२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

नागरिकता नहुँदा अवसरबाट बञ्चित युवा

वीरेन्द्रनगर–१० बेलघारीमा जहाँ करिब दुई सय घरधुरीको मुस्लिम समुदाय छ।

समुदायमा थुप्रै युवा छन्। तीमध्ये केही युवाहरू नागरिकताबाट बञ्चित छन्।

नागरिकता नभएकै कारण युवाहरूले आफ्नो सीप सदुपयोग गर्न पाएका छैनन् भने योग्यता अनुसारको रोजगारीमा पाएका छैनन्।

नागरिकता नभएकै कारण उक्त बस्तीका युवाहरूले विभिन्न संस्थाबाट लिन मिल्ने ऋण सुविधाबाट समेत बञ्चित हुनुपरेको छ ।

सोही समुदायमा बस्ने ईद्मा बिबीको परिवार जसले त्यस्तै समस्या भोगिरहेको छ।

उनका परिवारमा नागरिकता प्राप्त गर्ने उमेर समूहका ८ जना सदस्य छन्। तीमध्ये ईद्माको मात्र नागरिकता छ, अरु सबै नागरिकताविहीन ।

ईद्माका दुई छोरा, दुई छोरी छन्। एक छोरा डकर्मीको कामसँगै गाडी चलाउने सीप जानेका छन्। नागरिकता नभएपछि उनले सवारी चालक अनुमति पत्र प्राप्त गर्न सकेका छैनन्।

गैरसरकारी संस्थामा रोजगारीका लागि आवेदन दिने तयारी गरे, तर नागरिकता नभएपछि अड्किए। अहिले ज्यालामा डकर्मीको काम गरिरहेका छन्।

अर्का छोरा नेपाली सेनामा भर्ती हुन चाहन्थे। उमेर पुग्यो, सेनामा भर्ती हुनका लागि जाने योजना बन्यो । तर, नागरिकता बनेन। उनको सैनिक बन्ने सपना गर्भमै तुहियो। यसरी नागरिकता नभएपछि सीप र योग्यदा हुँदाहुँदै पनि ईद्माका दुवै छोराका लागि अवसरका ढोका खुलेनन्।

आमाका नामबाट सरकारले नागरिकता नदिने भएपछि ईद्माका छोराछोरीसहित यस बस्तीका युवाहरू नागरिकताविहीन हुनुपरेको हो।

ईद्मा बिबी सुर्खेतकी हुन्। उनका श्रीमान् मुस्तकिम सेक भारतका हुन्। अहिले मुस्तकिमको जन्मथलो जस्तै बनेको छ सुर्खेतको बेलघारी। सानै छँदा सुर्खेत आएका मुस्तकिमलाई आफ्नो देश भारत हो भन्ने भान छैन।

‘दुख पाएर उनी यहाँ आएर ज्याला मजदूरी गरिरहेका रैछन्, म १६/१७ वर्षको हुँदा नै मेरा माइतीले उनीसँग विवाह गराइदिएका हुन्’ ईद्माले भनिन्, ‘श्रीमानलाई भारतमा आफ्नो थलो थाहा छैन, हामी भारत जाने कुरा भएन यहीँ बस्यौं, मेरो नागरिकता छ, श्रीमानको छैन, त्यसैले मेरा छोराछोरीले नागरिकता पाएनन्।’

ईद्मा छोराछोरीको नागरिकताका लागि सम्बन्धित निकाय नधाएकी पनि होइनन्।

‘जन्मदर्ता लिएर चार पटक नगरपालिकामा गएँ, कम्तीमा पनि ८ पटक त म जिल्ला प्रशासनमै गएँ’ उनले भनिन्, ‘यसरी धाउँदा पनि उनीहरूको नागरिकता बनेन, नागरिकता बनाउनका लागि जन्मदर्ताको काम छैन फाल्दिनुस् भने कर्मचारीले ।’

उनको जनप्रतिनिधिसँग पनि गुनासो छ। ‘भोट माग्न दैलोमा आउँदा तपाईंका छोराछोरीको नागरिकता बनाइदिन्छु भन्नेहरू जितेर गएपछि चिन्दैनन्’ ईद्माले भनिन् ‘हाम्रो सरकार आएपछि आमाको नामबाट नागरिकता दिने व्यवस्था मिलाउँछौं भन्नेहरूलाई त हामीले भोट दिएका हौं, खोई त्यो व्यवस्था ?’

ईद्माको केही समय छोराछोरीको नागरिकता नबनेकोमा चिन्ता थियो। अहिले नागरिकता नभएकै कारण छोराछोरी सीपसहितका बेरोजगार भएको चिन्ता छ। ‘मेरो माग यही हो कि मलाई कि भारत लखेट्नुस् कि त छोराछोरीलाई नागरिकता दिनुस्’ उनले भनिन्, ‘छोराहरू आर्मीमा भर्ती हुन चाहे भएनन्, पढेलेखेकी छोरी ठूलो पदमा जान सकिनन्, अरुभन्दा त छोराले जानेको सीप गाडी चलाउन समेत पाएका छैनन्।’

नागरिकता नबनेपछि छोराहरू अहिले आफूसित गुनासो गरिरहेको ईद्मा बताउँछिन्। बुहारी साफिया बानुले स्थानीय एक सहकारीबाट १ लाख ऋणका लागि आवेदन दिए पनि नागरिकता नभएपछि लिन नसकिएको उनले बताइन्।

आमाको नामबाट नागरिकता दिने प्रावधान नहुनुले युवाहरू नागरिकताविहीन हुनुपरेकोमा स्थानीय मैमु दीन पनि चिन्तित छन्।

‘यहाँ नागरिकता नभएकै कारण कतिपय युवाहरू अवसरबाट बञ्चित हुनुपरेको छ,’ उनले भने, ‘यो बस्तीमा भारतबाट आएकाहरूले यतै बिहे गरेर बसेका छन्, न उनीहरूको नागरिकता छ न उनका छोराछोरीको नागरिकता छ, यस्ता त नेपालमा धेरै होलान्, चाँडै आमाको नामबाट नागरिकता दिने व्यवस्था ल्याउनुपर्छ।’

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक