२०८१ असोज, ३०
||NEWS LUMBINI |

नेतृत्वमा आउन देशैभरिबाट मलाइ ठूलो दबाब छ- चन्द्र ढकाल

बागलुङको अमलाचौरमा वि.सं २०२२ मा जन्मिएका चन्द्रप्रसाद ढकालको अहिले एक सफल व्यवसायी हुन । तर उनको उद्यमशीलताको यात्रा भने त्यति पुरानो छैन । सन् २००० बाट व्यवसायिक यात्रा सुरु गरेका ढकाल अहिले उनी आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्ष छन् । नेपालमा बैंक तथा वित्तीय सेवालगायत जलविद्युतका क्षेत्रमा पनि उनको ओझपूर्ण उपस्थिति भइसकेको छ ।

ढकालले नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत्रमा हुने ५४औं वार्षिक साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा छ । महासंघमा वरिष्ठ उपाध्यक्ष विधानत स्वतः अध्यक्ष हुने व्यवस्था छ । प्रस्तुत छ यीनै विषयमा केन्द्रित रहेर ढकालसँग गरेको कुराकानीको सारांश-

-तपाईले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी घोषणा गर्नुभयो । कस्तो छ त निर्वाचनको तयारी ?

औपचारिक रुपमा मैले अझै मेरो उम्मेदवारी घोषणा गरेको छैन । बाग्लुङ उद्योग वाणिज्य संघले आयोजना गरेको बागलुङ महोत्सवका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा केन्द्रीय पदाधिकारी, विभिन्न प्रदेश, जिल्ला र नगर उद्योग वाणिज्य संघका साथीहरु त्यहाँ उपस्थित हुनुहुन्थ्यो ।

म त आफ्नो जन्मस्थानको महोत्सवमा भ्याएसम्म हरेक पटक पुगेकै छु र यसपटक पनि गएँ । त्यहाँ साथीहरुले मलाई वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारीका लागि प्रस्ताव गर्नुभएको हो । उहाँहरुले गरेको सो प्रस्तावलाई मैले हुन्छ भनेको मात्र हो । म तपाईलाई भनौँ ? अहिले म लगभग हरेक हप्ताजस्तो कुनै न कुनै जिल्लामा आयोजना भएका मेलामहोत्सव हुन् प्रदेश, जिल्ला नगरहरुले गर्ने साधारणसभा या अन्य कार्यक्रममा पुगेको हुन्छु र सबै तिरको मोडेल त्यस्तै हो ।

ती कार्यक्रमहरुमा अधिकांशमा पूर्वप्रधानमन्त्रीज्यूहरु, उपप्रधानमन्त्रीज्यूहरु, मन्त्रीज्यूहरु, मुख्यमन्त्रीज्यू, प्रदेश सरकारका मन्त्रीज्यूहरु, विभिन्न दलका नेताज्यूहरु, जिल्ला नगरको नेतृत्वमा रहेका साथीहरु लगायत हुनुहुन्छ । यस्ता कार्यक्रममा बोल्ने क्रममा उहाँहरुले तथा लगभग सबैजसो व्यवसायीहरुले बोल्ने क्रममा होस् या अनौपचारिक बसाइका क्रममा होस् प्रत्येकले मलाई नेतृत्वमा आउन आग्रह गरिरहनुभएको हुन्छ ।

एक किसिमले भन्नु न दबाब नै दिइरहनुभएको छ । तर यो सकारात्मक दबाब भएकोले मैले पनि त्यो आग्रहलाई स्वीकार गरेको छु । अनि म बोल्ने क्रममा मेरो स्वीकारोक्तिको सार्वजनिकीकरण गरेको छु ।

-त्यसो भए तपाईँले घोषणा सभा नै गरेर औपचारिक घोषणा गर्दै हुनुहुन्छ ?

हो, म छिट्टै गर्दैछु । सम्भवत काठमाडौँमै गरौँला । म किन महासंघको नेतृत्वमा जानुपर्छ भन्ने कुरा पनि त्यही कार्यक्रममार्फत म तपाईँहरु र तपाईँहरुमार्फत सबैलाई जानकारी गराउनेछु ।

-वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा त आगामी वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको घोषणा सभामा जानुभएको थियो त ?

हजुर, जानुभएको कुरा मैले पनि मिडियामार्फत जानकारी पाए । उहाँ वेटिङ्ग अध्यक्ष हो त्यसैले उहाँले सबैलाई समान व्यवहार गर्नुपर्ने हुन्छ । चुनावबाट आउने जो सुकै पदधिकारी पनि उहाँका लागि आफ्नै टिम हो भन्ने लाग्छ मलाई । हिजो किशोर जीको घोषणा सभामा शेखर जी जानुभयो । उहाँ मेरो घोषणा सभामा पनि आउनुहुन्छ होला । त्यो स्वभाविक हुन्छ ।

किनकी उहाँले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने हुन्छ ।
मलाई विश्वास छ मेरो घोषणा सभामा महासंघका अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, वर्तमान कार्यसमितिका पदाधिकारीज्यूहरु, जिल्ला नगर, वस्तुगतका अध्यक्षज्यूहरु तथा अन्य सुभेच्छुकहरुको उपस्थिति रहने छ र उहाँहरुको पनि समर्थन रहनेछ ।

-त्यसो भए वरिष्ठ उपाध्यक्षको निर्वाचन हुने नै भयो त ? निर्वाचन जित्नेमा तपाईँ आफू कत्तिको ढुक्क हुनुहुन्छ ?

