जीवन्त ठाउँमा घटना-परिघटना हुनु सामान्य कुरा हो। नेपाली फिल्म पनि अघिल्ला वर्षको तुलनामा ज्यादा नै जीवन्त देखियो। उद्योग ठूलो हुँदै गएको संकेत यो पनि हो कि मनोरन्जन कोलममा गसिप लेख्नेलाई गसिपको कुनै कमी भएन। कुनै न कुनै काण्ड भइ नै रहे र तीमध्ये केहीले मनोरञ्जन क्षेत्रमा मात्र तरंग फिँजाएनन्, अन्य क्षेत्रमा पनि प्रशस्त चासो सिर्जना गरे। २०७४ सालभरि भएका यस्तै केही विशेष घटनालाई ‘सम्पूर्ण’ले समेटेको छ।
ऋचा भर्सेस छक्का पन्जा
अभिनेत्री ऋचा शर्मा र ‘छक्का पन्जा’ टिमको दन्तबझान वर्षको सर्वाधिक चासोको घटनाभित्र रह्यो। फिल्ममा महिला सहभागितासम्बन्धी एक छलफलमा वक्ताका रूपमा सहभागी ऋचाले ‘छक्का पन्जा’ हेर्ने दर्शक मूर्ख हुन् भन्ने आशय व्यक्त गरेको बुझाइमा टिमका सम्पूर्ण सदस्यले ऋचालाई ‘गेट वेल सुन’ लेखेपछि उनी नखाएको विषको रापमा परिन्। दीपकराज गिरी र दीपाश्री निरौलाले त भइहाले, ऋचालाई ‘गेट वेल सुन’ लेख्नमा समकक्षी हिरोइनहरू प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का नै लागेपछि धेरैले यसलाई आश्चर्यचकित बनायो। पछि प्रियंकाले स्ट्याटस हटाए पनि वर्षा र स्वस्तिमाले भने ऋचाको खोइरो खन्न छाडेनन्। पछि ऋचाले बोलेको भिडियो फुटेजमा ऋचाले दर्शकलाई मूर्ख नभनेको देखिएपछि दीपक-दीपा नै दोषी ठानिए।
११ लाखको ‘उकाली ओराली’
एउटा गीत सरदरमा एक लाख रुपैयाँमा तयार हुन्छ। तर, निर्माता सुवास गिरीले एक लाख खर्च गरेर गीत बनाउनुका साटो रञ्जित गजमेरले धेरै वर्षअघि ‘सम्झना’ फिल्मका लागि बनाएको गीत ‘उकालीमा अघि अघि’ बिनाअनुमति ‘कृ’मा प्रयोग गरेपछि एक रात हिरासतमा मात्र बस्न परेन, ११ लाख रुपैयाँ पनि तिर्नुप¥यो। यो मामलामा धेरै फिल्मकर्मी सामाजिक सञ्जालमा गिरीको पक्षमा देखिए। तर, बिनाअनुमति अरूको सिर्जना चोर्नु गलत थियो भन्ने आवाज कमजोर रहनु फिल्म क्षेत्रकै लागि दुर्भाग्य हो भन्ने आवाज पनि कम चर्काे रहेन। अझ गिरीले पत्रकार सम्मेलन नै गरेर प्रहरी र शम्भु प्रधानले ज्यादती गरेको बताए पनि गीत चोरेकोमा एक पटक पनि गल्ती भयो नभनेको देख्दा उनको आरोपमा कसैले चासो दिएनन्। यो मामलामा भुवन केसी र संगीतकार अलमोडा उप्रेती भने बचे।
भाग्यमानी ट्याटू
फिल्म उद्योगमा जम्मा दुई वर्ष जेठी साम्राज्ञीराज्य लक्ष्मी शाह फिल्मको अभिनय कम, फाल्तु कुरामा ज्यादा चर्चामा रहिन्। यो साल उनलाई चर्चामा ल्याउने काण्ड भने वक्षस्थलमा खोपिएको ट्याटू रह्यो। साम्राज्ञीले वक्षस्थलको तल्लो भागमा ट्याटू मात्र खोपाइनन्, सो फोटो पहिले आफैँ सार्वजनिक गरिन् र पछि ट्याटू आर्टिस्टले सार्वजनिक गरे। फोटोमा साम्राज्ञी मज्जाले टिसर्ट उचालेर पोज दिइरहेकी देखिन्छिन्। फोटोको नकारात्मक चर्चा आएपछि साम्राज्ञीलाई कसै-कसैले चोख्याउने प्रयास गरे पनि उनको उत्ताउलो बेहोरा कसैबाट छिप्न सकेन। उनको ट्याटूमा टिप्पणी गर्ने धेरैले भाग्यमानी ट्याटू भनेर ईष्र्यासमेत गरे। साम्राज्ञीले यही साल गाउँले फिल्म गर्दिनँ भनेको कुरा पनि चर्चाको विषय बन्यो।
प्रदीपका अफ्रिकन बडीगार्ड
पाँचतारे होटलमा अफ्रिकन बडीगार्ड लिएर गएको घटना पनि यो वर्षको हिट लिस्टमा पर्यो। फिल्म ‘लिली बिली’को प्रेस-मिटमा प्रदीप खड्का अफ्रिकन बडीगार्डसहित देखापरेपछि उनको विवेक हाँसोको विषय बन्यो। निर्माण टिमले बडीगार्डका नाममा ए डिभिजन लिग खेल्ने अफ्रिकन खेलाडी लिएर गएको थियो, जुन कुरा थाहा पाउन कसैलाई पनि समय लागेन। प्रदीपले पछि बडीगार्ड लिएर जाने निर्णय निर्माताको हो भनेर बचाउ गरे पनि चर्चाका लागि के गर्ने र नगर्ने भन्ने निर्णय गर्न नसक्ने प्रदीपको बुद्धिमा पनि धेरैले प्रश्न गरे।
