न्युजलुम्बिनी-‘सादा जीवन उच्च विचार’ यो जोकोहीले पनि प्रयोग गर्ने नारा हो । कुरा धेरै तर व्यवहारमा सबैभन्दा कम प्रयोगमा आउने नेपाली समुदायमा बढी प्रचलित वाक्यांश हो । तर, बुटवलका एकजना जनप्रतिनिधिको जीवनमा भने यो वाक्यांश हुबहु लागू हुन्छ ।
बुटवल उपमहानगरपालिका–७ का अध्यक्ष कमलप्रताप थापा वास्तवमै सादा जीवन बिताउँछन् । चुनावमा उठ्नुअघि मिलन चिलचित्र मन्दिरको टिकट काउन्टरमा काम गरेर जीविकोपार्जन गर्दै आएका उनले निर्वाचित भएपछि त्यो जागिर छाडेका छन् । तर, अध्यक्ष हुनअघि थापाको जे–जस्तो भेषभुषा, रहनसहन र आनीबानी थियो, त्यसमा अहिले पनि कुनै परिवर्तन आएको छैन ।
बुटवलका १९ वडाध्यक्षमध्ये अधिकांश सम्पन्न परिवारका छन् । धेरैजसो नगर कार्यपालिका कार हुँइक्याउँदै आउँछन् त कोही मोटरसाइकलमा आउँछन् । तर, थापा भने पुरानो साइकल चलाउँदै नगरपालिका पुग्छन् । उनलाई त्यो साइकल पनि नाति (ठूलीछोरीका छोरा)ले दिएका हुन् ।
२०१७ सालमा गुल्मीको पुर्कोट दहलमा जन्मिएका थापा सानै उमेरदेखि नै बाबुआमाको माया पाउनबाट वञ्चित भए । चार वर्षको हुँदैगर्दा आमाले अर्को विवाह गरिन् भने बुवाले पनि अर्की ल्याएर छुट्टै घरजम सुरु गरे । त्यसपछि उनको बाल्यकाल मामाघर पुर्कोट दहमै बित्यो ।
उनले २०२८ सालमा पुर्कोट दहस्थित तत्कालीन पृथ्वी माविबाटै एसएलसी परीक्षा दिए । तर, उत्तीर्ण हुन सकेनन् । सोही वर्ष उनी कपिलवस्तुको विरभुरमा बसाइँ सरे । त्यहाँ केही वर्ष बसेपछि २०३७ सालमा उनी बुटवलको दीपनगर आएर बस्न थाले ।
बुटवलमा आएपछि थापा झन्डै तीन वर्ष बुटवल–सुनौली रूटमा चल्ने गाडीको सहचालक भएर काम गर्न थाले । यातायात क्षेत्रमा काम गर्दागर्दै उनी नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आबद्ध भए । ‘त्यही बेला तत्कालीन एमाले नेता स्व. जीवराज आश्रितले गाडीको सहचालकको काम छोड अब जनतालाई प्रशिक्षण दिनुपर्छ, संगठनमा गोलबन्द गर्नुपर्छ भनेर आफ्नै टोल बुटवलका विभिन्न क्षेत्रमा पठाउनुभयो,’ उनले भने । बुटवल आएपछि २०४८ सालदेखि मिलन चलचित्र मन्दिरको गेटमा बसेर टिकट च्यात्ने र दर्शकलाई हलभित्र पठाउने काम गर्न थाले ।
२०७४ सालमा स्थानीय चुनावमा उनलाई टिकट दिने निधो भयो । तर, उनीसँग गोजीमा पैसा थिएन । टिकट त पाइयो तर चुनाव कसरी लड्ने ? उम्मेदवारी मनोनयनका लागि उनले १ हजार रुपैयाँ जसोतसो जोहो गरे ।
मालेको गढ बुटवल–७ मा थापाविरुद्ध कांग्रेस, तत्कालीन माओवादी केन्द्र, नयाँ शक्ति र राष्ट्रिय जनमुक्ति पार्टी एकता गरेर चुनाव लडेका थिए । थापाले चुनावी प्रचारमा १ रुपैयाँ पनि खर्च गरेनन् । सबै वडाबासी आफ्नै पैसा खर्च गरेर उनको प्रचारमा जुटे । कतिसम्म भने उनको फोटोसहितको प्रचार सामग्री पनि वडाबासीले नै बनाइदिए ।
सवारीसाधन आवश्यक छैन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेरो मोटरसाइकल किन्ने आर्थिक हैसियत छैन । सरकारी बजेटले बाइक किन्ने पैसा बरू वडाको विकासका लागि खर्च गरे राम्रो हुन्छ ।’
वडाको बैठक, नगरपालिकाको कार्यक्रम र अतिथिका रूपमा बोलाइएका कार्यक्रममा उनी समयमै पुग्छन् । दैनिक वडा कार्यालयमा आएर जनताका काममा सघाउँछन् । दैनिक हाजिर हुने थापालाई सेवाग्राहीले सजिलै काम अह्राउँछन् ।
वडाध्यक्ष भएपछि थापाले कार्यालयको खाजा खर्च पनि कटौती गरिदिए । पहिला खाजामा सयौं रुपैयाँ दैनिक खर्च हुँदै आएको थियो । आफ्नै खाजा बोकेर कार्यालय आउँछन्, सेवाग्राहीको काम सकेपछि खान्छन् ।
साभार- eranimahal. Com