हेर्नुस, उपाध्यक्ष भएदेखि नै लगभग नेपालभर निरन्तर पुगेको छु महासंघकै काम र कार्यक्रमहरुमा। कतिपय अवस्थामा प्रदेश, जिल्ला नगर तथा वस्तुगत संघका साथीहरुले मलाई नै विशेष आग्रह गरेर बोलाउने गर्नुभएको छ। अधिवेशन, साधारण सभा हुन् या ठाउँ ठाउँमा भए गरेका महोत्सव या अन्य कार्यक्रमहरु । मिलेसम्म र भ्याएसम्म म पुगेको छु ।

बडो सहृदयाताका साथ साथीहरुले बोलाउनुभएको छ र आफ्ना समस्या, गुनासा र अप्ठेराहरु राख्नुभएको छ । उहाँहरुका सुख, दुखका धेरै कुरा मैले सुनेको छु र सक्नेसम्म समाधानमा लागिपरेको पनि छु जुन कुरा साथीहरुले मनन् पनि गर्नुभएको छ । मैले यो पृष्ठभूमि यहाँ किन दिइरहेको छु भने मलाई उहाँहरु हरेकले नेतृत्वमा आउन एक पटक होइन कि पटक पटक अनुरोध गर्नुभएको छ ।

फेरि त्यो चुनावी भाषा या आग्रहमा कदापि होइन, हृदयदेखि नै गर्नुभएको छ। त्यो कुरा मैले महसुश पनि गरेको छु। त्यसैले मलाई महासंघको नेतृत्वमा आउन ठूलो दबाब छ । उहाँहरुको ठूलो सदासयता र आग्रह छ ।

त्यसैले देशभरका आदरणीय व्यवसायी साथीहरुको दबाब र सदासयताका कारण पछि हट्न मिल्ने र सक्ने अवस्था नै छैन। त्यसैले वरिष्ठ उपाध्यक्ष हुनेमा म ढुक्क छु ।

– नेतृत्वमा आउनलाई साथीहरुसँग तपाईँको अपिल के हो ?

हेर्नुस, म कुनै सम्भ्रान्त व्यापारिक पृष्ठभूमिको मानिस होइन । मेरो पृष्ठभूमि कुनै घरानियाँ व्यापारीको होइन भन्ने कुरा तपाईँलाई या जोसुकैलाई पनि थाहै छ, जुन कुरा मैले आफ्नो अभिव्यक्तिहरुमा बारम्बार भन्दै पनि आएकै छु ।

म सानो पसलबाट यो अवस्थामा आएको हुँ । हुनत म अहिले पनि केही होइन किनभने गर्नुपर्ने अझै धेरै छ । तर पनि गाउँबाट आएर काठमाडौँमा एउटा सामान्य पसल र त्यो भन्दा अघि सामान्य एक सहायकस्तरको जागिरबाट शुरु भएको मेरो ‘करियर’ आजका दिनसम्म आइपुग्दा म खुशी नै छु । हो, यसैगरी मेरोजस्तो सानोतिनो व्यवसायीलाई खुशी बनाउने नै मेरो उद्देश्य हो ।

नेपाल सानो देश हो र यहाँको अर्थतन्त्र पनि सानै छ। फेरि निम्न आय र स्तरका नेपाली दाजुभाइ दिदीबहिनीहरुले बिदेशमा गएर रगत पसिना पोखेर जम्मा गरेको दुई चार पैसालाई औपचारिक माध्यमबाट नेपाल भित्र्याएर उनीहरुका आमाबुबा र लालाबालाका हातमा पुर्‍याइदिने पेसा गरेकोले उनीहरुको आशु पनि अरुले भन्दा मैले नै बढी देखेको छु जस्तो लाग्छ ।

हो, त्यहाँनेर उभिएर हेर्दा पनि यो देशको विकास पनि साना र मझौला उद्योगहरुको विकास, तिनीहरुको संरक्षण र सम्बर्धनबाट नै हुन्छ भन्ने मलाई लाग्छ । जसले पनि आफ्नै ‘ग्राउन्ड रियालिटी’ कै वरपर रहेर काम गर्ने हो ।

जसले पनि पहिला हेर्ने र न्याय गर्ने भनेको आफूले टेकेको धर्तीकै हो । अनि भनिन्छ नि खुकुरीको चोट अचानोले मात्र थाहा पाउँछ । हो, त्यसैले मैले पनि यस्तै व्यवसायीलाई न्याय दिलाउने कामलाई पहिलो प्राथमिकतामा राख्नेछु । म उहाँहरुलाई नै उत्साहित र प्रोत्साहित गर्ने, उहाँहरुकै सफलतामा रमाउने र उहाँहरुका हातमा साथ मिलाउने हो ।

