शिल्पा पोखरेल, नायिका
तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई काठमाडौं नै प्यारो लाग्छ । मैले आफ्नो करिअर काठमाडौंबाटै सुरु गरेकी हुँ । यहाँ हरेक सेवा–सुविधा छन्, धेरैले रोजगार पाएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्र पनि देशका अरु भागभन्दा काठमाडौं राम्रो छ । यस हिसाबले काठमाडौं राम्रो लाग्छ ।
काठमाडौं कस्तो लाग्छ ?
यहाँको भीडभाड, अस्तव्यस्त लगायत जति पनि समस्या र दिक्क लाग्ने पक्ष छन्, ती सबै हामीले नै उत्पन्न गराएका हौँ । यसमा सरकार र नागरिक दुवै दोषी छौँ । केही ठाउँ र पक्षले दिक्क लाग्ने भए पनि काठमाडौंमा ऊर्जा दिने ठाउँ प्रशस्त छन् । यहाँको एउटा मन्दिर घुमेरै पनि आनन्द लिन सकिन्छ । ऐतिहासिक मठ–मन्दिर, सबैखाले सेवा–सुविधा र मौसम पनि राम्रो भएकाले उपत्यका राम्रो लाग्छ।
उपत्यका बाहिरका कुन–कुन ठाउँ राम्रो लाग्छ ?
पोखरा मनपर्छ । यहाँको मौसम र प्राकृतिक सौन्दर्यले मन लोभ्याउँछ । पोखरा अन्य सहरभन्दा धेरै भिन्न छ । पहाडको नजिक पर्ने यति सुन्दर सहर विश्वमा सायदै होला। त्यस्तै, तनहुँ, गोर्खा, कास्कीलगायत जिल्लाका ग्रामीण भेग पनि सुन्दर लाग्छ । त्यहाँका गाउँमा नेपाली मौलिकता भेटिन्छ ।
तपार्इं बस्न चाहेको सपनाको सहर ?
घरको झ्याल खोल्दा शीतल हावा लिन पाइयोस्। कंक्रिट घर मात्रै नभएर, हरियाली दृश्य पनि नियाल्न पाइयोस् । सहरको सबैतिर सफा होस् । सडक र यातायात व्यवस्थित होस् । नागरिकले सबैखाले सुविधा सहजै लिन सकून् । यति भयो भने सहरमा बसेको छु भन्ने महसुस हुन्छ ।
सहरको विकासका लागि के गर्नुपर्ला ?
कुनै पनि मुलुकको विकासका लागि त्यहाँको राज्य वा सरकार नै मुख्य मानिन्छ । सहरलाई कस्तो बनाउने सरकारकै हातमा हुन्छ । त्यसमा नागरिकको हातेमालो पनि चाहिन्छ । तर, हाम्रो सरकार बेकामे सरकार हो । यहाँका सडकभरि खाल्डैखाल्डा छन् । भत्किएका सडक समयमै मर्मत हुँदैनन् । नागरिकले सहर बनाउने विषयमा जिम्मेवार निकायलाई घचघच्याउँदैनन् । सरकार र आमनागरिक तात्ने हो भने सहरको विकास हुन सक्छ । मानिसको भीडभाडले पछिल्लो समय सहर फोहोर बनेको छ । काम र सेवा–सुविधा खोज्दै देशैभरका मानिस यहाँ आएका छन्, तर सरकारले सेवा–सुविधालाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिन सकेन ।
नेपालभन्दा बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
नेपालभन्दा बाहिर त्यति घुमेकी छैन । भारतको मुम्बई पुगेकी छु । हाम्रै छिमेकी देशको मुम्बई सहर धेरै नै व्यवस्थित छ।
हाम्रा सहरलाई व्यवस्थित पार्न के गर्नुपर्ला ?
सरकार र सहरवासीमा जागरुकता हुनुपर्छ । सरकारको नीति र कार्यान्वयन पक्ष पनि कसिलो हुनुपर्छ । सहरको विकासमा सरकारलाई सहरवासीको पनि सहयोग चाहिन्छ । त्यस्तै, विकासमा हुने विनाशलाई सबैले सहन सक्नुपर्छ ।
काठमाडौं कसरी सफा होला ?
आफ्नो घरमा निस्केको फोहोर जथाभावी फाल्नु हुँदैन । सबैले तोकिएको स्थानमा मात्रै फोहोर फाल्ने बानी बसाल्नुपर्छ । अहिले नागरिकले जथाभावी फोहोर फाल्ने गरेकाले पनि सहर बिग्रिएको हो । पछिल्लो समय जनप्रतिनिधिले ल्याएका स्मार्ट सिटीका अवधारणा पनि आशलाग्दा थिए, तर अहिलेसम्म सिन्को भाँचिएको छैन । अरु त परैको कुरा, हामीले प्रकृतिले निःशुल्क दिएका चिजलाई पनि चिन्न सकेनौँ । सहरका सम्भावना खोज्न सकेनौँ । भएका पुराना चिज पनि सजाउन सकेनौँ । भौगोलिक र प्राकृतिक रूपमा हाम्रा सहर अरु देशभन्दा धेरै राम्रा छन्।
उपत्यकाको राम्रो लाग्ने पक्ष ?
उपत्यका मन्दिरै–मन्दिरको सहर हो । यहाँ ऐतिहासिक सम्पदा छन् । यहाँको हावापानी र वरपरका हरियाली डाँडाकाँडा अति नै सुन्दर लाग्छ । यसले नेपाली मात्रै नभएर विदेशीको पनि मन तानेको छ । ऐतिहासिक सम्पदाकै कारण अहिले अरु देशका पर्यटक पनि काठमाडौं आउने गरेका छन् ।
मननपर्ने पक्ष ?
खाल्डाखुल्डी, सडक, धुवाँधुलो, ट्राफिक जाम र प्रदूषण मननपर्ने पक्ष हुन् । अहिले उपत्यकामा सबैतिर फोहोर र बुङबुङ उड्ने धुलो मात्रै छ ।
उपत्यकानजिकै कतै घुम्न जानुपर्याे भने कुन ठाउँ रोज्नुहुन्छ ?
मलाई ककनी राम्रो लाग्छ । यहाँ हरियाली पनि छ । वरपरका डाँडापाखा नियाल्न पाइन्छ।
उपत्यकाको मनपर्ने खानेकुरा ?
मलाई नेवारी खाना र खाजा मीठो लाग्छ ।
मन भएर पनि पुग्न नपाएको सहर ?
मलाई नेपालका हिमाली क्षेत्र घुम्ने मन छ । नेपालबाहिर घुम्न त्यति मन लाग्दैन । जस्तो भए पनि नेपालकै ठाउँ प्यारो लाग्छ । नेपालभन्दा बाहिर हङकङ जाने इच्छा छ ।
प्रस्तुति : शिवहरि घिमिरे/नागरिक