२०८० असोज, ६
||NEWS LUMBINI |

नवजात शिशुको हेरचाह कसरी गर्ने ? भेट्नुअघि जान्नैपर्ने कुरा

मौसम परिवर्तन हने क्रम जारी छ । दिउँसो केही राहत महशुुस हुने तापक्रम रहेपनि बिहान बेलुकी चिसोपना बढ्दै गइरेको छ । जाडो मौषममा चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा गर्भवती महिलाहरुले बढी सास्ती खेप्नुपर्ने हुन्छ । जाडो मौसममा जन्मने शिशुहरुमा शरीरको तापक्रम कम हुने र चिसो लाग्ने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् । यस्तो अवस्थामा युवा तथा सक्रिय उमेरलाई त्यत्ति फरक नपरेता पनि बालबच्चा तथा बृद्धबृद्धाहरु बढी पिडित हुने गर्दछन् । त्यस माथि पनि अबोध र चलमलाउनै राम्रोसँग नसक्ने नवजात शिशुहरुको अवस्था झनै पिडादायी र कष्टकर हुने गर्दछ । यदि तपाईको घरमा पनि नवप्रवेशी शिशु छ भने यो समय उनीहरुका लागी सहज र समायोजन हुन योग्य बनाउने कर्तब्य तपाई आमाबुबाको हुने गर्दछ । र तपार्इं आफै पनि त्यस विषयमा बढी चिन्तित भइरहेको हुनु पर्दछ ।

केही दिनकै फरकमा रुघा मर्गी, खोकी, राती नाक बन्द हुने, स्वाँस्वाँ हुने, घ्यारघ्यार गर्ने, खाने वित्तिकै बान्ता गर्ने जस्ता समस्याहरु तपाईका लागी जटिल लागी रहेका हुन सक्दछन् । तपाईले नानीहरुलाई नजिकका फामेर्सी तथा क्लिनिकहरुबाट अनाधिकृत रुपमा औषधीहरुको प्रयोग गरिरहनु भएको हुन सक्दछ । त्यस कारण विना चिकित्सीय पूर्जा औषधिको प्रयोग गर्नु भन्दा हामी आफैले सतर्कता अपनाएमा नवजात शिशुहरुमा यस मौसममा आइपर्ने विविध श्वास प्रश्वास प्रणाली तथा पाचन प्रणली सम्बन्धि चिसोजन्य रोगहरुबाट बचाउन सक्दछौं ।

नवजात शिशुहरुलाई प्रशस्त स्तनपान
आमाको दूध अमृत समान भन्ने त सुनेको छौं तर कसरी भन्ने थाहा नहुदा र देखासिकीको लागि तयारी दूध बजारबाट ल्याएर खुवाइने हुँदा नानीहरु विविध रोगको संक्रमणमा पर्न जाने हुन्छन् । आमाको दूधमा नानीहरुलाई रोगसँग लड्न चाहिने रोग प्रतिरोधात्मक शक्तिको भण्डार हुने गर्दछ भने यसले चिसो तथा मौसम परिवर्तमा देखा पर्ने जटिलता, विभिन्न संक्रमक रोगहरु, र विभिन्न छाला नाका कान घाँटी सम्बन्धि संक्रमण विरुद्ध लड्न सक्ने बनाउँछ । त्यसैले अरु बेला भन्दा चिसो मौसममा बढी र अनिर्वाय रुपमा स्तनपान गराउनु चिसोबाट शिशुलाई जोगाउने उत्तम उपाय हो । सबैले पहिलो ६ महिना शिशुलाई अनिवार्य स्तनपान गराउनु पर्ने कुरामा समेत ध्यान दिनु पर्दछ ।

कोठा न्यानो राखौं
शिशु सुत्ने र राख्ने कोठाको आद्रता र तापक्रमलाई ख्याल गरि ब्यवस्थित गरिनु पर्दछ । नवजात शिशुलाई अरुलाई भन्दा बढी न्यानो आवश्यक पर्दछ । त्यसैले चिसो हावाको सिधा प्रवेशलाई रोक्ने र झ्याल तथा ढोकाहरु राम्रो र ब्यवस्थित गर्नुपर्दछ । तर संवातनलाई भने विशेष ख्याल गरिनु पर्दछ । त्यसै गरि कोठाको वातावरण न्यानो र ठिक भएमा शिशुलाई धेरै कपडाहरु लगाउन जरुरी पदैन् । बाक्लो र खापेर मोटो कपडा लगाएमा शिशुलाई पसिना आई त्यसैले चिसो लाग्ने गर्दछ । त्यस कारण सजिलो कपडा र न्यानो कोठा यो मौसमको जटिलताबाट जोगाउने अर्को उपाय हो ।

नवजात शिशुको हेरचाह कसरी गर्ने ?
चिसोबाट शिशुलाई जोगाउने ।
न्यानो कपडाहरु लगाइदिने ।
घाममा खाख्ने ।
शरीर तथा टाउकोमा तेल लगाइदिने ।
सुत्केरी महिला र शिशुलाई घाम लाग्ने कोठामा राख्ने ।
नियमित आमाको दुध चुसाउने ।

गर्भवती तथा सुत्केरी महिलाले ध्यान दिनुपर्ने कुरा
चिसोबाट जोगिने ।
चिसो खानेकुरा नखाने ।
पोषिलो र झोलिलो खाना नियमित खाने ।
मासु, अण्डा, गेडागुडी खानुपर्छ ।
घर बाहिर निस्किँदा बाक्लो र न्यानो लुगा लगाउने ।

जाडोको समयमा यस्तो गर्नु हुँदैन
बच्चा, गर्भवती तथा सुत्केरी महिलाले सर्दी (चिसो) लाग्ने खानेकुरा खानु हुँदैन ।
तातो बानाउने भनेर रुपमा धुँवा आउने गरी आगो बाल्नु हुदैन ।
बच्चाको आँखा, नाक, कान, पिसाव गर्ने अंगमा तेल लगाउनु हुँदैन ।
चिसो कोठामा बस्नु हुँदैन ।
चिया अत्याधिक पिउनु हुँदैन ।
शरीरमा पाउडर लगाउनु हुँदैन ।

– नानीहरुलाई दुध चुसाउन बित्तिकै भुइँमा छाड्ने या सुताउने गर्नुहुँदैन साथै आमाले सुतेर दुध चुसाउनु हुँदैन । यस्तो अवस्थामा शिशुले बान्ता गर्ने तथा बान्ता श्वास मार्ग तर्फ गई एस्पिरेट निमोनिया तथा अन्य छातीको संक्रमण हुन सक्दछ ।
– बजारमा उपलब्ध विभिन्न प्रकारका मोस्चुराईजर तथा बेबी क्रिमहरुको प्रयोगलाई निरुत्साहित गरिनु पर्दछ । प्रयोग गर्ने परेमा चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नु पर्दछ ।

–गह्रौं र बाक्लो बल्याङ्केट, सिरक तथा सिरानी आदीको प्रयोग नगर्ने जसले गहिरो निन्द्रमा आमाले थाहा नपाएर शिशु निसासिन सक्दछ ।

– शिशुको रक्त सञ्चार राम्रो होस् भन्ने हेतुले बदामको तेल, नरिवलको तेल या शुद्ध तरीको तेलले सुत्नु अगाडी मालिस गर्ने गर्नुपर्दछ । तर तेल प्रतिको संवेदनशिलता भने विचार गरिनु पर्दछ ।

–नाक बन्द भएमा मनतातो नुनपानीको घोल बनाई एक एक थोपा नाकमा चुहाउने गरेमा श्वासमा कठिनाई, घ्यार–घ्यार सामान्य खोकी समेत बन्द हुन्छ र शिशु राम्रो संग निदाउन सक्दछ । बजारमा विभिन्न ब्राण्डका नेजल ड्रप्सहरु पनि उपलब्ध छन् ।

–कोठामा आद्रता सन्तुलन गर्ने मेसिन जडान गरि शिशसलाई चिसोबाट बचाउन सकिन्छ । कोठा तताउन ठूलो हिटर, आगो बाल्ने तथा कोइला डढाउने प्रक्रिया शिशुका लागी हानिकारक हुन सक्छ ।
–उचित समयमा खोपको प्रयोग शिशुलाई विविध फ्लु तथा संक्रमणबाट बचाउने अर्को उपाय हो ।

–रेडिमेड दूध तथा गाईको दूध प्रयोग गर्नु पर्ने अवस्था आएमा उचित मात्रा मिलाएर खुवाउने तथा प्रयोग गरिने फिडिङ बोत्तल, बटुका, ग्लास, चमच आदि पानीमा प्रत्येक पटक उमाल्नु पर्दछ ।

तपाई पनि नवजात शिशु भेट्न जाँदै हुनुहुन्छ भने केही महत्वपूर्ण विषयहरुमा ध्यान दिनुहोस् ।

– जन्मेपछि ६ देखि ७ सातासम्म शिशुको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुने भएकाले बच्चा नजिक पुग्दा वा बच्चालाई हेर्दा तपाईको हात खुट्टा राम्रोसँग साबुन पानीले धुनुपर्छ ।

– नवजातहरुलाई गन्धप्रति त्यत्ति धेरै चेतना नहुने भएपनि शरिरमा अत्यधिक अत्तर छर्केर नजानुहोस् । शिशुलाई एलर्जी हुने सम्भावना हुन्छ ।

– धुमपान गर्र्ने बानी भए अन्तिम पटक चुरोट पिएको १ घन्टापछि मात्र बच्चालाई भेट गर्नुहोस् । मुख बेस्सरी कुल्ला गर्नुहोस् र चुरोटको गन्ध हटाउनुहोस् ।

– सानो र आकर्षक शिशुलाई काखमा लिने धेरैको चाहना हुन्छ तर त्यसो गर्दा तपाईँसँग भएका ब्याक्टेरिया सर्न सक्छन् भने अर्कातिर अपरिचित व्यक्तिले समाउदा शिशुले असजिलो महशुस गर्ने वा मनोवैज्ञानिक अशर पर्ने गर्छ ।

– तपाईलाई निरन्तर खोकी, हाच्छँयु वा यस्तै अन्य लक्षण छ भने भने बच्चालाई नभेट्नुहोस ।

Facebook Comments Box

फेसबुक