तर संसार बहुआयामिक भएसँगै हाम्रो देशमा पनि वैदेशिक र ठूला लगानी पनि छन् र भित्रिँदै पनि छन् । तिनको सुरक्षामा काम गर्नुपर्ने दायित्व पनि महासंघको हो । ठूलो लगानीको सुरक्षा हुन नसक्ने हो भने पनि देशले लिएको समृद्धिको यात्रा पूरा हुन सक्दैन । यी सबै कार्यका लागि सरकारसँगै नेगोसियसन गर्ने हो ।

व्यवसाय र व्यवसायीहरुको हितमा म एक व्यवसायी लाग्ने हो । हाम्रा सोँच, प्रयास, संघर्ष र अभियानहरुले अरु केही नभएर देशमा लगानीमैत्री, व्यवसाय मैत्री र व्यवसायीमैत्री वातावरण बनाउने हो ।

त्यसका लागि देश घुमेको र साना ठूला सबै व्यवसायी साथीहरुको समस्या बुझेको तथा आफै पनि सामान्यबाट व्यवसाय थालेको म जस्तो व्यक्तिले यहाँसम्म आइपुग्दा देखेका, भोगेका संघर्षहरुलाई व्यवहारमा उतारेर आगामी दिनका लागि महासंघलाई सबैको साझा र शीतल चौतारी बनाउने नै हो । यसका लागि मसँग केही भिजनहरु छन् जुन मलाई लाग्छ देशैभरिका व्यवसायी साथीहरुले अनुमोदन गरिसकेका छन् । तिनै भिजनहरुलाई राज्यमा लागू गर्ने हो जसले देशमा व्यवसायमैत्री वातावरण निर्माण गर्नेछ ।

-तर सबैले भन्ने यस्तै होला नि । वरिष्ठ उपाध्यक्षमा चुनाव जित्ने तपाईको मूख्य आधार के हो त?

सम्भवत महासंघभित्र म मात्र त्यस्तो व्यवसायी होला जसको व्यवसायिक नेटवर्क ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । हरेक जिल्ला तथा नगरसम्म हाम्रो व्यवसायिक सञ्जाल छ ।

रेमिट्यान्स, बैंक, इन्सुरेन्स, मोटर्सलगायत धेरैक्षेत्र मार्फत जिल्लाका व्यवसायी साथीहरुसँग हामी जोडिएका छौ । यसले पनि मलाई जिल्लास्तरमा व्यवसायीहरुले भोग्ने समस्या तथा चुनौतिको पूर्ण जानकारी छ । सानो व्यवसाय सुरु गरेर अहिलेको आइएमई ग्रुपको अवस्थामा पुगेकोले मेरो सानादेखि ठूला व्यवसायी सबैसँग सम्बन्ध रहेको छ भने साना देखि ठूला सबै व्यवसायीले भोगेका समस्याको मलाई अवगत छ । मैले महासंघको नेतृत्व दावी गर्नको पछाडि यी कुराहरुकोे निकै महत्वपूर्ण स्थान रहन्छ ।

-सरकारपछि देशभर सञ्जाल रहेको महासंघको गतिविधि त्यति प्रभावकारी देखिदैन नि । के महासंघ व्यवसायीको राजनिति गर्ने थलो मात्र बनेको हो?

त्यस्तो विल्कुल होइन । महासंघले आफूले गर्नुपर्ने सबै कार्यहरु निरन्तररुपमा गर्दै आएको छ । यसका गतिविधिहरुमा कुनै कमी आएका छैनन् । बरु समयअनुसार महासंघ थप मजबुद र सशक्त संगठनको रुपमा देखिदै छ।

देशमा व्यवसायिक वातावरण बनाउन र व्यवसायीका आवाज उठाउन महासंघको स्थापना भएको हो । यो आफ्नो उद्देश्यमा अचल र अटल छ । हामीले व्यवसायिक वातावरण बनाउन तीन वटै तहका सरकारसँग काम गरेका छौ ।

नयाँ संविधान बनेसँगै देशमा बहुमतको सरकार बनेको छ । दुई वर्षसम्म एउटै सरकारको निरन्तरताले राजनितिक स्थिरता देखिएको छ । यसले नीतिगत स्थिरता पनि हुन्छ । मलाई लाग्छ हामीजस्ता व्यवसायीलाई यो नै महत्वपूर्ण कुरा हो ।

सरकारले आफैँले व्यवसाय गर्दैन, उसले व्यवसायिक वातावरण बनाउने हो । व्यवसायिक वातावरण नै भएन भने देशमा आर्थिक गतिविधि सून्य भयो भने सरकारले के गर्ने ? त्यसैले उसले व्यवसायीलाई व्यवसाय गर्न फेसिलिटेट गर्ने हो ।

त्यसका लागि हामीले तीन तहकै सरकारसँग काम गरिरहेका छौं । तीन तहको नयाँ संरचना भउको कारणबाट केही दुविधा देखिएका छन् । तिनीहरुको पनि विस्तारै समाधान हुँदै गएको छ । त्यसमा महासंघको तर्फबाट पहल भइरहेको छ ।

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक