२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

‘‘निवस्त्र’’ पारेर महिला कुट्ने दुई महिलालाई ६ महिना जेल

नारायण खड्का, दाङ्ग-‘निवस्त्र’ पारेर सार्वजनिक स्थलमा एक महिलामाथि निर्घात कुटपिट गर्ने दुई महिलालाई स्थानीय प्रशासनले ६ महिना कैद गर्ने निर्णय गरेको छ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुनलाई दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी (जेठानी दिदी बहिनी) ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ताले जग्गा बेच्दिन भन्दा ‘निवस्त्र’ पारेर सार्वजनिक रूपमै निर्घात कुटपिट गरेका थिए।

जेठ २५ गते दिउँसो दिलमाया पुन भालुवाङस्थित आफ्नो जग्गा (घडेरी) हेर्न आएको समयमा बलजफती घडेरी बेच्न भन्दै गुप्ताका जेठानी दिदी बहिनीले ‘निवस्त्र’ पारेर अमानवीय तरिकाले सार्वजनिक रूपमै कुटपिट गरेका थिए।

घटना भएकै दिन प्रहरीले सामान्य झगडा भन्दै  मिलापत्र गराई दिएर  छोडेको भए पनि  एउटा महिलामाथि दुई जना महिलाले ‘निवस्त्र’ पार्दै अमानवीय ढंगले कुटपिट गरेको  भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्रै प्रहरीले जेठ २७ गते पिडक गुप्ताद्वयलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेले बुधबार दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले ‘निवस्त्र’ पारेर एउटी महिलालाई सार्वजनिक रूपमा कुटपिट गर्ने गुप्ताद्वयलाई ६ महिना कैद, जनही २५/२५  हजार जरिवाना र ७ हजार ८ सय २० रुपैयाँ उपचार खर्च भराउने निर्णय गरेको जानकारी दिए।

कुटपिटमा संलग्न गुप्ताद्वयलाई दुई पटक गरी १८ दिन थुनामा राखेर अनुसन्धान र सोधपुछ पछि उनीहरूको कसुरका आधारमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ६ महिना कैद गर्ने निर्णय गर्न आदेश दिएको ईप्रका भालुवाङका प्रमुख पाण्डेले सेतोपाटीलाई बताए ।

‘लामो अनुसन्धानपछि हामीले बुधबार मात्रै सिडियो साप कहाँ मुद्दा पेश गरेका थियौं र त्यसैका आधारमा सिडियो सापले ६ महिना कैद गर्न आदेश दिनु भएको हो,’ प्रहरी निरीक्षक पाण्डेले भने ।

यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले घटनाको सबै विवरण र प्रकृतिको अध्ययन र अनुसन्धान गर्दा ६ महिना कैदसहित अन्य आर्थिक जरिवाना गर्दा उपयुक्त भएको ठहरको साथ त्यस्तो निर्णय गरेको सेतोपाटीलाई बताए ।

गुप्ता द्वयलाई दाङको तुलसीपुरस्थित कारागारमा बुधबारदेखि थुनामा राखिएको छ । प्रहरीले कुटपिटमा संलग्न दुबै महिलाविरुद्ध केही सार्वजनिक अपराध अन्तरगत मुद्दा चलाएको थियो ।

पुनमाथि भएको अमानवीय कुटपिटको घटना सार्वजनिक भए लगतै त्यसको चौतर्फी आलोचना भएको थियो । जिल्लामा क्रियासिल महिला अधिकारकर्मी, मानव अधिकार तथा शान्ति समाज, विभिन्न राजनीतिक दलहरुले कुटपिटमा संलग्न दोषीलाई कसुर अनुरुपको कानुनी कारवाही गर्न माग गर्दै आएका थिए ।

यो पनि हेर्नुहोस्:

Facebook Comments Box

फेसबुक