भैरहवा -‘नेपाली भन्ने मात्र हैन, नेपाली बन्ने ?’ अभियानसहित लुम्बिनीका युवाहरु अहिले राष्ट्रिय युवा अभियानको थालनी गरेका छन् ।
युवाहरुमा नकारात्मकता बढ्दै गएको र देश बिकासमा युवाहरुको योगदान कसरी बढाउन सकिन्छ भन्ने बिषयमा बहस गर्न लुम्बिनीका युवाहरुले लुम्बिनीमै राष्ट्रिय युवा सम्मेलन गर्ने भएका छन् ।
अहिलेको युग भनेको युवाहरुको भएको हुँदा शान्ती र बिकासमा युवाहरुको नेतृत्व बिकासको लागि लुम्बिनीमा राष्ट्रिय युवा सम्मेलन गर्न लागिएको हो ।
विश्व शान्तीको मुहान लुम्बिनीबाट सदभाव र शान्तीको कामनासहित देशभरका युवा प्रतिनिधिहरुलाई लुम्बिनीका युवाहरुले लुम्बिनीमै जुटाउने जमर्को गरेका छन् ।
नेपालका उदाहरणीय व्यक्तित्वहरुलाई बोलाइ उनीहरुको प्रेरणादायी अनुभवहरु साटासाट गर्ने कार्यक्रमको मूख्य उद्देश्य रहेको आयोजक गि्रन युथ क्लब अफ लुम्बिनीका अध्यक्ष अर्जुन कूर्मिले बताए । ‘देश विकासमा युवाहरुलाई कसरी सकारात्मक सन्देश दिन सकिन्छ, यस बारे ब्यापक छलफ गरिने छ ।’ कूर्मिले भने ।
अहिले देशले हामीलाई के दियो भन्दा हामीले देशको लागि के गर्यौ भन्ने सोचको खाचो रहेको र सोही सोच बढाउन देशभरका युवाहरु लुम्बिनीमा जम्मा गर्न लागेको उनले बताए ।
नेपाली चिन्तन भन्ने बिषय बस्तुमा केन्दि्रत रही युवा र आविष्कार, युवा सम्वेदना उत्प्रेरणा र उद्यम, सरकारमा युवाहरुको सक्रियता, नेतृत्व तथा अन्तर्राष्ट्रिय साझेदारी लगायतका बिषयमा चर्चा गरिने अध्यक्ष कूर्मिले बताए । यसको साथै जलवायु संरक्षणमा युवाहरुको भूमिकामाथि पनि चर्चा गरिने छ ।
असार २२ र २३ गते लुम्बिनीको नवनिर्मित सभाहलमा कार्यक्रम गर्ने आयोजकले जानकारी दिएको छ । सम्मेलनमा युवाहरुको प्रेरणाको श्रोत मानिएका कर्ण शाक्य, महावीर पुन, मुक्ति सुवेदी, लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय लगायततले अनुभव सुनाउने कार्यक्रम रहेको उनले बताए ।
यसैगरी कार्यक्रममा सहभागी युवाहरुलाई लुम्बिनीका बिभिन्न बिहारमा राखी उनीहरुलाई आध्यात्म र योगबारे पनि जानकारी दिइ लुम्बिनीको प्रचारप्रसार गर्ने उद्देश्य रहेको आयोजकको भनाइ छ । कार्यक्रममा स्थानीय युवाहरुले पनि सहभागिता जनाउन सक्नेछन् ।
कार्यक्रमका सहआयोजके लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी बिकास कोष रहेका छन् । युवाहरुलाई देशप्रति सकारात्मक भावना जगाइ देश निर्माणमा उत्तरदायी बनाउन कार्यक्रमले सहयोग गर्ने अपेक्षा रहेको लुम्बिनी सांस्कृतिक नगर पालिकाका प्रमुख मनमोहन चौधरीले बताए ।
लुम्बिनी आफैमा एक अन्तर्राष्ट्रियस्तरमा परिचित रहेको हुँदा आगामी दिनमा पनि लुम्बिनीको प्रवर्द्धनको लागि नगरपालिकाले यस्ता कार्यक्रमहरुको लागी सहयोग गर्ने जनाए ।
लुम्बिनी तथा यस आसपास रहेको क्षेत्रहरुमा सारस संरक्षण, जलवायु परिवर्तन संरक्षण, युवा नेतृत्व लगायतका क्रियाकलापहरुमा सक्रिय रहेको गि्रन युथ क्लब अफ लुम्बिनीले पहिलो पटक राष्ट्रिय युवा सम्मेलन गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने जनाएको छ ।
-यो अनलाइन खबरबाट साभार गरिएको हो