काठमाडौं । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले आज शुक्रबार मलेसियाको सामना गर्दै छ । नेपाल र मलेसियाबिचको खेल आज बिहान पौने ९ बजे सुरु हुनेछ ।
अघिल्ला ३ खेलमा मात्र २ अंक जोडेको नेपालले बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा मलेसियासँग खेल्न लागेको हो । मलेसियासँगको खेलपछि नेपालले अन्तिम खेलमा आइतबार चीनसँग खेल्नेछ ।
नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा पुग्ने लक्ष्य लिएको नेपाललाई शिर्ष दुईमा पुग्ने सम्भावना कायम राख्न मलेसियाविरुद्ध जित्नैपर्ने दबाब रहेको छ ।
बिहीबार भएको खेलमा युएईसँग ५ रनले पराजित भएपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बनेको थियो । आजको खेल गुमाए नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ ।
ग्लोबल क्वालिफयर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।
छनोटमा नेपालको ३ खेलबाट २ रहेको छ । नेपाल अंक तालिकामा पाचौं स्थानमा छ । छनोटमा नेपालले हङकङ र थाइल्याण्डसँगको खेलमा एक एक अंक पाएको थियो ।
यस्तै तेस्रो खेलमा नेपाल पराजित युएईसँग पराजित भएको थियो ।
छनोटमा २ अंक जोडेको मलेसिया चौथो स्थानमा रहेको छ । छनोटमा थाइल्याण्ड र हङकङ समान ५ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । ४ अंक जोडेको युएई तेस्रो स्थानमा रहदा चीन अंकविहीन रहेर पुछारमा रहेको छ ।