर गरे । तर प्रहरीले भने दुर्घटना भएको डेढ घन्टापछि मात्रै बस खसेको भिरमा पुग्न सक्यो। सुरूमा प्रहरी राजमार्ग हुँदै राम्रीको भिरमा पुगेको थियो। त्यहाँबाट झर्न संभव नभएपछि प्रहरी फेरि पैंयाखोरे गाउँ हुँदै बस खसेको तल्लो भागसम्म पुग्न सफल भएको थियो । तर त्यसपछि भने सुरक्षाकर्मीले निकै सक्रियता पूर्वक उद्धार गरे।

हिँड्नै नसक्ने स्थानमा रहेको त्यो तारे भिरबाट शव बोकेर ल्याए। त्यो पनि अन्धकार रातमा मोबाइल र लाइटको उज्यालोमा । प्रहरीले रातको १२ बजेसम्म सबै शवहरू निकालिसकेको थियो।  प्रहरीले शनिबार बिहानभर त्यो ठाउँमा फेरि खोजी गर्यो । तर थप अरू शवहरू फेला पार्न सकेन।

यो पनि:

मृतकको संख्या २३ पुग्यो, १५ जनाको सनाखत

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक