११ मंसिर, पाकिस्तान –
पाकिस्तानी सेनाले राजधानी इस्लामाबादलगायतका मुख्य सहरमा इस्लामवादीले गरेको प्रदर्शनका क्रममा चर्किएको हिंसा नियन्त्रण गर्न तयार रहेको जनाएको छ । सरकारले शनिबारदेखि जारी हिंसात्मक प्रर्दशन नियन्त्रण गर्न अर्धसैनिक बल असफल भएपछि सेनालाइै आग्रह गरेको थियो ।
यसअघि प्रहरी र अर्धसैनिक बलको संयुक्त फौजले आन्दोलनकारीलाई भगाउन शनिबार बल प्रयोग गरेको थियो । उनीहरू अवरोध हटाउन असफल भएपछि सरकारले सेना परिचालनका लागि आदेश जारी गरेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
पाकिस्तानी समाचार संस्थाका अनुसार प्रदर्शनका क्रममा हालसम्म ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । फैजाबादस्थित एउटा प्रमुख राजमार्गमा धर्ना दिइरहेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोज्दा २ सयभन्दा बढी मानिस घाइते भएको जनाएका छन् । घाइतेमध्ये ९५ जना प्रहरी छन् । प्रहरीले ३ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । राजधानी इस्लामाबादमा तेहरिक–ए–लब्बैक (टीएलपी) र रसुल अल्लाह पार्टीले तीन सातादेखि गरेको धर्नामा शनिबार सुरक्षा फौजले हस्तक्षेप गरेपछि स्थिति असामान्य बनेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इस्लामाबादबाट सुरु भएको आन्दोलन कराँची, पन्जाब र लाहोरमा समेत फैलिएको छ । पन्जाब सरकारले सोमबार र मंगलबार सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको जनाएको छ । अधिकारीका अनुसार प्रदर्शनकारीले दर्जनौं गाडीमा आगजनी गरेका छन् ।
उनीहरूले प्रमुख राजमार्गहरूमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई भगाउन दर्जनौं राउन्ड अश्रुग्यास तथा रबरका गोली प्रहार गरेको छ । सरकारले गत नोभेम्बर ८ देखिको आन्दोलन दबाउन ८ हजार ५ सय प्रहरी र अर्धसैनिक बल परिचालन गरेको छ ।