काठमाडौं, मंसिर २-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु–१० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको छ ।
गोरखा जिल्लाको पालुङ्गटारको चुनावी सभालाई सम्बोधन गरी लम्जुङको वेशीशहरमा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्न जाने क्रममा करीब ३ः१५ बजे नेता रामचन्द्र पौडेलको सवारी साधनमाथि बम प्रहार भएको थियो ।
बम प्रहार पछि पौडेल सवार गाडीमा सामान्य क्षति भएको छ भने एकजना सुरक्षाकर्मी घाईते भएका छन्। त्यस्तै नेता पौडेल भने सुरक्षित रहेको छन् ।
कांग्रेसले घटनाको विरोध गर्दै पौडेलको हत्या गर्ने मनसायले उक्त घटना भएको बताएको छ ।
घटना पछि कांग्रेसले जनलहरबाट आत्तिएका समूहद्धारा नेपाली कांग्रेसका नेताहरु माथि सुनियोजित ढंगबाट आक्रमण भैरहेको भन्दै कांग्रेसले आज एक विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, नेपाली कांग्रेसलाई अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन् ।’
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नै हत्या गर्ने मनसायले गरिएको पार्टीले आरोप लगाएको छ । ‘यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ ।’
कांग्रेसले यस प्रकारका आपराधिक घटनाहरु पुनः नदोहो¥याउन चेतावनी दिएको छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।