२०८० असोज, ६
||NEWS LUMBINI |

पाँच नम्बर प्रदेशका लेखा समिति सभापति चौधरीले गाडी फिर्ता गरे

पाँच नम्बर प्रदेशको प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन्।

प्रदेश पाँच प्रदेशसभा सचिवालयले हालै खरिद गरेका गाडी बजार मूल्यभन्दा महंगोमा खरिद गरी आर्थिक अनियमितता गरेको समाचार बाहिर आएपछि सभापति चौधरीले आफू चढ्दै आएको गाडी शुक्रबार फिर्ता गरेका हुन्।

सभापति चौधरीले सचिवालयका जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई आफूले प्रयोग गर्दै आएको लु १ झ ४४१ नं. को गाडीको चाबी फिर्ता गरेका हुन् ।

‘गाडी खरिदमा आर्थिक अनियमितता भएको समाचार बाहिर आईरहेको र सार्वजनिक लेखा समितिले प्रदेश सरकार र प्रदेशसभा सचिवालयले खरिद गरेका सबै गाडीहरुको कागजात झिकाई छानविन शुरु गरेकोले गाडी चढ्नू उपयुक्त नहुने भएकोले नैतिकताको आधारमा गाडी फिर्ता गरेको छु,’ चावी बुझाउँदै सभापति चौधरीले भने।

प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा गाडी खरिद गरेको थियो।

सभापति चौधरीले प्रयोग गर्दै आएको गाडी। तस्बिरः भगवती पाण्डे

 

यसैबीच सार्वजनिक लेखा समितिले खरिद गरिएका सबै गाडीहरुको फाईल झिकाएर छानबिन शुरू गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकमा गाडीको विषयमा बाहिर आएका समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै खरिद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

उपसमितिमा बैजनाथ जयसवाल र कल्पना पाण्डे सदस्य छन्। संयोजक पोखरेल नेकपाका सांसद हुन् भने पाण्डे राष्ट्रिय जनता पार्टी र जयसवाल नेपाली कांग्रेसका सांसद हुन्।

प्राप्त कागजात अध्ययनको लागि सनिबार बिहान १० बजे उक्त समितिको बैठक बस्दै छ।

उपसमिति बैठकले गाडीको कागजातको प्रारम्भिक अध्ययन गरी आगामी माघ ४ गते बस्ने सार्वजनिक लेखा समितिको बैठकमा प्रतिवेदन पेश गर्ने समितिका सभापति चौधरीले जानकारी दिए ।

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक