२०८० असोज, ६
||NEWS LUMBINI |

पोखरीमा डुबेर एकै गाउँका चार बालिकाको मृत्यु

भैरहवा – मुलुकभर मुस्लिम समुदायले धुमधामका साथ रमजान मनाइरहेको बेला रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मुस्लिम बाहुल्य गद्दीडिहवा गाउँ शोकमा डुबेको छ। गाउँनजिकै रहेको नौखनिया पोखरीमा एकै साथ चार जना बालिकाको डुबेर मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको हो।

रमजान पर्वमा सिंगो गाउँमाथि वज्रपात गरेको गाउँलेले बताएका छन्। एकै परिवारसरह बस्ने गाउँका बासिन्दा रमजान महिनामै शोकमा डुब्नुपरेको हो। बालिकाको मृत्यु हुँदा उनीहरूका साथी, सहपाठी पनि शोकमा छन्। पौडी खेल्न गएकी एक बालिका डुब्दा उनलाई जोगाउन पोखरीमा पसेका अन्य तीन बालिकाको पनि डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावल क्षेत्रीले जानकारी दिए।

‘एक जना बालिका पोखरीमा डुबेपछि एकले अर्कालाई जोगाउन पोखरीमा पस्दा चारै जना बालिकाको मृत्यु भएको हो’, उनले भने। मृत्यु हुनेमा १४ वर्षीया साहबिया खातुन, १० वर्षीया साहिना खातुन, १० वर्षीया मोमिना खातुन र ९ वर्षीया आविदा खातुन छन्। मोमिना र आविदा एकै परिवारका दाजुभाइका छोरी र साहबिया एवं साहिना छुट्टाछुट्टै परिवारका हुन्।

मृतक साहबिया स्थानीय आशिया कुल्लिया लिलवनात मदरासाको कक्षा ९ मा अध्ययनरत थिइन्। साहिना, मोमिना र आविदा भने स्थानीय मदरसा इस्लिामिया नुरुलहोदा मसिनाको कक्षामा २ मा अध्ययनरत थिए। मृतक तीन जना स्थानीय हुन् भने साहिना हजुरबुबाको घरमा बस्दै आएकी थिइन्।

पौडी खेल्न गएकी एक बालिका डुब्दा उनलाई जोगाउन पोखरीमा पसेका अन्य तीन बालिकाको पनि डुबेर मृत्यु भएको हो।

मृतक चारै जनाको घरमा रुवाबासी छ। मृतकका आमाहरू सोमबार दिनभर भक्कानिएको स्थानीयले बताए। ‘घरमा सबैभन्दा सानी फूलजस्तै थिई। एउटै छोरी थिई मेरी। निकै माया गर्थी सबैलाई’, मृतक मोमिनाकी आमा नुरजहाँ खातुनले भक्कानिँदै भनिन्, ‘तर आज दैवले हामीबाट एक्ली प्यारी छोरी पनि चुँडेर लग्यो।’

गाउँले सबैले चारै जना बालिकालाई आफ्नै छोरीसरह माया गर्ने स्थानीय अब्दुल करिमले बताए। ‘रमजान जस्तो पवित्र महिनामा कहिल्यै बिर्सिन नसकिने दुःखद घटना भएको छ’, उनले भने, ‘गाउँबाहिर रहेको अर्टिजन बोरिङमा गाउँका अधिकांश मानिस नुहाउन जान्थे। बालिका पनि त्यहीँ गएका थिए। तर आज मृत्यु लेखेका कारण उनीहरू पोखरीमा पुगे।’

मृतक बालिकाको भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टमपश्चात् डुबेको पोखरीनजिकै कब्रस्थानमा मुस्लिम सामुदायको संस्कारअनुसार अन्त्येष्टि गरिएको छ।

-अन्नपूर्णपोष्ट

Facebook Comments Box

फेसबुक