२०८० मङ्सिर, २१
||NEWS LUMBINI |

पाल्पाकी अमृता दमाईको कुबेतमा निधन

प्रदिप नेपालीकुवेत, फेब्रुअरी २- कुवेतमा एक नेपाली चेलीको मृत्यु भएको छ । पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका-४ घर भएकी अमृता दमाईको गत फेब्रुअरी ४ तारिखमा निधन भएको हो ।

अमृताको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।

२०१४ मा श्रमसम्झौता गरेर घरेलु कामदारको रुपमा साउदी अरेबिया पुगेकी अमृतालाई स्पोन्सरले कुवेतमा ल्याएर बेचेको बुझिएको छ । उनको कुवेत शिभिल आइडी(परिचय पत्र)का आधारमा बैदेशिक रोजगार बिभागमा हेर्दा २०१४ श्रमसम्झौता गरेर घरेलु कामदारको रुपमा साउदी अरेबिया गएको पत्ता लागेको कुवेत स्थित नेपाली दुताबासका द्धितीय सचिव ज्ञान बहादुर मगरले हाम्रोसंचारलाई जानकारी दिएका छन् । मगरका अनुसार मृतक अमृतालाई स्पोन्सरले भगौडा (रनवे)केस हालेको छ ।

मृतक अमृताको मृत्यु बारे आधिकारिक रिपोर्ट आउन भने बाँकि रहेको सचिव मगरले बताए ।

४७ बर्षीया मृतक अमृता कुवेतमा गैरकानुनी रुपमा बस्दै आइरहेकी थिइन् ।

मृतकको शव नेपाल पठाउन कुवेती दिनार ३५० (नेपाली १,३०,५०० रुपिया) लाग्ने दुताबासले जनाएको छ । अवैधानिक भएकाले उक्त रकम उपलब्ध नहुँदा मृतकको शव नेपाल पठाउन समस्या भएको दुताबासले बताएको छ । दुताबासले मृतकको शव नेपाल पठाउन आवश्यक रकम सहयोग गर्न अनुरोध गरेको छ ।

मृतक अमृताको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ । रोजगारीका लागी भारत गएका श्रीमान ७ बर्षदेखि बेखबर छन् भने ३ नाबालक छोरीहरु मामाघरमा बस्दै आएका छन् । छोरीहरुलाई ७५ बर्षिया बुढी आमाले रेखदेख गर्दै आइरहेकी एनआरएनए कुवेतका पुर्व आइसीसी कोर्डिनेटर तथा सामाजिक व्यक्तित्व सुजन केसीले बताए ।

३ नाबालकहरुको पालनपोषण र शिक्षादिक्षामा समस्या भएपछी गाउँले र अन्य सामाजिक ब्यक्तिहरुले सहयोग गर्दै आइरहेका छन्, रैनादेवी छहरा गाउँपालिका-४ का वडाध्यक्ष बिष्णु प्रसाद पोख्रेललाई उधृत गर्दै सुजन केसीले भने । वडाध्यक्ष बिष्णु प्रसाद पोख्रेलका अनुसार वडाबाट प्राप्त केहि सहयोग प्रदान गर्दै आइरहेको छ ।

नाताले भाइ पर्ने राजु दमाइ र आमा मनकुमारी दमाईले अमृताको शव जिम्मा लिने बताएका छन् । तर विमानस्थलसम्म पुर्याउन सकिएपनि पाल्पासम्म शव लाने आवश्यक खर्च छैन । शव उठाउन र केहि सहयोग गर्न आफु पनि लागि पर्ने साथै मृतक अमृताका नाबालक सन्तानका लागि केहि रकम सहयोग गरेर मानवीयता देखाईदिनु हुन सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ, दिदीबहिनी, सामाजिक संघसंस्था तथा समाजसेवीहरुलाई केसीले अनुरोध गरेका छन ।

यता दलित एकता संजाल कुवेतका अध्यक्ष रमेश नेपालीले मृतकको शव नेपाल पठाउन दुताबाससँग समन्वय गरेर आवश्यक सहयोग गरिने बताएका छन् । नेपालीले भने- “पारिवारिक अवस्था अत्यन्तै नाजुक रहेछ, यस्ता गरिब, पिडित र समस्यामा परेकालाई सहयोग गर्नु नै वास्तविक समाजसेवा हो, त्यसैले आफ्नो व्यक्तिगत र संस्थागत रुपमा सक्दो सहयोग गर्नेछौ ।” साथै संजाल अध्यक्ष नेपालीले कुवेतबासी नेपाली दाजुभाइ, दिदीबहिनी, सामाजिक संघसंस्था तथा समाजसेवीहरुलाई सहयोग गरिदिन अपिल गरेका छन्                                                   

                                        छोरीहरु र आमाद्धारा सहयोगको याचना सहितको अनुरोध पत्र

                                             वडा कार्यालयबाट सहयोगको याचना सहितको अनुरोध पत्र 

 

-हाम्रो संचारबाट साभार गरिएको हो
Facebook Comments Box

फेसबुक