२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

पाँच नम्बर प्रदेशको स्थायी राजधानी रुपन्देही र नाम लुम्बिनी राख्नुपर्ने कांग्रेसको माग

प्रदेश पाँचको स्थायी राजधानी र नामाकरणको माग गर्दै नेपाली कांग्रेसले बुटवलमा बिहीबार खवरदारी सभा गरेको छ।

संविधानले तोकेको समय अवधि भित्र प्रदेश सरकारले स्थायी राजधानी र प्रदेशको नामाकरण गर्न नसकेको भन्दै कांग्रेसले खवरदारी सभा गरेको हो।

सभामा बोल्ने कांग्रेस नेताहरूले पाँच नम्बर प्रदेशको स्थायी राजधानी रुपन्देही हुनुपर्ने र नाम लुम्बिनी राख्नुपर्ने बताएका छन्।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कांग्रेसले प्रदेशको राजधानी बुटवल र नाम लुम्बिनी राख्ने निर्णय एक वर्षअघि गरेको बताए।

प्रदेश सरकारले संविधान अनुसार काम गर्न नसक्दा अहिलेसम्म पाँच नम्बर प्रदेशका जनताले स्थायी प्रदेश र नाम पाउन नसकेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका नेता खाँणले प्रदेशको स्थायी राजधानी बुटवल हुनुपर्ने बताउँदै आफू बुटवलवासी भएकाले बुटवललाई नरोजेको र सबैका लागि पाएक तथा सुगमता भएकाले बुटवल रोजिएको बताए।

प्रदेश राजधानी तोक्ने अधिकार प्रदेश सभालाई भएको उल्लेख गर्दै उनले प्रदेश सांसदलाई उचित निर्णय गर्न आग्रह गरेका छन्।

गौतमबुद्धको जन्मस्थलमा नै प्रदेश राजधानी हुनुपर्ने बताउँदै उनले प्रदेशका १२ वटै जिल्लालाई लुम्बिनीसँग जोडेर विकास गर्नुपर्ने बताए। प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा विवादित हुन नहुने उनको तर्क छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले बुटवलमा प्रदेशको स्थायी राजधानी बनाएर सबै जिल्लालाई जोड्नुपर्ने बताए। उनले बुटवलमा प्रदेशको राजधानी बनाएर पहाडलाई पर्यटक, दाङ र बर्दियालाई कृषिसँग जोडेर समग्र प्रदेशको विकास गर्न सकिने बताए।

राजासँग लड्न भन्दा कम्युनिष्टसँग लड्न बढी गाह्रो हुने भएकाले भोलिको युद्व जित्न कांग्रेसमा परिवर्तन ल्याउनुपर्ने उनले बताए ।

कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद देवेन्द्रराज कँडेलले सरकारले संविधान अनुसार काम नगरेकाले प्रदेशको राजधानी तोक्न र नामाकरणका लागि ढिलाइ भएको दाबी गरे।

प्रदेशको राजधानी तोक्न ढिला गर्न नहुने बताउंदै रुपन्देहीमा प्रदेशको राजधानी बनाएर विकास गर्नुपर्ने उनको भनाइ छ। उनले सरकारले निर्दोषलाइ दोषि देखाएर अपराधीहरुलाई मुक्त गराउन खोजेको आरोप लगाए।

कार्यक्रममा प्रदेश नम्बर पाँच नेपाली कांग्रेस संदीय दलका नेता वलदेव शर्मा पोखरेल, सांसद रमा अर्याल, विर बहादुर राना, नेपाली कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ, अर्घाखाँचीका सभापति विष्णु मुस्कान, विरेन्द्र कनौडिया, क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले प्रदेश सरकारले छिटो भन्दा छिटो प्रदेशको राजधानी तोक्न र नामाकरण गर्न आग्रह गरेका थिए ।

-सेतोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक