२०८१ भाद्र, २९
||NEWS LUMBINI |

दाहसंस्कार गरेको भोलिपल्ट छोरो जीवितै भेटियो

अर्घाखांचीमा मृत्यु भएको भनिएका व्यक्ति घरमा आएपछि परिवार तथा आफन्त नै आश्चर्यमा परेका छन् ।अर्घाखांचीको सितगंगा नगरपालिका २ मन्द्रे काठेपिपल निवासी ३४ वर्षीय कर्ण बहादुर चुंदारा मृत्यु भएको भनी परिवार र छिमेकीले दाहसंस्कार गरेपछि घर फर्किएका छन् ।

घरपरिवारमा समेत कम बोल्ने चुंदारा गत साउन ८ गते एकाएक घरबाट हराएका थिए । छोरा  हराएपछि उनका बुवा धनबहादुरले टोल छिमेक र प्रहरीमा छोरो हराएको भन्दै खोजी शुरु गरे ।

खोजी भइरहेकै बेला गत साउन १५ गते स्थानीयले खोलामा ढुंगामा अड्किएको अवस्थामा एउटा पुरुषको शव फेला पारे ।

साउन १५ गते सितगंगा १४ सिमरेनीस्थित बाणगंगा नदीमा ढुंगाको कापमा खुट्टा मात्र बाहिर देखिएको अवस्थामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।

बाबुआमासँग कर्णबहादुर

खोलाको पानीमा डुबेको र ढुंगामा च्यापिएको अवस्थामा फेला परेको शव सडेको कारण पहिचान हुन गाह्रो थियो ।

तर कर्णबहादुरका बुवा धनबहादुरले शवको हात खुट्टाका औंला, नङ र उचाई मिलेको भन्दै उक्त शव आफ्नै माईलो छोरा कर्णबहादुरका भएको दाबी गरेपछि प्रहरीले सोहि अनुसार मुचुल्का उठायो ।

मुचुल्का पछि पोष्टमार्टम समेत गरी परिवार र आफन्तले दाहसंस्कार कर्ण बहादुरको दाहसंस्कार गरे। तर लगत्तै खबर आयो- कर्णबहादुर जिउँदै छन्।

घरमा कर्णबहादुरको मृत्यु भएको भनी शव बुझेर दाहसंस्कार गर्दा उनका जेठा दाजु ओमबहादुर चुंदारा र आमा रिमाकला बिक भारतको हरियाणामा थिए ।

उनीहरूले पनि कर्ण बहादुरको मृत्युको खबर पाए। खबर सुनेर दुखित भए।

तर दाहसंस्कार गरिएको भोलिपल्ट कर्णबहादुर दाजु र आमा भएको हरियाणामा पुगे। त्यहाँ पुगेपछि उनी जीवितै रहेको खुल्यो ।

यसरी ‘मृत्यु भयो’ भनि दाहसंस्कार समेत गरिएको व्यक्ति जीवित रहेको खबर आएपछि उनलाई भारतबाट घरमा झिकाएर जीवित रहेको पक्का गरिएको छिमेकी रामप्रसाद भट्टराईले बताए ।

त्यस्तै भाईको मृत्यु भएको खबर पाएपछि दुःखित बनेका ओमबहादुरले भाईलाई जीवित देख्दा जति खुसी छ त्यो भन्दा बढि धेरै अर्कैको शव दाहसंस्कार गरेकोमा डर लागेको बताए ।

चुंदारा परिवारले पहिचान शवको सहिढंगले पहिचान गर्न नसक्दा बेवारिसे अर्कैको शवको दाहसंस्कार गरेपनि उक्त शवको बारेमा भने कोही कसैले मानिस हराएको भनी उजुरी नदिएको कारण कसको हो भन्ने थाहा हुन नसकेको प्रहरीले बताएको छ ।

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक