२०७७ कार्तिक, ८

पुरस्कार पाएको स्कुटर उपचारका लागि बेचेँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एउटा खेलाडी राम्रो खेलिरहँदा, चर्चामा रहिरहँदा अकस्मात घाइते भएर विश्राममा बस्नुपर्दा कस्तो पीडा होला ? यसको जवाफ मलाई सोध्नुभए हुन्छ ।

भलिबलमा नै केही गर्छु भनेर दायाँबायाँ नहेरी मेहनत गरेपछि राम्रो हुँदै गएको थियो । तर, एकाएक चोटका कारण खेल्न नसक्ने भएँ । यो अवस्था असाध्यै पीडादायी छ । बाहिर बसेर अरुले खेलिरहेको हेर्नु आफूले खेल्न नपाउनु … भित्रबाटै रगत तातेर आउने रहेछ । नसके पनि खेलौँखेलौँ हुने रहेछ ।

हुन त घाइते भएपछि पनि कति प्रतियोगिताहरु खेलेँ । त्यही रहर र उर्जाले मैदानमा लगे पनि त्यसले मलाई ठीक गरेन । चोट बल्झिरहृयो ।

विद्यालयमा हुँदादेखि खेलमा नै लागेँ । एथ्लेटिक्सकी खेलाडी म भलिबलमा लाग्नुका पछाडि खेलप्रतिको रहर र गुरुहरुले दिने हौसला नै कारण हो ।

मेरो बुबा पनि भलिबल खेलाडी । मैले भलिबल खेल्छु भन्दा बुबाको प्रश्न थियो, मैले खेलेर के पाएँ र तिमीले खेलेर के पाउँछौ ?

हेरौ कुनै दिन यो प्रश्नको जवाफ भेट्ने छु कि !

****

घाइते नभएको भए म यतिबेला माथिल्लो स्तरमा पुगिसकेको हुन्थेँ । घाइते भएर बस्नुपरेकाले अहिले समय खेर गइरहेको छ ।

सम्झँदा आँसु पनि आउँछ । खै के भनौँ … । भाग्यले पनि साथ दिनुपर्ने रहेछ ।

अवस्था जे आओस्, भलिबललाई निरन्तरता दिन्छु । अहिले डाक्टरहरुले पनि ठीक हुन्छौ, खेल्न सक्छौ भन्नुभएको छ । दुःखाइ भइरहन छाड्यो भने म खेल्न सुरु गरिहाल्छु । मलाई आफ्ना लागि खेल्नु छ, नेपाल पुलिसको लागि खेल्नु छ, देशको लागि खेल्नु छ ।

पहिलेदेखि स्पाइकरको रुपमा खेलेँ । पोजिसन परिवर्तन गरेर खेल्दा हुन्थ्यो पनि होला तर, त्यस्तो सोचेको छैन । केही दिनअघि सकिएको न्यु डायमण्ड कपमा डिफेन्समा पनि प्रयास गरेकी थिएँ । अरु स्थानमा पनि सक्न त सक्छु तर, मुख्य त स्पाइक र ब्लक नै मेरो बलियो पक्ष हो ।

माघ १ गतेदेखि ५ गतेसम्म पोखरामा सभामुख कप भलिबल भइरहेको छ । टिम अहिले पोखरामै छ । म काठमाडौंमा बसेर फोन गरेर के भयो भनेर सोधिरहनु परेको छ । म जहाँ भएपनि मन उतै छ, त्यसैले फोन गरेर सोधिराख्छु । के भइरहेको छ ? टिमले कस्तो गरिराछ भनेर दिदीहरुसँग पनि कुराकानी गरिरहन्छु ।

अहिले घाइते भएकै कारणले प्रतियोगिताहरु छुटिरहेका छन् । न्यू डायमण्ड कप काठमाडौंमै भएकाले गुरुहरुले टिममा राख्नुभयो । बाहिर त जाँदा आउँदा समस्या हुन सक्छ । न्यू डायमण्ड कपमा एपीएफविरुद्ध एकैछिन मैदान छिर्दा पनि मैले खेल्न सकिनँ ।

२०७३ सालमा पर्वतमा सम्पन्न प्रथम दिदीबहिनी कप भलिबलका बेला घाइते भएकी हुँ । त्यो बेला खासै केही भएको होइन, दिदीहरुले फालेको बल अलि माइनस गएको थियो, त्यो बल हान्ने वित्तिकै थचक्क बसेँ । उठ्दा गोलिगाँठो दुःखेको थियो । खेलिरहेको बेला चोटबाट धेरै थाहा भएन तर, बेलुकादेखि बढी नै दुख्न थाल्यो । घाइते भएको दुई वर्ष भयो अझै ठीक हुन सकेको छैन ।

****

उपचारका लागि एक वर्षसम्म त काठमाडौंमा राम्रा भनिएका लगभग सबै अस्पतालमा गएँ । अर्थोपेडिक डाक्टरहरुलाई देखाएँ । त्यो बेला गोलिगाँठामा पानी जमेको हो कि भन्ने कुरा भयो । तर रिपोर्टहरुमा केही देखिएन ।

खेल्दा हुन्छ भन्ने भयो । अभ्यासहरु गरिराखेँ र खेलिरहेँ । घाइते भएपछि मात्रै आठ वटाभन्दा बढी प्रतियोगिता खेलेँ । कतिबेला त दुखिरहेको बेला पनि खेलेँ । हुँदाहुँदै २४ सै घण्टा दुख्न थाल्यो । जचाउँदा केही पनि देखिँदैन तर, दुखिरहन्थ्यो । तीन महिना त प्रहरी अस्पतालमा नियमित थेरापी गराएँ तर, सुधार भएन ।

आर्थोस्कोपी गरेर हेर्ने कि भनेर डाक्टरहरुले सल्लाह गर्नुभएपछि मैले हुन्छ भनेँ । तर, त्यही बेला प्रतियोगिता परेपछि खेल्न गएँ । डाक्टरले दिनुभएको समय गुज्रियो । पछि डाक्टरले ‘दुख्छ पनि भन्छ, खेल्न पनि हिँडिरा’छ’ भनेर गाली पनि गर्नुभयो ।

६ महिना पहिले आर्थोस्कोपी गरेँ । डाक्टरले गोलिगाँठा भित्रको हड्डीमा घाउ भएको र सुन्निएको छ भन्नु भयो । बल्ल समस्या थाहा भएर उपचार गराइरहेकी छु । आराम गर्नुपर्छ भन्नुभएको छ । त्यसैले थेरापी गराएर आराम गरिरहेको छु ।

****

दुःखिरहेको बेला पनि खेल्न हिँडिरहँदा असाध्यै समस्या हुन्थ्यो । जम्प गर्न सक्दैन थिएँ । डिफेन्स, सर्भिस मात्र गरेर पनि भएन । ज्यान तातिरहेको बेला जसरी पनि खेलिन्छ, चोटलाई जितेर । तर पछि धेरै दुख्छ । घाइते भएपछि पनि किन खेल्न गएँ आफैंलाई थाहा छैन । हेलचक्र्याइँ नै गरेँ कि जस्तो लाग्छ । हुन त टिममा मेरो पोजिसनमा खेल्ने कोही नहुँदा पनि अप्ठ्यारो परेको हो ।

प्लेयर अफ दि सिरिज भएर पाएको स्कुटर मैले आफ्नो उपचारको लागि बेच्नुपर्‍यो । पुरस्कार पाएको चिज बेच्नुपर्दा दुःख लाग्ने रहेछ । उपचारका लागि आफैंले खर्च जुटाइरहेकी छु

पुलिस क्लबमा कोपिला दिदी र म ओपन स्पाइकरको रुपमा छौँ । हाम्रो आफ्नै खेल्ने स्थान छ । त्यसैले आफ्नो टिमको लागि खेल्नै पर्छ भन्ने लाग्यो । खेल्दा जोशमा भइन्थ्यो । जब खेल सकिन्छ तब जिउ तातिने, ज्वरो आउने हुनथाल्यो ।

घरमा बसिराख्दा, एक्लै हुँदा दिमागमा धेरै नै कुरा खेलिराख्छ । अहिले मात्र १८ वर्षकी भएँ । धेरै मेहनत गरिराखेकी थिएँ । घाइते भएपछि बीचमा केही समय त ‘फ्रस्टेसन’ भयो । असाध्यै नै निराश थिएँ । कसैसँग नबोल्ने, चुप लागेर बस्ने बानी नै परेको थियो । कति समय त मैदानमा पनि आइनँ । डाक्टरहरु सबैले हौसला दिएपछि अभ्यासमा आउन थालेँ । त्यो बेला घाइते हुनेवित्तिकै म लगातार खेल्न नगएको भए छिटो ठीक हुन्थ्यो जस्तो लाग्छ ।

****

आफूले खेलेका धेरै प्रतियोगिताहरु याद आइरहन्छ । त्यसमा पनि पोखरामा भएको राखेप च्याम्पियनसिप र ढोरपाटन महिला भलिबलमा एकदमै राम्रो गरेकी थिएँ जस्तो लाग्छ । ढोरपाटनमा मैले प्लेयर अफ दि सिरिज जितेकी थिएँ ।

सातौँ राष्ट्रिय खेलकुदमा मध्यपश्चिमाञ्चलबाट खेलेपछि ढोरपाटनमा खेलेकी थिएँ । सातौँ राष्ट्रिय खेलकुदको बेला त भर्खरै भलिबल सुरु गरेको भएर मेरो खेल राम्रो थिएन । पोजिसनमा बस्न पनि आउँदैनथ्यो, दिदीहरुले सिकाउनुहुन्थ्यो । त्यति ठूला टिमहरुसँग खेलेपछि मैले पनि अब सक्छु जस्तो लाग्न थाल्यो ।

सातौँ राष्ट्रिय खेलपछि नियमित अभ्यास गरेँ । गुरुहरुले पनि समय दिइरहनु भएको थियो । त्यसैले ढोरपाटनमा राम्रो गर्न सकेकी हुँ । ढोरपाटनपछि मेरो खेलले एउटा गति लियो र राम्रो हुँदै गयो । त्यसले नै पुलिस क्लबमा ढोका खोलिदिएको थियो ।

त्यो प्रतियोगितासँग जोडिएको दुःखद कुरा पनि छ । प्लेयर अफ दि सिरिज भएर पाएको स्कुटर मैले आफ्नो उपचारको लागि बेच्नुपर्‍यो । पुरस्कार पाएको चिज बेच्नुपर्दा दुःख लाग्ने रहेछ । उपचारका लागि आफैंले खर्च जुटाइरहेकी छु ।

लामो समय भएकाले खर्च पनि बढेको छ । प्रहरी अस्पतालमा त सहज रुपमा नै उपचार भइरहेको थियो । तर त्यहाँ मात्र देखाएर भएन । अरुअरु अस्पतालमा जानु परेको छ, जसले खर्च बढेको छ । अहिले पढाइलाई पनि निरन्तर लगिरहेको छु । बीबीएस दोस्रो वर्षमा पढिरहेकी छु । पढाइमा राम्रो गर्न सकेको भने छैन । अहिले घाइते भएपछि न खेल न पढाइ जस्तो भएको छ ।

****

जाजरकोट सदरमुकाम खलंगामा मेरो घर । त्यहाँ त्रिभुवन उच्च माध्यमिक विद्यालयमा पढेँ । विद्यालय जीवन त असाध्यै छुट्टै थियो । बिहान विद्यालय गयो, स्कुल सकिएपछि एथ्लेटिक्स अभ्यास गरेर बेलुका घर पुग्थेँ । ट्युसन पनि हुने बेला त घर पुग्दा झमक्कै रात पर्थ्यो । त्यही बेलादेखि नै पढ्ने भन्दा खेलकुदमा मन गयो । विद्यालयमा हुँदा राम्ररी नजाने पनि टिम पूरा गर्न सरले खेलाउनुहुन्थ्यो । जम्प राम्रो भएकाले ब्लकका लागि पनि राम्रो हुन्छ भन्नुहुन्थ्यो ।

मेरो बाबा आफैं राष्ट्रिय स्तरको भलिबल खेलाडी हुनुहुन्थ्यो । तर, मैले भलिबल खेल्छु भन्दा सुरुमा उहाँले समर्थन गर्नुभएको थिएन । मैले खेलेर के पाएँ ? तिमीले खेलेर के पाउँछौ भन्नहुन्थ्यो । दादाले भने धेरै नै सहयोग गर्नुभयो ।

उहाँकै सल्लाहमा पुलिस क्लबमा आएँ । बाबाले त नजाउ भन्नुभएको थियो तर, मैले पहिलेभन्दा अवस्था फेरियो भनेर सम्झाएकी थिएँ । त्योबेला बाबा कामका लागि विदेशमा हुनुहुन्थ्यो । अटेरी गरेरै खेलमा लागेँ । अहिले बाबाले पनि समर्थन गर्नुहुन्छ । परिवारमा मेरो काका, फुपूहरु पनि भलिबल खेलाडी नै हो ।

पुलिस टिममा कोपिला राना दिदीले बोलाउनुभएपछि मेरो भलिबल एउटा लयमा पुग्यो । नेपालको राम्रो विभागीय टिममा बस्न पाएकाले धेरै मेहनत पनि गरेँ । दुई वर्ष त घर पनि गइनँ । खेलमा ध्यान दिएँ । पुलिसमा आउनु अघि सुर्खेतका मंगल श्रेष्ठ गुरुले मलाई भलिबलमा राम्रो छ भनेर हौसला दिनुभएको थियो । उहाँले नै मध्यपश्चिमाञ्चल टिमको लागि बोलाएर खेल्ने अवसर मिलाइदिनु भएको थियो । त्यो बेला भर्खर १३ वर्षकी थिएँ । बुटवलमा महोत्सवका बेला भएको प्रतियोगितामा पनि मध्यपश्चिमबाट खेलेँ ।

त्यही बेला नै पुलिस क्लबकी कोपिला उप्रेती दिदीले मसँग कुरा गर्नुभएको थियो । पोखराको टप्स, काठमाडौंको न्यु डायमण्डबाट पनि बोलाउनुभएको थियो । विस्तारै रहर बढ्दै गयो ।

अब जे गर्छु पुलिस टिममा नै गर्छु भन्ने छ । यो दिन्छु, त्यो दिन्छु भनेर कति क्लबले बोलाएका पनि थिए तर, कतै जाने सोचिनँ । किनकि मैले यही टिमलाई च्याम्पियन बनाउनु छ भनेर सोचेकी छु । स्वार्थी भएर छाडेर जान सक्दिनँ । सबैले विश्वास गर्नुभएको छ । उहाँहरुको विश्वास तोड्न सक्दिनँ ।

****

अँ ! अघि म स्कुल छुट्टी भएपछि एथ्लेटिक्स खेल्ने कुरा गर्दै थिएँ । १२ वर्षकी हुँदा एथ्लेटिक्समा जुनियर एसियन गेम खेलेकी थिएँ । प्रतियोगिता कतारमा भएको थियो । १५ दिनको क्याम्पपछि प्रतियोगिता खेलेको भएर राम्रो अनुभव लिन पाएँ । एथ्लेटिक्स खेल्ने बेला जुनियर लेभलका खेलमा बिना तयारी पनि स्वर्ण पदक जितिरहेकी हुन्थेँ । मेरो स्पीड, जम्प राम्रो छ । फिल्ड र ट्र्याक दुवैमा सहभागी हुँदा जुनियर लेभलमा च्याम्पियन नै हुन्थेँ । सरहरु छक्क पर्नुहुन्थ्यो, आफ्नो ठाउँको नाम राखेकी छौ भनेर स्याबासी दिनुहुन्थ्यो ।

एथ्लेटिक्समा जाने भनेर सशस्त्र प्रहरीको एपीएफ क्लबले मेरो डकुमेन्टहरु लगेको पनि थियो । तर, भलिबल सुरु गरेपछि भने यतै लागेँ । एथ्लेटिक्स छुट्यो । एथ्लेटिक्स छाडेर भलिबलमा लागेकोमा पछुतो छैन तर, एथ्लेटिक्समा खेलिरहेकी भए अहिले एसियाली खेलकुद खेलिसकेकी हुन्थेँ जस्तो लाग्छ ।

एकपटक भलिबल खेलिरहेका बेला थाइल्याण्डमा हुने प्रतियोगिताका लागि एथ्लेटिक्सको जुनियर छनोट हुन लागेको रहेछ । एक्कासी सहभागी हुन जाँदा पनि दोस्रो भएँ । पहिलो हुन सकेको भए थाइल्याण्डमा खेल्न पाउँथेँ । जे होस्, अभ्यास नगरी सिधै जाँदा पनि दोस्रो हुनु धेरै राम्रो हो जस्तो लाग्यो ।

****

मैले बाबालाई त भलिबलको अहिले अवस्था फेरिएको छ भनेँ तर, खासमा धेरै फेरिएको छैन । अझै पनि सिनियर खेलाडीहरुको अवस्था हेर्दा साह्रै दुःखदायी नै छ । राष्ट्रिय टिमबाट देशका लागि खेलिरहेकाहरुको करिअर सुरक्षित छैन । उनीहरुले नै आफ्नो जीवन कसरी चलाउने भनेर सोच्नुपर्छ भने अरुको हालत त के होला ? मासिक रुपमा डाइट खान पनि पैसा पुग्दैन ।

दर्शकको माया भने असाध्यै छ । केही दिनअघि न्यू डायमण्ड कपमा एपीएफविरुद्ध कोर्टमा जाँदा दर्शकले हुटिङ गरेर हौसला दिनुभयो । मलाई बिर्सनुभयो होला जस्तो लागेको थियो तर, विर्सनु भएको रहेनछ । खुसी लाग्यो ।

खेल … खेल… र खेल । खेलबाहेक अरु कही सोचेकी छैन । यसमा नै लागिरहने छु र केही गर्छु भन्ने आत्मविश्वास राखेकी छु । किनकि मलाई जसरी पनि खेल्नु छ ।

हुन त, खेल्नु छ भन्ने हिम्मतले मात्र पनि भएन । केही त सोच्नुपर्ने बाध्यता पनि हुन्छ । नेपालमा खेलाडीका लागि धेरै मान्यता पो के छ र ? अब पनि त्यस्तै हो …

प्रस्तुति: ऋग्वेद शर्मा/अनलाईन खबरबाट साभार गरिएको हो

Facebook Comments

फेसबुक