अवार्डमा अधरपान
प्रियंका कार्की र आयुष्मान जोशीको अफेयर धेरैका लागि पत्याइनसक्नु घटना थियो। तर, ‘कथा काठमाडौँ’को सेटबाट आएको खबरलाई दुवैले एउटा अवार्डमा हाकाहाकी अधरपान गरेर पुष्टि गरिदिए। प्रियंका र आयुष्मान दुवै सो अवार्ड कार्यक्रममा विजेता बनेपछि खुशी साट्न गरिएको अधरपानले धेरैलाई चकित तुल्यायो। केहीले यसलाई सामान्य माने पनि धेरैले भने यो अधरपानलाई उम्लेको पानीसँग तुलना गरे।
सासू-बुहारीको बिकिनी पोज
प्रियंका कार्की र आयुष्मानसँग जोडिएको अर्को घटनाले पनि धेरैलाई अचम्भित तुल्यायो। त्यो घटना थियो, बैंकर रविना देशराज र प्रियंकाको बिकिनी पोज। छोरा र उनको प्रेमिकाले संसारमै नगरेको काम गरे जसरी प्रस्तुत भएकी रविनाले पछि सोही उत्साह कायम राख्दै प्रियंकासँग बिकिनीमा फोटो खिचाइन् र इन्स्टाग्राममा हालिन्। तर, यो फोटो चैतको डढेलोझैँ सल्कियो। दुवैको फोटो हेरेर नै धेरैले नेपाली समाज मोडर्न भएको लख काटे। तर, यसबाट प्रियंकालाई भन्दा बैंकर रविनालाई धेरै घाटा भयो। धेरैले आफ्नो ओहोदाअनुसार काम नगरेको भनेर उनको आलोचना गरे।
विनयका बिकिनी गर्ल
बिकिनी काण्डले चर्चा पाउनेमा विनय श्रेष्ठ पनि रहे। आफैँले बनाएको एउटा गीतको लन्चमा दायाँ-बायाँ बिकिनी लगाएर प्रेस-मिटमा उपस्थित भएपछि विनयको यो कामले पनि गसिप बजारमा राम्रै स्थान पायो। जाडोमा केटीहरूलाई बिकिनीमा लिएर जाने उनको निर्णयले गीतलाई भने खास फाइदा भएन। बरु उल्टो घाटा नै भयो।
सुष्मिताको झटारो
सुष्मिता बमजनका स्ट्याटसले पनि यो वर्षभरि नै गसिप बजारमा स्थान पाए। कहिले पूर्वपति भुवन केसीलाई, कहिले जिया केसी त कहिले छोरा अनमोललाई नै स्ट्याटसमा गाली गर्ने उनको कदमले धेरैलाई हैरान बनायो। भुवन केसीलाई गाली गर्ने सुष्मिताले होलीको दिनमा अनमोललाई पनि गाली गरेपछि धेरैले उनको कर्तुतमा आश्चर्य माने। हुँदा-हुँदा उनले आफ्नै छोराको फिल्मले पैसा नउठाएको समेत फेसबुकमै लेख्दा उनी अनमोलकै पछि लागेको समेत टिप्पणी भए।
झरना र अनमोलको लफडा
अनमोलसँग जोडिएको अर्को लफडामा झरना थापा र अनमोलको पारिश्रमिक विवाद पनि चर्चामा रह्यो। अनमोललाई झरनाले ५० लाख रुपैयाँ दिएर फिल्म खेलाउन लागेको समाचार आएपछि उनले त्यसका विरुद्धमा फेसबुकमा स्ट्याटस लेखेर अनमोललाई त्यत्रो रकम अफर नै नगरेको बताइन्। अनमोल त्यसको बचावमा नलागे पनि पिता भुवन केसी झरनाले पैसा अफर गरेको प्रमाणित गर्नमा लागिपरे। पछि एउटा प्रेस-मिटमा अनमोलले आफूलाई भरनासँगै अन्य निर्माताले पनि ५० लाख अफर गरेको बताएपछि सो विवाद सेलायो।
०००
मुख्य-मुख्य माथिका घटनाबाहेक उद्योगमा यो साल अन्य घटना पनि भए, जसले उद्योगमा बेलाबखतमा शान्त तलाउमा ढुंगा हानेझैँ तरंग ल्याए। ‘नाइलनको साडी’का सर्जकले दीपकराज गिरी र अल्मोडाले आफ्नो गीत चोरेको बताएपछि त्यो घटनाले राम्रै स्थान पायो भने निर्माता सुनील रावल र निर्देशक निगम श्रेष्ठको झगडाले पनि मिडियामा राम्रै स्थान पायो। विवाद यतिसम्म बढ्यो कि ‘लाउरे’फिल्मको निर्देशकबाट निगमले हात झिके। ८० प्रतिशत सुटिङ सकिएको फिल्ममा निगमलाई हिरोइन मिरुना मगरले यौन हिंसा गरेको आरोप पनि लगाएकी थिइन्।
यसै गरी, वर्षको अन्त्यतिर पल शाहको ‘इन्डस्ट्री आफू तीन जनाले धानेको’ गफले पनि सानोतिनो तरंग ल्यायो। पलले आफूसहित अनमोल केसी र प्रदीप खड्काले उद्योग धानिरहेको र थप नयाँ मानिस पनि आउनुपर्ने जिकिर गरेका थिए। तर, तीन-चार वटा फिल्म खेलेका पलको सो भनाइ अपाच्य भएको भन्दै ट्रोल नै बने।
-साभार अन्नपूर्णपोष्ट